एपिएफ क्लबले काठमाडौं मेयर्स एघार टिमलाई पराजित

1.1K
shares

काठमाडौं । विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफ क्लबले काठमाडौं मेयर्स एघार टिमलाई पराजित गर्दै ‘काठमाडौं मेयर्स कप’ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अब एपिएफले उपपाधिका लागि नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

 

बिहीबार भएको खेलमा काठमाडौं मेयर्स एघार टिमलाई सात विकेटले पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो । १७८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको एपिएफले ४४.१ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो ।

 

एपिएफको जितमा कप्तान शरद भेषावकर र सन्दीप जोराले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाए । सन्दीप जोरा ६२ रनमा अविजित रहे। त्यस्तै, कप्तान शरद ६१ रनमा अविजित रहे । बलिङतर्फ अनुज चुनरा, सन्दीप लामिछाने र अनिल खरेलले समान १–१ विकेट लिए ।

 

एक रन बनाउँदा पहिलो विकेटको रुपमा आशिफ शेख शून्यमा आउट भए । त्यसपछि ४४ रनमा एपिएफले दोस्रो विकेट गुमाउँदा शंकर राना ३१ रनमा आउट भए । तेस्रो नम्बरमा आएका कप्तान शरद र पाँचौं नम्बरमा आएका सन्दीप जोराले उत्कृष्ट साँझेदारी गर्दै जित दिलाए। शरद र सन्दीपले १२१ रनको साँझेदारी गरे ।

 

यसअघि मूलपानी क्रिकेट मैदानमा काठमाडौंले ४८.५ ओभरमा सबै विकेटको क्षतिमा १७७ रन बनाएपछि एपिएफले सामान्य लक्ष्य पाएको थियो । काठमाडौंका सन्दीप रजालीले ४८, हरिशंकर शाहले ३६ र विक्रम भूषालले २० रन बनाए ।

 

अब उपाधिका लागि एपिएफले शनिबार त्रिवि क्रिकेट मैदानमा पुलिससँग प्रतिस्पर्धा गर्नेछ । पुलिस यसअघि नै फाइनलमा प्रवेश गरिसकेको टिम हो ।

civil hospital
Hams Hospitals