शुक्रबार देशभर वर्षाको जोखिम
वि.सं.२०८३ असोज २२ बिहीवार
shares
काठमाडौं । देशभरको मौसम शुक्रबार थप प्रभावित हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
मौसमविद् रोजन लामिछानेका अनुसार बिहीबारको तुलनामा शुक्रबार वर्षाको गतिविधि बढ्नेछ। विशेषगरी कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै विभागले शुक्रबार कोशी र बागमती प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिमका केही स्थानमा ‘पहेँलो रङ’को चेतावनी जारी गरेको छ। विभागले मौसमको अवस्था निरन्तर निगरानी गर्न र आवश्यक पूर्वतयारी अपनाउन आग्रह गरेको छ।
पछिल्लो २४ घण्टामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा उल्लेख्य वर्षा भएको छ। डडेल्धुरा र कैलाली आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टामा मध्यमदेखि भारी वर्षा मापन गरिएको विभागले जनाएको छ।
बिहीबार बिहान इलाम, झापा, सर्लाही, महोत्तरी र धनुषालगायतका क्षेत्रमा हल्का वर्षा भइरहेको थियो भने अन्य अधिकांश भूभागको मौसम सामान्य रहेको विभागले जनाएको छ।
बिहीबार दिउँसो पहाडी भूभागका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको थियो। कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा तथा मधेस र कोशी प्रदेशका तराई भूभागमा समेत वर्षा हुन सक्ने विभागको अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने बताइएको छ।
शनिबारदेखि मौसम क्रमिक रूपमा खुल्ने
विभागका अनुसार शुक्रबार रातिदेखि पश्चिमी क्षेत्रबाट मौसम क्रमिक रूपमा सुधार हुँदै जानेछ। शनिबार वर्षाको गतिविधि उल्लेख्य रूपमा घट्ने अनुमान गरिएको छ।
शनिबार दिउँसो कोशी र बागमतीका पहाडी भूभागसहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मात्रै हल्का वर्षा हुन सक्नेछ। तराई क्षेत्रमा भने वर्षाको सम्भावना निकै न्यून रहने विभागले जनाएको छ।
शनिबार रातिदेखि देशभरको मौसम थप सुधार हुने र वर्षाको सम्भावना अत्यन्त कम हुने अनुमान गरिएको छ। यद्यपि कोशी र बागमती प्रदेशका उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।
शनिबारका लागि भने देशभर कुनै मौसम चेतावनी जारी गरिएको छैन। विभागले सबै प्रदेशलाई ‘हरियो रङ’ अर्थात् सामान्य अवस्थाको संकेतमा राखेको छ।
शुक्रबार वर्षाको जोखिम बढ्ने भएकाले यात्रा तथा बाहिरी गतिविधि गर्दा मौसमको पछिल्लो सूचना हेर्न र सम्भावित जोखिमबाट जोगिन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।































