नेपालले घरेलु टोली केन्यालाई पराजित
वि.सं.२०७९ भदौ १७ शुक्रवार
shares
नेपालले घरेलु टोली केन्यालाई पहिलो एकदिवसीय खेलमा सात विकेटले पराजित गरेको छ।
केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७ दशमलव २ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा आसिफ शेखले सर्वाधिक ११० रनको योगदान दिए। उनले १२० बलमा १२ चौका र २ छक्काको मद्दतमा ११० रन बनाए।
यसैगरी अर्जुन साउदले ६१ रनको अर्धशतकीय इनिङ खेले भने ज्ञानेन्द्र मल्लले २४ रन बनाए। दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाउँदा रोहित पौडेलले अविजित ३ रन बनाए।
केन्याका भिसिल पटेल, रकिप पटेल र कोलिन्स ओबुयाले समान १/१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ४८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१८ रन बनाएको थियो।
केन्याका लागि रकिप पटेल र कोलिन्स ओबुया अर्धशतकीय इनिङ खेले। पटेलले ६७ रनको योगदान दिए भने ओबुयाले ६२ रन बनाए। ईफ्रान करिमले ३० तथा सचिन बुदियाले २६ रन बनाए।
नेपालका लागि सोमपाल कामी र करण केसीले समान ३/३ विकेट लिए भने आदिल आलम र पवन सर्राफले समान १/१ विकेट लिए। यस जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ। अब नेपालले भोलि केन्यासँग दोस्रो खेल खेल्नेछ। नेपालले यसअघि केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो।






























