बजारमा घरेलु मदिरा र जुवातास खेल्न–खेलाउनेको बिगबिगी, गृहमन्त्रीलाई छैन मतलब !
वि.सं.२०८३ असोज १४ बुधवार
shares
Photo By: AI
घरेलु मदिरा उत्पादन र बेचबिखन कानूनी रुपमा पूर्ण रुपमा प्रतिबन्ध छ । तर, बजारमा घलु मदिरा उत्पादन र बेचबिखन खुलेआम भइरहेको छ । स्वास्थ्यलाई गम्भीर असर पुर्याउने केमिकल वा वस्तु मिलाएर ती मदिरा उत्पादन गर्ने गरिएको छ । घरलु मदिरा पशुको हड्डी, पुराना जुत्ता–मोजा, कुहिएका चामल, युरिया मललगायत मिसाएर उत्पादन गर्ने गरिन्छ ।
यद्यपि, व्यापारीहरु चामल र कोदोको रक्सी भन्दै सर्वसाधारणलाई बेच्छन् । यस्ता मदिराको सेवनबाट मानवीय शरीरका संवेदनशील अंगहरुका गम्भीर हानि पुर्याउँछ । कलेजो, फोक्सो, किड्नी, मुटुसम्म ड्यामेज (फेल) हुने गर्छ । व्यापारीहरुले आफ्नो स्वार्थका निम्ति सर्वसाधारणको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेका छन् । दुर्भाग्य, सरकारलाई भने केही मतलब छैन । घरेलु मदिरा नियन्त्रणमा राज्य उदासीन छ ।
न त घरेलु मदिरा कहाँ, कसरी उत्पादन हुन्छ भनेर खोजतलास नै गरिन्छ न त त्यस्ता मदिरा नष्ट गरेर उत्पादन र बेचबिखनमा संलग्नलाई कारबाही गरिन्छ । नेपालीजनको महान् चाड बडा दशैं नजिकिएको छ । दशैंमा मदिराको अत्यधिक खपत हुने गर्दछ । दशैं नजिकिएसँगै बजारमा घरेलु मदिरा बेचबिखन हुने पसलहरुमा भीडभाड बढ्न थालेको छ । बिहानैदेखि रातिसम्म मानिसहरुको लाम रहन्छ ।
त्यसतर्फ राज्यका निकायहरुको भने आँखा जाँदैन । केही दिनयता प्रहरीले घरेलु मदिरा नष्ट पनि गर्न थालेको छ । प्रहरी आफैं स्वीकार्छ कि घरेलु मदिराले स्वास्थ्यमा प्रतिकूल असर पार्छ । तर, घरेलु मदिरा चाडबाडमा मात्र सेवन हुँदैन, वर्षौभरि हुन्छ । अनि चाडपर्वमा मात्र नियन्त्रण गरेर हुन्छ ? कि त वर्षौभरि अनुगमन गरेर कारबाही गर्नुपर्यो, होइन भने नौटंकी बन्द गर्नुपर्यो । केही वर्षयता हरेकजसो क्षेत्र मन्दीमा छ ।
विशेषगरी घरजग्गा, गाडी, सेयरमा लगानी गरेका र सहकारीमा निक्षेप जम्मा गरेकाहरु चुर्लम्मै भएका छन् । उनीहरु निकै तनावमा छन् । परिवार लथालिंग बनेको छ । अनि पीडा भुलाउन उनीहरु मदिराको साहारा लिन्छन् । भट्टी पसलहरु बिहान ३ बजेदेखि राति ११ बजेसम्म खुल्छन् । अनि मानिसहरु घर नै नगई भट्टी पसलमा दिनरात मदिरा सेवन गरेर बस्छन् । र, बाँकी सम्पत्तिसमेत सिध्याउँछन् ।
मदिरा सेवन गरेर आपराधिक घटना घटाउने क्रम पनि बढ्दो छ । तनावमा मदिरा सेवन गरिन्छ अनि होश गुमाएर श्रीमती, बालबच्चा वा कसैको हत्या गर्ने वा आफैं आत्महत्या गर्नेहरु बढिरहेका छन् । पुरुषमात्र होइन, आजकल महिलाहरुले पनि त्यतिकै मदिरा सेवन गर्छन् । मदिरा सेवन गरेर सडकमै सुतिरहेको अवस्थामा थुप्रै युवा–युवती, महिला–पुरुषहरु भेटिन्छन् । उनीहरुलाई जाँडरक्सी केबाट बनाइएको हुन्छ ? मतलब हुँदैन, खान पाए पुग्छ । अनि व्यापारीहरुले आफ्नो स्वार्थका निम्ति अनेकौं केमिकल वा वस्तु मिसाएर बनाएको मदिरा सेवनबाट उनीहरु दीर्घकालीन रोगको सिकार हुन पुग्छन् ।
घरव्यवहार, व्यापार–व्यवसाय बिग्रिएको अवस्थामा झनै ठूलो संकट आइलाग्छ । कलेजो, फोक्सो, किड्नी काम नलाग्ने अवस्थामा पुग्छ अनि उपचार गर्न गोजी रित्तो हुन्छ । अन्तिममा कुनै विकल्प नभएपछि उपचारका निम्ति गुहार माग्दै सडकमा आइपुग्छन् । बाटोमा यस्ता व्यक्ति पाइलैपिच्छे भेटिन्छन्–जो मिर्गौला फेल भएर उपचार खर्च जुटाउन माग्दै हिँडिरहेका हुन्छन् ।
मदिराका कारण लाखौंको जीवन तहसनहस हुन पुगेको छ । एउटा पीडा मेटाउन खाएको रक्सीले सयौं पीडा थपिदिन्छ । तर, त्यो कुरा थाहा पाउनुञ्जेल निकै ढिलो भइसक्छ । शरीर, परिवारले साथ छोडिसकेको हुन्छ, धनसम्पत्ति पनि केही बाँकी हुँदैन । अन्तिममा तड्पिएर मर्नुबाहेक विकल्प नै रहँदैन । राज्य नागरिकको अभिभावक हो । नागरिकलाई सही बाटो देखाउनु, उनीहरुको जीवन र धनसम्पत्तिको सुरक्षा गर्नु राज्यको कर्तव्य र दायित्व हो ।
विडम्बना, सरकार आफ्नो धर्म निर्वाहमा चुक्दा सीमित व्यापारीहरुको लाभका निम्ति वर्षेनी हजारौं सर्वसाधारणले अनाहकमा ज्यान गुमाइरहेका छन् । आफ्नो धनसम्पत्ति गुमाएका छन् । यसतर्फ सरकारको ध्यान कहिले जाने ? कि जनता सबै मरेपछि मात्र राज्यको आँखा खुल्छ ? सरकारले अब कि त घरेलु मदिरा उत्पादन र बेचबिखनमा संलग्नलाई कडा कारबाही गर्नुपर्छ, होइन भने जनतालाई आफ्नो सुरक्षा आफैं गर भन्नुपर्छ ।
नागरिकको सुरक्षा गर्न नसक्ने राज्य के काम ! कानूनले सार्वजनिक स्थल, सरकारी कार्यालय वा विद्यालय आसपास सूर्तीजन्य पदार्थ तथा मदिरा बेचबिखनमा पनि पूर्ण रुपमा रोक लगाएको छ । तर, बजारमा अनुगमन हेर्ने हो भने अधिकांश भट्टी पसल र सूर्तीजन्य पदार्थको बेचबिखन विद्यालय, मठमन्दिर, सरकारी कार्यालय र सार्वजनिक स्थल वरपर नै भइरहेको पाइन्छ । विद्यालय छेउमै मदिरा वा सूर्तीजन्य पदार्थ बेचबिखन हुँदा विद्यार्थी, बालबालिकाहरु कुलतमा फसिरहेका छन् ।
यता, सरकारी कर्मचारीहरु त ड्युटी समयमै चुरोट, खैनी, पराग खाइरहेको भेटिन्छन् । कतिपय कर्मचारीलाई कार्यालय आउँदा राति खाएकै मदिराले छोडेको हुँदैन । अनि राष्ट्रसेवक कर्मचारीहरु नै यस्तो भएपछि सर्वसाधारणको अवस्था त कस्तो होला ? चाडबाड नजिकिएसँगै जुवातास, लंगुरगुजा खेल्न–खेलाउने क्रम बढेको छ । प्रहरी चौकीनजिकै यस्ता गतिविधि भइरहँदासमेत कारबाही भएको पाइँदैन । भक्तपुरको सल्लाघारी तीनकुने यातायात कार्यालयअगाडिको पिपलबोटमा असोज १ गतेदेखि जुवातास, लंगुरगुजा खेल्न खेलाउन थालिएको छ । सो ठाउँभन्दा दुई मिनेटको दुरीमा प्रहरी चौकी छ ।
यद्यपि, कारबाही भएको पाइँदैन, यसले प्रहरीकै मिलेमतोमा यस्ता गतिविधि भइरहेकोमा शंका छैन । एकछिनको रमाइलोका लागि मानिसहरु जुवातास, लंगुरगुजा खेल्छन् अनि लाखौं रकम हारेपछि परिवारमा तनाव उत्पन्न हुन्छ । चाडबाड मनाउने पैसा जुवा खेल्न सकिएपछि परिवारमा झैझगडा हुन्छ अनि काटमारसम्मको अवस्था निम्तिन्छ । घटना घटेपछि अनुसन्धान र कारबाही गर्नुभन्दा पनि घटना घट्नै नदिनु राज्यको जिम्मेवारी हो ।
दुर्भाग्य, राज्यका निकायहरु लोभलालचमा बिक्दा चाडबाडमा कसैको परिवार शोकमा डुब्छन् त कोहीको तनावमा । सरकार कानून बनाउँछ तर कार्यान्वयन गर्नतर्फ अग्रसर हुँदैन । गृहमन्त्री सुधन गुरुङ रातिसमेत नसुतेर काम गरेको दाबी गर्छन् । बजारको अवस्था यस्तो दयनीय छ अनि उनी के काम गरिरहेका छन् ?
आफ्नो स्वार्थका निम्ति सर्वसाधारणको ज्यानमाथि खेलबाड गर्ने व्यापारीहरुमाथि कडा कारबाही होस् । जुवातास खेल्न खेलाउने र कारबाही नगर्ने प्रहरीमाथि पनि कारबाही हुनुपर्छ । यो काम गृहमन्त्रीको हो यदि उनले आफ्नो जिम्मेवारी निर्वाह गर्न नसक्ने हो भने मार्ग प्रशस्त गर्नुपर्यो ।





























