कर्णालीका पाँच जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
वि.सं.२०८३ असोज ११ आइतवार
shares
सुर्खेत । लगातारको वर्षाका कारण कर्णाली प्रदेशका पाँच जिल्लामा आज स–साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख र सुर्खेत भएर बहने स–साना नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना छ । ती जिल्लामा आज आकस्मिक बाढी (फ्ल्यास फ्लड)को मध्यम जोखिम रहेको विभागले जनाएको हो ।
नदी तथा खोलाको बहाव बढ्ने
लगातार वर्षा भइरहेका कारण पहाडी क्षेत्रमा स–साना नदी, खोला तथा खोल्सामा पानीको बहाव अचानक बढ्न सक्ने विभागले जनाएको छ । छोटो समयमा हुने भारी वर्षाले खोलानालामा आकस्मिक बाढी आउन सक्ने भएकाले नदी तथा खोलाको आसपासका बस्ती र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउनुपर्ने देखिएको छ ।
कर्णालीमा पछिल्ला दिनदेखि वर्षा भइरहेको छ । वर्षाका कारण प्रदेशका विभिन्न जिल्लामा सडक तथा राजमार्गमा पहिरो खस्ने, लेदो बग्ने र यातायात प्रभावित हुने क्रमसमेत देखिएको छ । यस्तो अवस्थामा नदी तथा खोलाको बहाव बढ्दा सडक, पुल, बस्ती तथा अन्य पूर्वाधारमा थप जोखिम हुनसक्ने जनाइएको छ। कर्णालीम हाल छ जिल्लाका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् ।
देशका अन्य क्षेत्रमा उच्च जोखिम
विभागले रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा र गुल्मी तथा आसपासका जिल्लामा बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने जनाएको छ ।
ती जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको विभागको पूर्वानुमान छ । वर्षा भइरहेका क्षेत्रमा नदी तथा खोलाको बहाव बढ्न सक्ने भएकाले तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ ।






























