Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाने दुई शिक्षकलाई सजाय

2.1K
shares

 

काठमाडौँ । विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाने दुई शिक्षकलाई सजाय सुनाएको छ । जसमध्ये एक जनाको अध्यापन अनुमतिपत्र नै नक्कली रहेको खुलेको छ ।

 

पर्सा र तनहुँमा कार्यरत शिक्षकहरूलाई विशेषले शुक्रबार कसुरदार कायम गर्दै सजाय सुनाएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । पर्साको धोबिनी गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका शिक्षक जनार्दनप्रसाद कानुको अध्यापन अनुमतिपत्र नक्कली रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

 

 

 

अनुसन्धानपछि उनीमाथि गत १० वैशाखमा मुद्दा दायर भएकोमा ठहर हुने फैसला भएको हो । कानुको प्राथमिक तह अध्यापन अनुमतिपत्र नक्कली रहेको र उनले उक्त झुटो अनुमति पत्रका आधारमा जागिर खाएका थिए ।

 

प्रवक्ता कार्कीका अनुसार कानुलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो ।

 

यसैगरी विशेषले तनहुँकी शिक्षिका सुनिता उपाध्याय पौडेललाई पनि नक्कली प्रमाणपत्र मुद्दामा सजाय सुनाएको छ । उनीमाथि अख्तियारले गत २९ फागुनमा मुद्दा चलाएकोमा ठहरको फैसला भएको हो ।

 

यस मुद्दामा विशेषका सदस्यहरू खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले सुनुवाइ गरेको हो । पौडेललाई विशेषले तीन हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ ।

 

पौडेललाई तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार सजाय सुनाइएको विशेषले जनाएको छ । उनले भारतबाट हाइस्कुल उत्तीर्ण गरेको भनी पेस गरेको प्रमाणपत्र नक्कली रहेको खुलेको थियो ।

civil hospital
Hams Hospitals