लोकप्रिय चिनियाँ ब्रान्ड ग्रेटवाल र हाभल ब्रान्डका तीन गाडी नेपालमा आउने
वि.सं.२०७८ जेठ २ आइतवार
shares
आगामी केहि महिना भित्रै लोकप्रिय चिनियाँ ब्रान्ड ग्रेटवाल र हाभल ब्रान्डका तीन ओटा नयाँ तथाआकर्षक फिचर सहितका गाडी नेपाल आउने भएका छन् ।
कोभिड १९ को दोस्रो लहरकै बीच यी गाडीले नेपाली बजारमा प्रवेश पाउने भएका छन् । खासगरी चिनियाँ कम्पनी ग्रेटवाल मोटरको स्वामित्वमा रहेको हाभलका दुई एसयूभी र ग्रेटवालको एक पीक अप पहिलो चरणमा नेपाल भित्रन लागेको हो ।
ग्रेटवाल गाडीको नेपालका लागि आधिकारिक वितरक विशाल ग्रुप अन्तर्गतको भिजी इम्पेक्सले नेपालमा नयाँ ब्रान्ड ल्याउने भएको हो । विशाल ग्रुप माघमा मात्रै ग्रेटवाल गाडीको नेपालको आधिकारीक वितरकको रुपमा नियुक्त भएको थियो ।
कम्पनीले ल्याउने तीन ओटै मोडल चिनियाँ बजारमा सर्वाधिक विक्री हुने र लोकप्रिय रहेको दाबी छ ।
भिजी इमपेक्सका अनुसार नेपाली बजारमा पनि यी गाडीले ठूलो सपलता दिलाउने विश्वास लिइएको छ ।
कम्पनीले बैशाख अन्तिममा यी गाडी ल्याउने तयारी गरेको थियो तर, निषेधाज्ञाले पछि धकेलिदिएको हो ।
अब निषेधाज्ञा सकिएपनि नेपाली बजारमा नयाँ प्रतिस्पर्धी थपिने भएको छ । अब नेपाल आउने तीन मोडलहरु मध्य हाभल जोलीयन र एच सिक्स एसयूभी र पोयर पीकअप हो ।
कस्ता छन् त गाडीहरु ?
१. हाभल जोलीयनमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १४० हर्स पावर र २१० एनएम टर्क प्रदान गर्छ ।
यसमा ६ स्पीड म्यानुअल तथा ७ स्पीड डिसीटी अटोमेटिक गियरबक्स रहेको छ । कम्पनीका अनुसार यो एसयूभीले ७ लिटर पेट्रोलमा १०० किलोमिटर माइलेज दिनेछ ।
२. कम्पनीले ल्याउँदै गरेको अर्को एसयूभी हाभल एच सिक्स हो । यस एसयूभीमा २.० लिटरको टर्बो पेट्रोल इन्जिन रहेको छ ।
उक्त इन्जिनले अधिकतम २२४ हर्सपावर तथा ३८५ एनएम टर्क उत्पादन गर्छ । यसमा ९ स्पीडको ड्यूल क्लच ट्रान्समिसन दिइएको छ ।
३. ग्रेटवाल पोयर पीकअप पनि पहिलो लटमा नै नेपाल आउन लागेको कम्पनीले जनाएको छ । यस पीकअपमा २.० लिटरको टर्बो चार्ज्ड डिजल इन्जिन रहेको छ ।
जसले १६० हर्स पावर तथा ४०० एनएम टर्क उत्पादन गर्छ ।
यी कुनैपनि मोडलको मूल्य र अन्य फिचरको बारेमा कम्पनीले जानकारी दिएको छैन ।




























