कविता : आवाज

153
shares

 

 

 

“कस्तो लाजनीति ?”

समय परिवर्तनशील छ भन्थे,

हो रहेछ

बजारमा स्वार्थ पनि अचेल कस्तो सभ्य भएछ

आँखा नचाउँदै हेर्दै थियो, पासाको मोहरा खोज्दै थियो

शब्दको जालो फाल्दै थियो, बोलीमा मिठास छर्दै थियो

आश्वासन गजबको बाड्दै थियो,

अनेक परपञ्च रच्दै थियो

अनुहार हेरेर पदको बेजोडको सुनवाइ भएछ ।

 

 

विवेक नभएको, चेतना हराएको

पुर्खौली विरासत धानेको छ,

कसैले मानून नमानून् थाहा छैन

आफूले आफैंलाई सर्वेसर्वा ठानेको छ

यति विघ्न दौडधूप कसका लागि ?

अनि फेरि सोच्छुँ, “भावी पुस्ताका लागि ।“

आसेपासेको मान राखेको छ

पुस्तेनी रवाफ धानेको छ ।

 

 

हैसियत कस्को अघि, कस्को पछि हो थाहा छैन ?

को पुरानो हो, को नयाँ हो थाहा छैन ?

ऊर्जावान अनुहार पछाडि

जोस जाँगर अनि हुट्हुटी भएको पछाडि

नीति र योजना बोकेको पछाडि

लक्ष्य उद्देश्य पछाडि

तर चाप्लुसी, बिना भिजनको अगाडि ।

 

अचम्मको परिवेश अचम्मको छ नारा

समर्थन गरिदिनुपर्ने, छायाँ जसरी पछ्याइदिनुपर्ने

सम्मानको पात्र बनाइदिनुपर्ने

खान्दानी ट्याग झुन्डाइदिनुपर्ने

आफ्नो अस्तित्व मेटाएर बलीको बकरा भइदिनुपर्ने

पुरानै नाम बारम्बार दोहोर्याइदिनुपर्ने

जी हजुरीको च्यादर ओढिदिनुपर्ने

वाह ! मेरो समाज क्या गजबको रहेछ ।

 

यो खेल हो प्रतिस्पर्धामा हारजित हुन्छ

जितको ताली उनैमा जान्छ, श्रेय उनैले पाउँछन्

तर यदि हार बेहोर्नु पर्यो भने, शब्दका गोटी यिनैले चाल्छन्

कस्तो प्रश्न आउँछ ? थाहा छ

कार्वाही गरिनुपर्छ,, लज्जास्पद पराजय भो, तिनहरू पियोर होइनन् रे !

सधैँ खुड्किला बनिदिनुपर्ने, समर्थनको ताली बजाइदिनुपर्ने,

वाह !

मेरो समाज क्या गजबको रहेछ  !

 

कसैको भावनामा ठेस पुगे पनि

स्याबासी दिइरहनुपर्ने

रोइलो चल्छ बेजोडको, पद पाएकालाई

कारण थाहा छ

तर बुझ्न चाहदैनन्

किनकि फेरि पनि विरासत कायम राख्नु छ

पटक- पटक नाम दोहोर्याउँनु छ

भागबन्डाको बिलो लगाउँनु छ

आफ्नै पोल्टामा पार्नुछ।

लज्जास्पदको हार बेहोर्दा पनि चेत खुल्दैन

अनि अवसरवादीको ट्याग लगाउँछन्, यिनै

धैर्य भएन, स्थिर छैन

अहो ! तिम्रो लाजनीति बडो गजबको रहेछ ।

 

भित्र कहानी फरक छ, तर देखाउँछन् सरल

हो, त्यसैले म भन्छु, “पहुँच नहुनेको कुनै मूल्य छैन ?”

अस्तित्व पैतालाको धुलोसरि ठान्ने प्रवृत्ति कस्तो ?

शरीर जीर्ण छ,थाकेको छ,चमक छैन ।

सदा पदको लालसा हुँनेले औँला नचाएको देख्दा

सङ्केत गरी- गरी नाम तोकी- तोकी चर्को स्वर गरेको सुन्दा, हाँसो उठ्छ ।

भाग तानेर खान पल्किएकाहरू

गोडा डग्मग्याउँदा थाहा होला

कस्तो विचित्रको लाजनीति गरिएछ ।

हो, त्यसैले म भन्छु, “अरूलाई समान भावले हेर्दा, तिम्रो उचाइ नाप्नु पर्दैन ।“

नेतृत्व सबल अनि सम्मानको लायक हुँने थियौ,  नेता हुँने थियौ ।

तर अफसोच

अदूरदर्शी सोचले तिमी सदा सदाका लागि सानो भयौ,

“तुच्छ भयौ केवल तुच्छ !”

 

 

 

 

 

 

 

 

 

 

 

 

 

civil hospital
Hams Hospitals