कोरोना बोकेर गाउँघरतिर…
वि.सं.२०७८ वैशाख २१ मंगलवार
shares
काठमाडौं । कोराना संक्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन्।
प्रत्येक दिन हजारभन्दा बढी कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायतका नाकाबाट सुदूरपश्चिम प्रवेश गरिरहेका छन्। तर उनीहरूलाई परीक्षणबिना नै गाउँ जान दिइएको खबर नागरिक दैनिकमा छ।
भारतबाट फर्कनेको नाकामा एन्टिजेन जाँच गरेर संक्रमण पत्ता लगाउने भनिए पनि किट अभावमा अधिकांशको जाँच हुने गरेको छैन। आइतबार भारतबाट भित्रिएका १ हजार ८० जनामध्ये ३ सय ८२ जनाको मात्र एन्टिजेन परीक्षण गरियो भन्ने अन्यलाई त्यसै घर जान दिइयो।
शनिबार ११ सय ७० मा ४ सय ३२ जनाको मात्र जाँच गरिएको थियो। त्यस्तै शुक्रबार भारतबाट आएका १७ सय ४७ मध्ये ४ सय ७ जनाको एन्टिजेन जाँच गरिएको थियो।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा गौरीफन्टा, गड्डाचौकीलगायतका नाकाबाट ९ हजार ७ सय ५२ जना सुदूरपश्चिम फर्केका छन्। तीमध्ये बढीजसो परीक्षण नगरी गाउँगाउँ पुगेका छन्।




























