चुनावले विप्लव समूहमा भाँडभैलो, तीन नेतालाई पार्टीबाट निकालियो
वि.सं.२०७९ वैशाख ५ सोमवार
shares
चुनाव उपयोगसम्बन्धी अलमलको नीतिले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा अन्तरविरोध चर्किएको छ । अन्तरविरोध चर्किंदै जाँदा समानान्तर गतिविधि हुन थालेपछि सो पार्टीले नेता-कार्यकर्तामाथि कारवाहीसमेत गर्न थालेको छ ।
विप्लव समूहको हालै सम्पन्न कपिलवस्तु बैठकले चुनाव उपयोग र बहिष्कार दुवै नगर्ने नीति लिएको थियो । जसमा पार्टी चुनावमा नजाने र कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवार उठाउने तथा राष्ट्रवादी उम्मेदवारलाई सघाउने भनिएको थियो । तर, महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा “प्रकाण्ड” पक्ष चुनाव उपयोगको तयारीमा जुटेपछि असन्तुष्ट समूहबाट विरोध चर्किएको हो ।
चुनावमा जाने संस्थापन पक्षको तयारीलाई सचिवालय सदस्यद्वय धर्मेन्द्र बांस्तोला कन्चन र हेमन्तप्रकाश वली सुदर्शनले चुनौती दिन थालेपछि विभिन्न जिल्लामा समानान्तर गतिविधि शुरु भएको छ । वली र बास्तोला पक्षधर जिल्ला नेताहरु संस्थापनविरुध्द समानान्तर गतिविधिमा लागेपछि विप्लवले कारवाही गर्न थालेका हुन् ।
यसैबीच नेकपाको कास्की जिल्ला कमिटीले गोकुल पराजुली,बद्री अधिकारी र रमेश बास्तोलालाई पार्टीबाट निकालेको छ । पार्टीको निर्णय र नीतिविरुध्द भ्रम सिर्जना गर्दै समानान्तर गतिविधि गरेको, अन्तरध्वंशको षडयन्त्र गरेको,पार्टी नीतिलाई सही ढंगले कार्यान्वयन नगरेको,सामाजिक सञ्जालको प्रयोग गरी क्रान्तिविरोधी शक्तिलाई मलजल गरेको आरोपमा उनीहरुमाथि कारवाही गरिएको हो ।
पार्टीबाट निकालिनेमा कास्की जिल्ला विशेष कमिटी सदस्य गोकुल पराजुली,बद्रि अधिकारी र रमेश बाँस्तोला छन्। उनीहरु तीनै जना चुनाव बहिष्कार गर्नुपर्ने पक्षधर वली र बाँस्तोला निकट हुन् ।
‘पार्टीको हालै सम्पन्न आठौँ केन्द्रीय समितिको १२ औँ पूर्ण बैठकले लिएका दूरगामी निर्णय तथा नीतिको विरुद्ध पार्टी र नेतृत्वविरुद्ध भ्रम फैलाउँदै समानान्तर गतिविधिको प्रयास गरेको,अन्तरध्वंसको षड्यन्त्र गर्ने,पार्टी नीतिलाई सही ढंगले लागू नगर्ने, गुटबन्दी गर्ने, सामाजिक सञ्जालको दूरुपयोग गरि क्रान्तिविरोधी शक्तिलाई मलजल गर्ने जस्ता पार्टीविरोधी गतिविधिहरु कास्की जिल्ला विशेष कमिटी सदस्य गोकुल पराजुलीको नेतृत्वमा मिति २०७९ वैशाख ३ गते बसेको भनिएको बैठकबाट पुष्टि हुन आएको छ’, कास्की इन्चार्ज उमा भुजेलद्वारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधिले गर्दा पार्टी अनुशासनको गम्भीर उल्लङ्घन हुन पुगेको छ । जुन गतिविधिले विधानको कारवाहीसम्बन्धी धारा १४ को उपधारा (घ)को १ आकर्षित गर्दछ । तसर्थ अन्तरध्वंसको षड्यन्त्र गर्दै पार्टी अनुशासनको विरुद्धमा हिंड्ने गोकुल पराजुली, बद्रि अधिकारी र रमेश बाँस्तोलालाई उल्लेखित धाराबमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको जानकारी गराउँदछौं ।’
विज्ञप्तिमा पार्टीको आधिकारिक प्रतिवेदन र सर्कुलरभन्दा बाहिर कुनै पनि भ्रममा नपर्न पार्टी पंक्तिलाई अपिल पनि गरिएको छ । जनआस्था




























