ओली सरकारले सत्ता संकट टार्न नागरिकता अध्यादेश ल्यायो, त्यो खारेज हुनुपर्छ : विप्लव

1.5K
shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारले जारी गरेको नागरिकता अध्यादेशबारे ध्यानाकर्षण भएको जनाएको छ।

महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै ओली सरकारले आफ्नो सत्ता संकट र कुर्सी जोगाउन सो अध्यादेश ल्याएको बताएका छन्।

यस्ता अध्यादेशबाट देशले ठूलो मूल्य चुकाउने भन्दै विप्लवले सो अध्यादेश खारेज गर्न सरकारलाई चेतावनी दिएका छन्।

‘नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिंदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुन्छ। त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्तासङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्र यस्ता निर्णय लिन्छ भने त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्ने हुन्छ,’ विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘अतः हाम्रो पार्टी त्यस्ता राष्ट्रहितविपरीत कार्य नहोऊन्, त्यस्ता निर्णय खारेज गरिऊन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ।’

civil hospital
Hams Hospitals