थाक्रे गाउँपालीकामा बेथिति पदाधिकारीहरुको सुविधामा करोडौंको खर्च
वि.सं.२०८१ असार २५ मंगलवार
shares
धादिङ्ग।थाक्रे गाउँपालिकाले आफू खुसी विकास खर्च कम गर्ने, गरेको खर्चमा कानुन, विधि मिच्ने, स्वार्थ बाझिने र विभिन्न शीर्षकमा भत्ता, अनुदान दिएको भेटिएको छ । गाउँपालिकाले नियम कानुनको धज्जी उडाउँदै मनालाग्दी खर्च गरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवेदनले औँल्याएको छ ।

गाउँपालिकाले आर्थिक अनुशासन र नियम कानुनको प्रवाह नगरी जथाभाबी बजेट खर्च गरेको भन्दै महालेखाले आर्थिक ऐन, नियम र कानुनलाई तिलाञ्जली दिएको तथा जनप्रतिनिधिले मनपरी ढंगले रकम खर्च गरेर राज्य स्रोतको चरम दुरुपयोग गरेको औँल्याएको छ ।
यसमा मुख्य त स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिले मनपरी बजेट खर्च गर्नुका साथै कानुनले वर्जित गरेको क्षेत्रमा पनि खर्च गरेको औँल्याएको हो । मुलुक संघीयतामा गएपछि गाउँमा सिंहदरबार पुगेको र अब विकासले गति लिन्छ भन्ने आम अपेक्षाविपरीत जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा राज्य स्रोतको दोहन भएको छ ।
पालिकाको चालु आर्थिक वर्षमा बेरुजु ११ करोड २३ लाख ९४ हजार पुगेको छ। यसमा असुल गर्नुपर्ने ९ करोड ८ लाख ६९ हजार रहेको छ भने कागजपत्र पेस गर्नुपर्ने १ करोड २ लाख भन्दा बढी छ । महालेखाको प्रतिवेदन अनुसार यसमा नियमित गर्नुपर्ने ६६ लाख ४३ हजार, पेश्की बाँकी ४७ लाख रहेको हो ।
महालेखाका अनुसार गत वर्ष २८ करोड ७८ लाख बेरुजु रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु ३३ करोड २५ लाख पुगेको छ । यसमा मुख्य पालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीयको कमजोरीका कारण बेरुजु बढेको महालेखाले दाबी गरेको छ ।

पालिकामा सामुदायिक विद्यालयलाई बढी निकासा दिएको छात्र बुद्धि रकम असुल्न महालेखाले निर्देशन दिएको छ । पालिकाका सात सामुदायिक विद्यालयलाई बढी दिएको छात्रवृत्ति बापतको २ लाख १२ हजार तत्काल असुल्न निर्देशन दिएको छ । महालेखाले पालिकाका चार विद्यालयका नाममा बढी निकासा भएको रकमसमेत तत्काल असुल्न निर्देशन दिएको छ । जसमा चार विद्यालयबाट करिब १ लाख ३० हजार असुल भनेको हो ।
पालिकाका जनप्रतिनिधि तथा कर्मचारीले मनपरी भ्रमण खर्च लिएको, नियमावलीमा उल्लेख भएअनुसार भ्रमण पश्चात् भ्रमण प्रतिवेदन नलिएको, सार्वजनिक खरिद नियमावली तर्जुमा नगरेको, सार्वजनिक खरिद ऐनले तोकेको सीमा भन्दा बढी रकमको खरिद गर्दा खरिदको गुरुयोजना र वार्षिक खरिद योजना तयार नगरेको लगायतका प्रश्न उठाएको छ ।

पालिकामा सञ्चालित विद्यालयको अनुगमन नगरेको, ठेक्का सम्झौता र कर भुक्तानीको जानकारी आन्तरिक राजश्व कार्यालयलाई नदिएको, कुनै बिलको भुक्तानी गर्दा रसिद तथा विल भर्पाईको सिलसिलेवार नम्बर राखी भुक्तानी दिनु पर्नेमा मनलाग्दी तरिकाले भुक्तानी गरेको तथा छाप, दस्तखत तथा प्रमाणित समेत नगरेको भन्दै महालेखाले प्रश्न उठाएको छ ।
गत वर्ष पालिकाको कुल आन्तरिक आयबाट ६ करोड ८२ लाख ८८ हजार, राजश्व बाँडफाँड र अनुदानबाट ६८ करोड २६ लाख ८१ हजारसमेत गरी ७५ करोड १० लाख आम्दानी भएको चालु तर्फ ४६ करोड र पुँजीगततर्फ ४२ करोड २० लाख र वित्तीय व्यवस्थातर्फ १७ कारेड ५२ लाख समेत गरी ८९ करोड ३५ लाख खर्च भएको छ । खर्चमध्ये पालिकाको आन्तरिक आर्यको हिस्सा ७ प्रतिशत हो । तर, पदाधिकारी सुविधामा मात्रै करोडौंको भन्दा बढी खर्च गरेको महालेखाले औल्याएको छ ।
यो पनि पढ्नुहोस्:
धादिङ्गको थाक्रे गाउँपालिकामा बेरुजुको चाङ्ग,जनताको आङ्गमा लागेन घाम
































