सिहदरवार भित्रको बरन्डामा रहेको ‘फाइभ स्टार’ होटल बन्द गरियोस् : खगेन्द्र सुनार
वि.सं.२०८३ असोज ५ सोमवार
shares
काठमाडौं । रास्वपाका सांसद खगेन्द्र सुनारले संसद् भवन बाहिर राखिएको क्यान्टिन महँगो भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै कालो चियाको १०० रुपैयाँ लिइरहेको बताए।
उनले भने, ‘केही दिन अगाडि चिया खान जाऊँ भनेको एउटा अडियो संसद्मा भाइरल भएर आयो। तर चिया खान कहाँ जाने ? यो बाहिर बरन्डामा राखेको फाइभ स्टार होटल कसको हो? कसले लिएर आएको हो यो होटल? कालो चियाको १०० रुपैयाँ, दूध हालेको चियाको २०० रुपैयाँ, मःमको ३००, चाउमिनको ४००, पाउरोटीको ५०० रुपैयाँ तिरेर त्यो खान सक्ने हैसियतमा अहिलेका सांसदहरू छन् कि छैनन् ?’
संसद् सचिवालयभित्र काम गरिरहेका कर्मचारी, मर्यादापालकहरूले त्यहाँ गएर पानीसमेत पनि खान पाउने अवस्था नभएको बताए। उनले तत्काल फाइभ स्टार होटल संसद्को बरण्डाबाट हटाउनुपर्ने बताए।
उनले थपे, ‘सिंहदरबारभित्र यति धेरै क्यान्टिनहरू चलाउन पाइँदैन। सुन्धारामा भन्दा धेरै होटेलहरू भए यहाँभित्र। त्यसैले तत्काल यो कुरालाई नियन्त्रण गर्नुपर्छ। नेपालगन्जमा, वीरगन्जमा, दैलेखको बजारमा चिया जति पर्छ, त्यो चिया पनि यहाँ त्यतिमै बिक्री हुनुपर्छ। मनपरी पैसा असुल्न पाइँदैन। तत्काल यो फाइभ स्टार होटल बन्द गरिनुपर्छ।’






























