निर्वाचन आयोगले मतदाता नामावली सच्याउने मिति तोकियो
वि.सं.२०७८ फागुन १९ बिहीवार
shares
काठमाडौँ ।स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली सच्याउने समय तय गरेको छ । आयोगले मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यक्रम फागुन २० गतेदेखि फागुन २६ गतेसम्म सञ्चालन हुने जनाएको हो ।
यस समयमा मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाण सहित सफाईको मौका दिन सकिने आयोगले जनाएको छ ।
उक्त प्रयोजनको लागि मतदाता नामावली सम्बन्धित पालिकाको वडा कार्यालय, निर्वाचन कार्यालय र आयोगको वेब साईटमा हेर्न सकिनेसमेत आयोगले जानकारी दिएको छ ।
स्थानीय तह निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि आयोगलाई अर्थमन्त्रालयबाट रु. ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भइसकेको छ । स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० ओटा राजनीतिक दलहरूको निवेदनका सम्बन्धमा जाँचबुझ भै रहेको छ र निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नाम फागुन २६ गतेभित्रमा प्रकाशन गरिने आयोगका सह सचिव एवम् प्रवक्त शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको नामावली सम्बन्धित निकायबाट प्राप्त भएको र ती नामावलीहरू हाल अध्ययनको क्रममा रहेको छ ।





























