प्रहरीको नाम बेचेर असुली धन्दा, इन्स्पेक्टर हुँ भन्दै दुई लाख माग्ने पाँच जना पक्राउ
वि.सं.२०८३ मंसिर १३ आइतवार
shares
काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) भएको नक्कली परिचय दिएर प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई मुद्दा नचलाई छुटाइदिने भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ परेका छन्। प्रहरीको नाम र पद दुरुपयोग गर्दै सर्वसाधारणलाई आर्थिक दबाब र धम्की दिने उनीहरूको प्रयास प्रहरीको कारबाहीपछि सार्वजनिक भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी प्रभाग काँडाघारीमा सोधपुछका लागि बोलाइएका एक व्यक्तिका भाइलाई लक्षित गरी उनीहरूले रकम मागेका थिए। गत मंसिर १० गते दिउँसो करिब २ बजे दाजुलाई भेट्न प्रहरी प्रभाग पुगेका ती व्यक्तिलाई पाँच जनाले आफूहरू प्रहरी निरीक्षक भएको भन्दै परिचय दिएका थिए।
उनीहरूले प्रहरी नियन्त्रणमा रहेका दाजुलाई मुद्दा नचलाई छुटाइदिने आश्वासन दिएर दुई लाख रुपैयाँको व्यवस्था गर्न दबाब दिएका थिए। प्रहरीको पहुँच र प्रभाव रहेको दाबी गर्दै रकम माग्नुका साथै होटल खर्चसमेत पीडितलाई तिर्न लगाएको प्रहरीको भनाइ छ।
पीडितले रकम दिन अस्वीकार गरेपछि उनीहरूले फोन तथा म्यासेजमार्फत विभिन्न किसिमका धम्की दिन थालेका थिए। प्रहरीको नाम र पदको आडमा रकम असुल्ने प्रयाससँगै धम्कीसमेत दिन थालेपछि घटनाबारे प्रहरीलाई सूचना पुगेको थियो।
त्यसपछि प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित वीरेन्द्र चोकबाट पाँचै जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ओखलढुङ्गाका ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापका २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाका ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकका २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीका ३० वर्षीय हर्कसिंह भोलन रहेका छन्।
प्रहरीले उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।
प्रहरीको नाम र पद दुरुपयोग गरी सर्वसाधारणलाई प्रभावमा पार्ने तथा प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई छुटाइदिने प्रलोभन देखाएर रकम माग्ने घटनाले प्रहरीको परिचय दुरुपयोग गरी हुने ठगीप्रति गम्भीर प्रश्न उठाएको छ।
































