हङकङले नेपाललाई दियो ९४ रनको लक्ष्य
वि.सं.२०८० माघ २७ शनिवार
shares
काठमाडौं । एसीसी महिला प्रिमियर कप २०२४ को पहिलो खेलमा नेपालले हङकङविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा टस हारेर पहिलो ब्याटिङ गरेको हङकङले नेपाललाई ९४ रनको लक्ष्य दिएको छ । हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९३ बनाएको हो ।
हङकङका लागि कप्तान चान का यिङ क्यारीले ३१ बल खेल्दै ३ चौका सहित सर्वाधिक २१ रन बनाइन् । यस्तै, मर्यम बिबीले १९ बल खेल्दै १८ रन बनाइन् । यास्मिन दस्वानीले २१ बल खेल्दै १५ रन जोटिन् ।
ओपनर नताशा माइल्सले १९ बलमा ११ रनको योगदान गरिन् । हङकङका अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
नेपालका लागि रुबिना क्षत्री र पुजा महतोले सर्वाधिक २–२ विकेट लिए । रुबिनाले ४ ओभरमा १५ रन खर्चिंदै २ विकेट लिइन् भने पूजाले ४ ओभरमा १९ रन खर्चिन् । यस्तै, सिता राना मगरले ४ ओभरमा २२ रन दिँदै १ विकेट लिइन् ।
एसीसी महिला प्रिमियर कपमा १६ टोलीको सहभागिता छ । १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ भने फाइनल पुग्ने दुई टोलीले एसीसी महिला एसिया कप खेल्नेछन् । यस्तै, सेमिफाइनल पुग्ने चार टोलीले इमर्जिङ एसिया कप खेल्नेछन् । नेपाल रहेको समूह ‘डी’मा हङकङसहित माल्दिभ्स र भुटान छन् ।
































