नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराउँदै सिरिजको शीर्ष स्थानमा
वि.सं.२०८२ असार ५ बिहीवार
shares
काठमाडौँ । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत नेपालले नेदरल्याण्ड्समाथि रोमाञ्चक जित हात पारेको छ । बिहीबार सम्पन्न खेलमा नेपालले ६ विकेटको शानदार जितसहित सिरिजको शीर्ष स्थानमा उक्लिएको हो ।
नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले आक्रामक पारी खेल्दै ५१ बलमा ६ चौकासहित ६५ रन बनाए । उनले आफ्नो टी–२० आई करियरको ११औं अर्धशतक पनि पूरा गरे । भुर्तेलले भीम सार्की, रोहित पौडेल र आरिफ शेखसँग महत्वपूर्ण साझेदारी गरेका थिए ।
टी–२० आई डेब्यु गरेका भीम सार्कीले १६ बलमा २७ रन बनाए । कप्तान रोहित ५ रनमै आउट भए भने आरिफ शेखले २३ बलमा ३९ रनको योगदान दिए । अन्त्यतिर दीपेन्द्रसिंह ऐरी (१६*) र लोकेस बम (१२*) ले सहज जीत सुनिश्चित गरे । लोकेसले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । ओपनर माइकल लेविटले ५३ बलमा ८६ रनको धमाकेदार अर्धशतक बनाएका थिए । लेविटले शतक बनाउन १४ रनले चुक्दा करण केसीको बलमा आउट हुन पुगे ।
नेपालका बलरहरू मध्ये करण केसीले २ विकेट लिए भने सन्दीप लामिछाने, रुपेस सिंह, ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए ।
यो जितसँगै नेपालले ३ खेलमा २ जित र १ हारसहित ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । समान अंक भए पनि रनरेटका आधारमा नेदरल्याण्ड्स दोस्रो स्थानमा छ । स्कटल्याण्ड तेस्रो स्थानमा रहेको छ ।
सिरिजको अन्तिम खेलमा अब नेपालले शुक्रबार स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । डबल राउण्ड रोबिन लिगको आधारमा शीर्ष स्थानमा रहने टोली नै च्याम्पियन बन्नेछ ।
सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग सुपर ओभरमा पराजित भएको थियो । तर दोस्रो भेटमा बदला लिँदै नेपालले सशक्त पुनरागमन गरेको छ ।































