भारत भ्रमणमा सीमा विवाद उठाउन नसकेको भन्दै प्रधानमन्त्री बालेनमाथि कांग्रेसको प्रहार, ‘नक्कली राष्ट्रवादको पर्दाफास’

435
shares
Nabil bank

 

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणलाई लिएर गम्भीर प्रश्न उठाएको छ। विगतमा भारतसँगको सम्बन्ध र विशेषगरी सीमा विवादका विषयमा चर्का अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री साहले भारत भ्रमणका क्रममा सीमाजस्तो संवेदनशील विषय उठाउन नसकेको भन्दै कांग्रेसले उनको राष्ट्रवादी छविमाथि नै प्रश्न खडा गरेको हो।

शनिबार पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीको विगतको अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबीच ठूलो विरोधाभास रहेको टिप्पणी गरे।

पौडेलले प्रधानमन्त्री साहले विगतमा सीमा विवादका विषयलाई लोकप्रियता हासिल गर्ने माध्यम बनाएको आरोप लगाउँदै कूटनीतिक रूपमा निर्णायक पहल गर्ने अवसर प्राप्त हुँदा पनि ती विषय उठाउन नसक्नुले उनको दोहोरो चरित्र उदाङ्गो भएको दाबी गरे।

उनका अनुसार प्रधानमन्त्री बन्नुअघि र पदमा पुगेपछि समेत भारतसँगको सम्बन्ध तथा सीमा विवादका विषयमा साहले प्रस्तुत गर्ने शैली उत्तेजक र अपरिपक्व थियो। कांग्रेसले त्यस्ता अभिव्यक्तिलाई राष्ट्रवादको वास्तविक अडानभन्दा लोकप्रियता आर्जन गर्ने राजनीतिक प्रदर्शनका रूपमा लिएको उनको भनाइ छ।

‘राष्ट्रवादको नक्कली प्रदर्शन थियो भन्ने हाम्रो बुझाइ थियो। त्यही विषयलाई कूटनीतिक संवादमार्फत निर्णायक रूपमा उठाउने अवसर प्राप्त गर्दा पनि प्रधानमन्त्रीले विषय प्रवेश नै नगराई फर्कनुले हिजो हामीले गरेको अनुमान आज पुष्टि भएको छ,’ पौडेलले भने।

उनले प्रधानमन्त्रीको कथनी र करनीबीचको विरोधाभासलाई विडम्बनापूर्ण भन्दै यसले कूटनीतिक संवेदनशीलताको अभाव र अपरिपक्वता समेत उजागर गरेको टिप्पणी गरे।

कांग्रेसले सीमा विवादजस्ता राष्ट्रिय सरोकारका विषयलाई राजनीतिक लोकप्रियताको हतियार बनाउने तर व्यवहारमा समाधानका लागि पहल नगर्ने प्रवृत्तिमाथि प्रश्न उठाएको छ। भारतसँग प्रत्यक्ष संवाद गर्ने अवसरलाई उपयोग गर्न नसक्नु प्रधानमन्त्रीको कूटनीतिक कमजोरी भएको कांग्रेसको निष्कर्ष छ।

पौडेलले नेपाल–भारत सम्बन्ध ऐतिहासिक, बहुआयामिक र विशिष्ट रहेको उल्लेख गर्दै दुई देशबीच सहकार्यका प्रशस्त सम्भावना रहेको बताए। तर सीमा विवादलगायत लामो समयदेखि थाती रहेका संवेदनशील विषयलाई बेवास्ता गरेर मात्रै द्विपक्षीय सम्बन्ध बलियो बन्न नसक्ने उनको भनाइ छ।

कांग्रेसले यस्ता विषय एकपटकको भ्रमण वा बैठकबाट समाधान नहुने स्पष्ट पार्दै निरन्तर, गम्भीर र परिणाममुखी कूटनीतिक पहल आवश्यक रहेको जनाएको छ।

यद्यपि प्रधानमन्त्री साहको भारत भ्रमणका क्रममा भएका कतिपय द्विपक्षीय सहमतिलाई कांग्रेसले सकारात्मक रूपमा लिएको छ। ती सहमति कागजमै सीमित नराखी प्रभावकारी कार्यान्वयनमा लैजानुपर्नेमा पौडेलले जोड दिए।

सीमा विवादजस्तो राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतासँग जोडिएको विषयमा विगतमा आक्रामक अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री साहले भारत भ्रमणमा त्यसलाई प्राथमिकतामा नराखेको भन्दै कांग्रेसले उठाएको प्रश्नले उनको भारत नीतिमाथि राजनीतिक बहस थप चर्काउने देखिएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x