सुदूर अब दूर नाइ’ नारामै सीमित ! दशैंमा धनगढीको हवाई टिकट २२ हजार ९ सय, नागरिकलाई घर फर्किनै सकस

145
shares
Nabil bank

 

अमिदा सिहं डंगोल

काठमाडौं । ‘सुदूर अब दूर नाइ’ भन्दै चुनावी अभियानमा सुदूरपश्चिमको प्रशंसा गरेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नारामाथि दशैंको मुखमा गम्भीर प्रश्न उठेको छ। राजधानीबाट सुदूरपश्चिम घर फर्किने नागरिक महँगो हवाई भाडा र अनिश्चित सडक यात्राको दोहोरो मारमा परिरहेका बेला चुनावी नारामा भनिएजस्तै सुदूरपश्चिम साँच्चै नजिकिएको छ त ? कि नागरिकका लागि अझै टाढै छ ?

गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता रहेका बालेनले ‘सुदूर अब दूर नाइ’ भन्दै सामाजिक सञ्जालमा लेखेका थिए। चुनावी सभाहरूमा सुदूरपश्चिमदेखि जनकपुरसम्मका क्षेत्रको खुलेर प्रशंसा गरेका उनले मतदाता आकर्षित गर्न स्थानीय भावना र भूगोललाई प्राथमिकतामा राखेका थिए। तर, अहिले दशैंमा घर फर्किने नागरिकको अवस्था हेर्दा चुनावी अभिव्यक्ति र जनताले भोगिरहेको यथार्थबीच ठूलो खाडल देखिएको छ।

दशैं नजिकिएसँगै काठमाडौंमा रहेका नागरिक घर फर्किने तयारीमा छन्। सडकमार्गको लामो दूरी, बिग्रिएको सडक र यात्राको अनिश्चितताले हवाई यात्रातर्फ आकर्षित भएका यात्रु भने चर्को भाडा सुनेपछि निराश बन्न थालेका छन्। विशेषगरी काठमाडौं–धनगढी हवाई यात्राको महँगो भाडाले सुदूरपश्चिम जाने सर्वसाधारणलाई आर्थिक संकटमा पारेको छ।

धनगढीसम्मै २२ हजार ९ सय, घर पुग्न कति लाग्ने ?

बाजुरा जाने तयारीमा रहेका हिमाल विष्टका लागि अहिले घर फर्किने यात्रा सहज छैन। काठमाडौं–बाजुरा बस भाडा करिब ५ हजार ६ सय रुपैयाँ पर्ने भए पनि सडकको अवस्थाले निर्धारित समयमा गन्तव्यमा पुग्न सकिनेमा उनी ढुक्क छैनन्।‘बाजुराका लागि काठमाडौंँबाट बस भाडा ५ हजार ६ सय रहेछ। तर बाटो बिग्रियो भने दुई दिनमै पुगिन्छ भन्ने छैन। ड्राइभरले पनि दुई दिनमा पुग्नैपर्छ भन्ने ग्यारेन्टी गर्न सक्दैन। मलाई भने दुई दिनमै घर पुग्नुपर्ने छ,’ विष्टले भने।

बाजुरा सदरमुकाम मार्तडी पुगेपछि पनि आफ्नो घरसम्म पुग्न थप दुई दिन पैदल हिँड्नुपर्ने बाध्यता रहेको उनले बताए। त्यसैले समय बचाउन धनगढीसम्म हवाई यात्रा गर्ने विकल्प खोजेका विष्ट टिकटको मूल्य सुनेपछि झनै अन्योलमा परेका छन्।

‘प्लेनको टिकट धनगढीसम्म २२ हजार ९ सय रहेछ, अति महँगो भयो। जाने कसरी भन्ने दोधारमा छु। घरसम्मै २२ हजारमा पुग्ने भए त ठीक थियो, त्यो भाडा धनगढीसम्मको मात्रै हो,’ उनले भने।उनको समस्या एउटा व्यक्तिको मात्रै होइन। लामो दूरीको सडक यात्रा छल्न चाहने तर महँगो हवाई भाडा तिर्न नसक्ने नागरिकका लागि दशैंमा घर फर्किनु नै आर्थिक चुनौती बनेको छ।

बुवाको स्वास्थ्यभन्दा टिकटको मूल्य भारी ?

प्रदीप कार्कीका लागि भने घर फर्किने यात्रा रोजाइको विषय होइन, बाध्यता हो। घरमा बुवा बिरामी रहेकाले जतिसक्दो छिटो पुग्नुपर्ने अवस्था छ। तर हवाई टिकटको महँगो मूल्यले उनको यात्रालाई कठिन बनाएको छ।‘बाध्यताले भए पनि जानै पर्नेछ। घरमा बुवा बिरामी हुनुहुन्छ, मलाई छिटो पुग्नु थियो। प्लेन टिकट साह्रै महँगो रहेछ,’ उनले भने।

घरमा बिरामी आफन्त हुँदा समयको मूल्य पैसाभन्दा ठूलो हुन्छ। तर, तत्काल घर पुग्नुपर्ने यात्रुले पनि महँगो टिकटको भार बेहोर्नुपर्ने अवस्था आउनुले हवाई यातायात सर्वसाधारणको सहज पहुँचमा छ कि छैन भन्ने प्रश्न उठाएको छ।

अर्की यात्रु गरिमा शाहाले पनि घरबाट छिटो आउन दबाब आएपछि हवाई टिकट काट्ने तयारी गरेकी थिइन्। तर, भाडा महँगो भएपछि उनले टिकट नै रद्द गर्नुपरेको सुनाइन्।‘घरबाट छिटो आउनु भन्नुभएको छ। प्लेनको टिकट काटेर छिटो आउँछु भनेकी थिएँ। तर भाडा महँगो भएपछि प्लेनको टिकट नै रद्द गर्नुपर्‍यो,’ उनले भनिन्।

यी अनुभवले दशैंको मुखमा नागरिकले भोगिरहेको यातायात समस्यालाई स्पष्ट पार्छन्। एकातिर सडक यात्रामा समयको ठेगान छैन, अर्कोतिर हवाई यात्राका लागि चर्को रकम खर्च गर्नुपर्ने बाध्यता छ। यस्तो अवस्थामा आर्थिक रूपमा कमजोर नागरिकका लागि घर फर्किने खुसीसमेत खर्चको चिन्ताले ओझेलमा परेको छ।

 

चुनावी अभियानका क्रममा सुदूरपश्चिम पुगेर ‘सुदूर अब दूर नाइ, झिकै झिकै माया तम्लाई’ लेखेका बालेनको अभिव्यक्ति अहिले फेरि चर्चामा आएको छ। तर सुदूरपश्चिमका नागरिकले अहिले भोगिरहेको समस्या केवल भौगोलिक दूरीको होइन, यातायातको पहुँच, महँगो भाडा र राज्यको सेवा प्रवाहसँग जोडिएको छ।

सुदूरपश्चिमका पहाडी जिल्लामा सडक यात्रा लामो र अनिश्चित छ। सीमित हवाई सेवामा निर्भर हुनुपर्ने यात्रुले महँगो टिकटको भार पनि बोक्नुपरेको छ। यस्तो अवस्थामा सुदूरपश्चिमलाई देशको मूल प्रवाहसँग जोड्ने प्रतिबद्धता भाषण र सामाजिक सञ्जालका नारामा मात्रै सीमित हुने कि नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्ने भन्ने प्रश्न सरकारसामु खडा भएको छ।

यातायातलाई सहज, सुरक्षित र सर्वसुलभ बनाउनु सरकारको जिम्मेवारी हो। चाडपर्वमा यात्रुको चाप बढ्छ भन्ने कुरा नयाँ होइन। हरेक वर्ष दोहोरिने यो समस्याको दीर्घकालीन समाधान खोज्नुको सट्टा नागरिकलाई महँगो टिकट र अनिश्चित यात्राबीच रोज्न बाध्य बनाइरहने हो भने सुशासन र जनमुखी शासनका प्रतिबद्धताको अर्थ के रहन्छ ?

बुद्ध एयर भन्छ– भाडा महँगो छैन

यता बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले भने हवाई भाडा महँगो नभएको दाबी गरेका छन्। उनले यात्रुलाई ठगीमा नपर्न आग्रह गर्दै बुद्ध एयरको आधिकारिक वेबसाइटमा भाडादर हेरेर मात्रै टिकट काट्न अनुरोध गरेका छन्।कम्पनीले भाडा महँगो नभएको दाबी गरे पनि यात्रुले सुनाएका मूल्य र उनीहरूले भोगिरहेको आर्थिक कठिनाइले हवाई सेवाको पहुँच तथा चाडपर्वको भाडा व्यवस्थापनबारे बहस आवश्यक देखाएको छ। भाडा महँगो छ वा छैन भन्ने विषयमा आधिकारिक दर, टिकट खरिदको समय, उपलब्ध सिट र लागू शुल्कसमेतका आधारमा तथ्यगत मूल्याङ्कन आवश्यक हुन्छ।तर यात्रुको मूल प्रश्न स्पष्ट छ—आकस्मिक काम, बिरामी आफन्त र चाडपर्वका कारण छिटो घर पुग्नुपर्ने नागरिकले हवाई यात्रा गर्नै नसक्ने गरी खर्च बेहोर्नुपर्ने अवस्था किन आइरहेको छ ?

सरकारले कहिले देखाउँछ व्यवहारमा ‘सुदूर अब दूर नाइ’ ?

दशैंमा घर फर्किने नागरिकको चाप बढिरहेका बेला सरकार, सम्बन्धित निकाय र हवाई सेवा प्रदायकले यातायात व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ। यात्रुको चापअनुसार पर्याप्त सेवा, भाडादरमा पारदर्शिता, सडकको समयमै मर्मत र दुर्गम क्षेत्रका नागरिकको पहुँचलाई ध्यानमा राखेर प्रभावकारी योजना आवश्यक छ।

सुदूरपश्चिमका नागरिकलाई चुनावका बेला नारा सुनाएर मात्रै दूरी घट्दैन। सडक सुरक्षित हुनुपर्छ, यातायात भरपर्दो हुनुपर्छ र हवाई सेवा नागरिकको पहुँचमा हुनुपर्छ। नत्र ‘सुदूर अब दूर नाइ’ भन्ने अभिव्यक्ति चुनावी मञ्चमा आकर्षक सुनिए पनि व्यवहारमा नागरिकले भोग्ने यथार्थ भने उस्तै रहनेछ।

अहिलेको प्रश्न प्रधानमन्त्री बालेनले चुनावमा के भने भन्ने मात्रै होइन, उनले नेतृत्व गरेको सरकारले नागरिकको यो समस्यालाई कसरी सम्बोधन गर्छ भन्ने हो।

सुदूरपश्चिमका नागरिकले अब नाराको आश्वासन होइन, सहज यात्रा र सर्वसुलभ यातायात खोजिरहेका छन्। दशैंमा घर फर्किनसमेत मूल्यको हिसाब गर्नुपर्ने अवस्थाको अन्त्य कहिले हुन्छ ? ‘सुदूर अब दूर नाइ’ भन्ने प्रतिबद्धता व्यवहारमा कहिले देखिन्छ ? यसको जवाफ सरकारले दिनुपर्ने बेला आएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x