चण्डिका देवी मन्दिरको सङ्क्षिप्त परिचय
वि.सं.२०८२ वैशाख २९ सोमवार
shares
श्री चण्डिकादेवी मन्दिर धार्मिक सेवा संस्था
प्रकृति र संस्कृतिको धनी देश नेपाल सनातन हिन्दु धर्मको बाहुल्यता रहेको छ । नेपाल अधिराज्यको मध्य भाग गण्डकी प्रदेश, नवलपुर जिल्ला, गैंडाकोट नगरपालिका वार्ड नं. ४ ‘ क’ मा अवस्थित श्री चण्डिका देवी मन्दिर साविक लुम्बिनी अञ्चल, नवलपरासी जिल्ला, गैंडाकोट गा.वि.स. वडा नं. ४, रानीतालमा पर्ने पूर्व नारायणी नदी, पश्चिम जयश्री खोला तथा जङ्गलश्रृङ्खला, उत्तर महाभारत पहाडशृङ्खला, दक्षिण पूर्व पश्चिम राजमार्ग एवम् नारायणी नदीको सीमाभित्र यो मन्दिर अवस्थित रहेको छ । नेपालको प्रसिद्ध तीर्थस्थल देवघाट क्षेत्र विकास समिति अन्तर्गत रहेको यो पवित्रस्थल ऋषिहरुको तपोभूमि एवम् देवभूमि भएकोले यहाँ दिनानुदिन बढ्दै गएको धर्मानुरागी महानुभावहरुको बस्ती तथा विविध परम्परा, संस्कृतिको सङ्गमले गर्दा पनि अधिक महत्वपूर्ण मानिएको छ। धार्मिक, सास्कृतिक, ऐतिहासिक,पौराणिक एवम् सामाजिक विकासको लागि योगदान पुगोस् भनेर यस क्षेत्रका विकास प्रेमी, धर्मानुरागी, समाज प्रेमी महानुभावहरु भेला भयौँ ।
‘नमुना जागृति महिला समूह,’ समाजसेवी व्यक्तित्व टोलनाथ घिमिरे, स्वर्गीय मित्रलाल सापकोटा र स्वर्गीय भूवनकला गौडेलको नेतृत्वमा र स्थानीय वासिन्दाहरुको सहभागितामा वि. सं. २०५८ सालमा मन्दिरको शिलन्यास गरी मन्दिर निर्माण कार्य शुरु गरियो । मन्दिर निर्माणाधीन स्थल केही खाल्टो रहेकाले उक्त खाडल पुरी समतल बनाउने जिम्मा स्वर्गीय मित्रलाल सापकोटाले गर्नु भएको थियो । वि. सं. २०७३ सालमा श्री चण्डिका देवी मन्दिरको विधान बनाएर संस्था दर्ता गराई श्रद्धालु भक्तजनहरुको भक्तिपूर्ण सहयोग र सत्प्रेरणा प्राप्त यस क्षेत्रका धार्मिक धरोहरहरुलाई केन्द्र बिन्दुमा राखी श्री चण्डिका देवी मन्दिर धार्मिक सेवा संस्था गैंडाकोट-४, नामाकरण गरी श्री चण्डिका देवी मन्दिरको विधान २०७३ जारी गरियो । मन्दिरको विधान बनाई परासी, जिल्ला विकास समितिमा वि. सं. २०७३ साल श्रावण १० गते विधिवत रुपमा मन्दिर दर्ता गरियो । जसको नेतृत्व संस्थाको सह : सचिव , विधान मस्यौदा समितिको संयोजक , म लेखक स्वयम् ( भूमिका गैरे , तिमिल्सिना ) ले गरेकी थिए ।
तत्कालिन समय २०५८ सालतिर “नमुना जागृति महिला समूह” को नेतृत्व स्वर्गीय मेनुका देवी ढकालले गर्नु भएको थियो । मन्दिर निर्माण गर्नका लागि हामी दिदीबहिनीहरु अहोरात्र खटियौँ । कहिले दुई हात जोडेर हुन्छ, कि ? कहिले बिलप्याड लिदैँ सहयोग पनि माग्यौँ ? तिहारको अवसरमा देउसीभैलो खेलेर हुन्छ कि विवाहमा रत्यौली खेली बरबधुलाई आशीर्वाद दिदैँ केही आर्थिक रकम सङ्कलन गर्दै गयौँ । मासिक वचत पनि सङ्कलन गर्दै गयौँ । सबै मिलेर मन्दिरको निर्माण कार्य गर्यौ । शिलन्यास भई निर्माण भएको १६ वर्ष पछि मात्र मन्दिरले वैधानिकता पायो । महिला दिदीबहिनीको अगुवाईमा मन्दिरको निर्माण , संरक्षण , रेखदेख ,पूजाआजा, भजनकृतन हुँन थाल्यो । मन्दिर निर्माणका क्रममा दिदीबहिनीहरुको सक्रिय सहभागिता रहयो । खोलाबाट गिटी, बालुवा बोक्नेदेखि लिएर कामको बाडफाड गरी निर्माण कार्यमा सहयोगीको काम पनि गरियो । जानीनजानी सबैको राय सुझावलाई शिरोधार्य गर्दै हामी हातेमालो गर्दै अगाडि बढ्यौँ । हामीलाई पुरुषहरुको पनि सहयोग रहयो । मन्दिरको निर्माण कार्य समाप्त भएपछि हामीलाई फेरि अर्को चुनौती आइपर्यो । मन्दिरको नित्य पूजा सञ्चालन गर्न पुजारीको खाँचो पर्यो । वार्ड नं. ४ मा नै स्थायी बसोबास गर्दै आउनु भएको स्वर्गीय पण्डित रेवनाथ पौडेललाई मन्दिरको पुजारीको रुपमा खटायौँ । उहाँले मन्दिरमा बिहान बेलुकी पूजा गरे वापत हामी महिला दिदीबहिनीले वार्षिक ५ पाथीका दरले धान संकलन गरी पुजारीलाई सहयोग गर्यौ ।
वि. सं. २०७३ सालदेखि पुजारीलाई वार्षिक रकम रु १८०००/ अक्षरोपी ( अठार हजार ) दिने निर्णय गर्यौ र दियौँ पनि । मन्दिर पुजारीको प्रत्यक्ष योगदानको कदर गर्दै बेलाबेलामा सम्मान, कदर पत्र दियौँ । सर्वप्रथम मन्दिरमा अक्षयकोष स्थापनार्थ गर्नुपर्छ भनि रु १,००,०००/- ( अक्षरोपी एक लाख ) भ. न. पा. २ निवासी स्वर्गीय मदन प्रसाद सापकोटाले सहयोग गर्नुभयो ।
बिगत १६ वर्षसम्म महिलाको नेतृत्वमा संञ्चालन भइरहेको मन्दिरले मिति २०७४ सालको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट मन्दिरको कार्यसमितिमा पुरुषलाई पनि समायोजन गर्यौ । २०७८ साल आश्विन २३ गतेको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशन पश्चात् संस्थापक सदस्यहरु पनि पूर्ण रुपमा बाहिरियौँ । हालसम्म चण्डिका देवी मन्दिरको आजीवन सदस्य सङ्ख्या जम्मा २०० जना रहनु भएको छ ।
मौलाकालिका मन्दिरको फेदीमा अवस्थित श्री चण्डिका देवीको मन्दिरमा सबैको ध्यान पुगोस् । यहाँको भौगोलिक भूबनोटले पिछडिएको बस्ती, यहाँका बासिन्दाहरुको मात्र साथ र समर्थनले मन्दिरले गति लिन सकेको छैन । यहाँ सम्बन्धित निकायको पनि ध्यानाकर्षण होस् । निर्माण भए पश्चात पनि यति लामो समयसम्म पनि मन्दिर अवस्था उस्तै छ । पिछडिएको दलित बस्तीमा भएर होला । यो मन्दिर त केवल संघ , प्रदेश हुँदै स्थानीय तहसम्म चुनावको बेलामा नेताहरुका लागि मात्र खुट्किला चढ्ने गतिलो माध्यम बनेको छ । बस्तीको प्रकृति हेरेर नेताहरुले गहकिला भाषण गर्ने ठाउँ र सोझा जनताहरुको गड्गडाहट ताली मात्र गुञ्जिने गर्छ । चुनावको बेलामा मात्र नेताहरुको ओइरो लाग्ने ठाउँ नबनोस् । विकासका विभिन्न प्रलोभन देखाउने तर यथार्थमा मन्दिर हाल जहाँको त्यहीँ रहेको छ । सच्चा , इमान्दार व्यक्तिको दिव्यदृष्टि पुगोस् । मन्दिरको जिणोद्वार होस् । मन्दिरको दक्षिणतर्फ सत्तल बनाउने लक्ष्य रहेको छ । उक्त लक्ष्य पूरा होस् ।
चण्डिका देवी मन्दिरको दक्षिण/ पश्चिमतर्फ भगवान गणेशको मन्दिर रहेको छ भने अग्र भागमा शिव पञ्चायन मन्दिर रहेको छ । मन्दिरमै श्रीकृष्ण जन्माष्टमी , रामनवमी पूजा , चण्डीपूर्णिमामा विशेष चण्डीपाठ, रुद्री , होम , यज्ञ – यज्ञादी आदि लगाउने गरिन्छ । विशेषत् वडादशैंको अवसरमा जमरा राखी विधिवत नवदुर्गाको पूजा गरिन्छ । साउने सोमबार भगवान शिवलाई जल अर्पण गरी पूजा गरिन्छ । मन्दिरमा विवाह , व्रतवन्ध, ग्रहशान्ती जस्ता शुभकार्यहरु पनि गरिदै आएको छ । एकादशीमा मन्दिरमा भजनकृतन हुने गरेको छ । आदिशक्तिको रुपमा माता चण्डिकाको शुद्ध मनले दर्शन गरे विग्रेको काम बन्ने , इच्छा पूरा भई कोही खाली हात नजाने धार्मिक विश्वास रहेको छ । वेद पुराणमा पनि चण्डिका माताको महिमा बताइएको छ । बौद्ध धर्मका अनुयायीहरुले पनि माता चण्डिकाको दर्शन गरेको हुनाले गुरुङ समुदायले मन्दिरबाट केही माथि उत्तर भागमा चण्डी देउरालीको थान बनाई पूजा गरेका छन् । धार्मिक आस्था बोकेको मन्दिरको संरक्षण र संवर्धन हुँनु आवश्यक छ । गैंडाकोटको पहिचान दिलाउँने यस्ता धार्मिक आस्था जगाउँने मन्दिरको जोगेर्ना गर्नु हामी सबैको दायित्व हो ।
आउँने भावी पिँढीहरुलाई पनि यस्ता धार्मिक महत्व बोकेका स्थानहरुको महत्व बुझाई आध्यात्मिक मार्ग अवलम्बन गराउँनु हामी सबैको कर्तव्य हो । नेपालका धर्म , पहिचान, कला, संस्कृति , संस्कार, परम्परालाई एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण गर्न सक्नुपर्छ । यस्ता धार्मिक र पौराणिक महत्व बोकेका ठाउँसँग नजिकैबाट परिचित हुँदा मानिसलाई सभ्य, अनुशासित र मर्यादित बन्न सिकाउँछ । यस्ता मठमन्दिरहरुको हामी सबै मिलि जोगेर्ना गर्नु आवश्यक छ । धार्मिक आस्थाकि धरोहर माता चण्डिकाले हामी सबैको कल्याण गरून् ।
भूमिका गैरे, तिमिल्सिना
गैंडाकोट :४, नवलपुर




























