अनेमसंघले गर्यो जिल्ला–जिल्लामा महिला नेतृत्व स्थापितदेखि आफ्नै घर बनाउनेसम्मका निर्णय

1.3K
shares

 

काठमाडौं। नेकपा एमालको जनबर्गीय संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) ले पार्टीको जिल्ला नेतृत्वमा महिला स्थापित गर्नेदेखि आफ्नै भवन निर्माणसम्मको अभियान चलाउने निर्णय गरेको छ । अध्यक्ष टुका हमालको अध्यक्षमा शुक्रवार काठमाडौंमा बसेको केन्द्रीय कमिटीको तेस्रो बैठकबाट अनेमसंघले यस्तो निर्णय गरेको हो ।

 

अनेमसंघकी सचिव बिनादेवी राईलेलाई दिनुभएको जानकारीअनुसार बैठकले तीन महिने अभियान सञ्चालन गर्ने निर्णयसहित कार्ययोजना पारित गरेको छ । ‘अवको तीन महिना संगठन सुदृढीकरण अभियानको महिना बनाउने निर्णय बैठकले गरेको छ,’ सचिव राईले भन्नुभयो । सचिव राईका अनुसार अभियानको क्रममा सात वटै प्रदेशमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालनदेखि जिल्ला र पालिकामा पनि प्रशिक्षण कार्यक्रम सम्पन्न गरिनेछ ।

 

केन्द्रीय प्रचार बिभाग प्रमुख कालिका पाठकले बैठकले अभियानका क्रममा गर्ने अन्य ठोश योजना पारित गरेको बताउनु भयो । प्रमुख पाठकका अनुसार बैठकले अभियानको क्रममा ‘घरघरमा अनेमसंघ, हर घरमा अनेमसंघ’ भन्ने नारा तय गर्दै सदस्यता बिस्तारको बिशेष योजना बनाएको छ । ‘एक घर एक सदस्य, एक टोल एक कमिटी अभियान सञ्चालन गर्ने निर्णय भएको छ । यस अभियानमा एक बर्षभित्र ५ लाख सदस्य बिस्तार गर्ने निर्णय गरिएको छ,’ प्रचार बिभाग प्रमुख पाठकले भन्नुभयो ।

 

यस्तै बैठकले सम्मेलन गर्नूपर्ने समय पुगेका जिल्ला, पालिका, वडा र टोल कमिटीमा अधिवेशन गर्ने निर्णय पनि बैठकले गरेको छ । यसैगरी बैठकले १३ बुँदे कार्यक्रम पारित गरेको छ । पारित कार्यक्रममा सवै क्षेत्रमा समान सहभागिताको कार्यक्रम, आर्थिक अधिकार तथा आत्मनिर्भरताको कार्यक्रम, मानव अधिकार तथा सामाजिक न्यायको कार्यक्रम, महिला हिंसाबिरुद्धको कार्यक्रम, संबिधान कार्यान्वयनको कार्यक्रम, महिला स्वास्थ्यको कार्यक्रमलगायत रहेका छन ।

 

बैठकले दुई बर्षभित्र आफ्नै भवन निर्माण गर्ने निर्णयसहित उपमहासचिवको नेतृत्वमा आर्थिक संकलन समिति गठन गरेको छ । यस्तै बैठकले आर्थिक नियमावली पारित गरेको सचिव बिनादेवी राईले जानकारी दिनुभयो ।

 

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, जनसंगठन समन्वय संयन्त्रका प्रमुख रहनुभएका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, अनेमसंघ इञ्चार्ज सीता पौडेललगायतका नेताहरुले आफ्नो धारणासहित निर्देशन दिनुभएको थियो । बैठकमा ढकालले पार्टीको जिल्ला अधिवेशन चलिरहेको भन्दै जिल्लामा महिला नेतृत्व स्थापित गर्ने अभियानमा लाग्न अनेमसंघलाई सुझाव दिनुभएको थियो ।

 

‘आगामी जेठ महिना भित्र पार्टीका सबै जिल्लाहरुमा जिल्ला सम्मेलन सम्पन्न गर्ने समय सिमा भएकाले अनेमसंघले जिल्लाहरुमा महिला अध्यक्ष बनाउनका लागि दवाव दिनुपर्छ,’ ढकालको भनाई थियो । उहाँले अनेमसंघ निर्णायक मतदाता भएकाले पार्टीलाई प्रभाव पार्न सक्ने भन्दै नेतृत्वमा दावी गर्न सुझाउनु भएको प्रचार बिभागका उपप्रमुख सिर्जना आचार्यले जानकारी दिनुभयो ।

 

अनेमसंघ अध्यक्ष टुकाभद्र हमालको अध्यक्षतामा भएको बैठकमा इन्चार्ज सीता पौडेलले अनेमसंघलाई संगठन विस्तारमा ध्यान दिन निर्देशन दिनुभएको थियो ।

civil hospital
Hams Hospitals