करको दर हेरफेरको आरोप लागेका घिमिरेविरुद्द भ्रष्टाचार मुद्दा
वि.सं.२०७९ चैत १९ आइतवार
shares
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा भन्सार विभागका तत्कालिन नायव सुब्बा रघुनाथ घिमिरे विरुद्द मुद्दा दायर गरेको छ । आयोगले आइतबार विशेष अदालत काठमाडौंमा चालु आर्थिक वर्षको बजेटको दर हेरफेर गरेको आरोप लागेका घिमिरे विरुद्द मुद्दा दायर गरेको हो ।
हाल अवकाश प्राप्त घिमिरेले एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा बसेर राजस्व हिनामिना गरी राजस्व छल्ने कार्य गरेको आयोगमा उजुरी परेको थियो । यसका साथै उनले गैरकानूनी काम गरी राजस्वका विभिन्न कार्यालयमा बसी करोडौं सम्पत्ति कमाएर श्रीमती लगायत परिवारका विभिन्न व्यक्तिहरुको नाममा लुकाएर राखेको आरोप छ ।
उनले विभिन्न कम्पनीहरुमा लगानी, शेयर खरिद, जग्गा खरिद लगायतको कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आयोगको भनाई छ । मिति २०५२/०७/२८ देखि मिति २०७९/०९/१२ गतेसम्म घिमिरे सार्वजनिक सेवामा रहेका थिए ।
यस अवधिमा वैधानिक आयमा घिमिरेको पारिश्रमिक, उनको श्रीमती शारदा गौतमको पारिश्रमिक, उनको छोरीको पारिश्रमिक आय, कर्मचारी संचयकोष लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा, जग्गा बिक्री, घर बहाल, कम्पनी लाभांश वापत प्राप्त वैधानिक आयको अनुसन्धान गरिएको थियो ।
त्यस्तै, उनको श्रीमती शारदा गौतमले अभिकर्ता कमिसन वापत प्राप्त रकम, राजश्व अनुसन्धान विभागबाट प्राप्त गरेको पुरस्कार, शेयर बिक्री, नगद लाभांश आय (शेयर प्रतिफल) र अवकाश पश्चात प्राप्त आयसमेतको अनुसन्धान गरिएको थियो ।
जसमा ५ करोड २५ लाख १६ हजार ३२७ दशमलव ४४ रुपैयाँ उनको वैधानिक आय स्रोत खुल्न आएको देखिन्छ । सोही जाँच अवधिमा उनको सम्पूर्ण व्यय हेर्दा ७ करोड ३९ लाख ६२ हजार ९ सय रुपैयाँ खर्च तथा लगानी गरेको देखिन्छ ।
उनको कुल वैधानिक आयलाई उनले गरेको कुल व्ययसँग तुलना गर्दा आयभन्दा २ करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँ वैधानिक स्रोत पुष्टि हुन नसकेको अख्तियारको भनाई छ । सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारीले पदमा बहाल रहँदाका बखत अमिल्दो तथा अस्वभाविक सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको आयोगले जनाएको छ ।
घिमिरेले सार्वजनिक पदको दुरुपयोग गरी २ करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँ बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरी भ्रष्टाचार गरेको आयोगको ठहर छ । उनलाई सो बराबरको विगो माग तथा कैद सजाय हुनुपर्ने आयोगले जनाएको छ । उनको श्रीमतीको नाममा खरिद गरिएका स्रोत नखुल्ने सम्पत्ति बराबरको बिगो समेत माग गरिएको छ ।































