रेडक्रसमा नियतको नियुक्तिदेखि नक्कली बिल भुक्तानीसम्म
वि.सं.२०८३ असोज १६ शुक्रवार
shares
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा नियुक्तिदेखि बिल भुक्तानीसम्म अनियमितता भएको छ । रक्तसञ्चार केन्द्र (ब्लड बैंक) मा कार्यरत कर्मचारी सञ्जीव यादवको नियुक्ति, जिम्मेवारी र बिल भुक्तानीलाई लिएर रेडक्रसकै कर्मचारीहरूले प्रश्न उठाएका छन्।
यादव ब्लड बैंकको प्रयोगशालामा सातौँ तहमा कार्यरत कर्मचारी हुन्। उनी सुरुमा करारमा नियुक्त भएको र पछि म्याद थप हुँदै स्थायी प्रकृतिको नियुक्तिसमेत दिइएको हो । उनको नियुक्ति प्रक्रियामाथि प्रश्न उठेको छ ।
यादव नियमित कार्यालयमा उपस्थित नहुने गरेको गुनासो पनि छ। उनी बिहान कलेजमा अध्यापन गर्ने र त्यसपछि १२ बजेतिर कार्यालय आउने गरेको तथा दिउँसो ३ देखि साढे ३ बजेको आसपास पुनः कलेज जाने गर्दछन ।
ब्लड बैंकमा उनको आवश्यकता पर्ने समयमा समेत यादव कार्यालयमा भेटिन कठिन हुने गरेको छ । ‘काम परेको बेला यादव कहाँ हुन्छन् भन्ने थाहा हुँदैन,’ एक कर्मचारीले भने, ‘तर संस्थाको नेतृत्वले यस विषयमा गम्भीर चासो दिएको देखिँदैन।’
यादवमाथि ब्लड बैंकमा प्रयोग हुने सामग्री खरिदको बिलसमेत शंकास्पद रूपमा पेस गरी भुक्तानी लिएको आरोप छ। रक्तसञ्चार केन्द्रमा प्रयोग हुने ट्युब सर्जिकल सामग्री बिक्री गर्ने पसलबाट खरिद गर्नुपर्ने भए पनि यादवले भृकुटीमण्डपस्थित स्टेसनरी पसलबाट खरिद गरेको बिल पेस गरेको भेटिएको छ ।
उक्त बिल यादवले पेस गरेको र डा. प्रकाश यादवले प्रमाणित गरी भुक्तानीका लागि स्वीकृत गरेको बताइएको छ। ब्लड बैंकमा प्रयोग हुने सामग्रीको खरिदमा सम्बन्धित प्रकृतिको व्यवसायबाट बिल लिनुपर्नेमा स्टेसनरी पसलको बिल प्रयोग गरिएको हो भने त्यसको वैधता र सामग्री वास्तवमै खरिद तथा प्रयोग भएको थियो कि थिएन भन्ने विषय छानबिनको विषय बन्ने देखिन्छ।
संस्थाभित्र यस्ता बिल तथा भुक्तानीका विषयमा थप प्रश्न उठिरहेका छन्। तर सम्बन्धित निकायले अहिलेसम्म यस्ता विषयमा प्रभावकारी छानबिन नगरेको कर्मचारीहरूको गुनासो छ।
कर्मचारीहरू, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष विशाल भण्डारी र महासचिव ऋषिको नेतृत्वमाथि समेत प्रश्न उठिरहेको छ । रेडक्रस नेतृत्वले कर्मचारीको कार्यसम्पादन, कार्यालय उपस्थितिलगायत विषयमा कडाइ नगरेको र विवादमा परेका कर्मचारीलाई संरक्षण गरेको आरोप पनि उत्तिकै छ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:
निःशुल्क एप छँदाछँदै ८ लाखको सम्झौता : रेडक्रसको खरिददेखि रक्तसञ्चारसम्म नेतृत्वमाथि गम्भीर प्रश्न






























