सधैं मालदार कार्यालय बसेका चिलुवाललाई राजस्व अनुसन्धान कार्यालय जिम्मा
वि.सं.२०८२ साउन १४ बुधवार
shares
काठमाडौँ । सोर्सफोर्स भयो भने कर्मचारीले मालदार अड्डामा पटक पटक हालिमुहाली गर्न पाउने चलन जस्तै बनेको छ । ‘कसैलाई खातैखात कसैलाई पुर्पुरोमा हात’ भन्ने उखान नेपाली कर्मचारीवृत्तमा खुवै चर्चामा छ ।
यस्ता कर्मचारीहरू सिंहदरवारमा धेरै पाइन्छन् । कहिल्यै दुर्गम नपुगेका अनि सिंहदरवारका घेराबाट कहिल्यै बाहिर नगएका कर्मचारीको सङ्ख्या नेपालको निजामती सेवामा धेरै छ । उनीहरु स्वार्थ समुह रिझाएर साम,दाम,दण्ड भेद प्रयोग गर्दै मस्ती मारिरहेका हुन्छन् । जुनसुकै सरकार आएपनि उनीहरूकै हालिमुहाली रहेको हुन्छ र त्यस्तै एक कर्मचारी मध्येका हुन् सहसचिव तीर्थ चिलुवाल । उनले बेकाम भन्ने गरिएको कार्यालयमा कहिल्यै बस्नु परेको छैन । सानो पदमा हुँदा आफ्नै मर्जीले पढ्नका लागि सजिलो कार्यालय खोज्नु बाहेक चिलुवाल सधैँ शक्ति केन्द्रको आसपास र मस्ती मार्ने अड्डामा पुगेका अधिकारी हुन् । उनको कर्मचारी व्यक्तिगत सूचना प्रणाली हेर्दा पनि सो कुरा पुष्टि हुन्छ ।
उद्योग अन्तर्गत आकर्षक अड्डमा उनैले मस्ती मारेका छन् । बाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण विभागमा बसेर आफ्नै राम्रो संरक्षण गरेका अधिकारी हुन् उनी । विभाग,अख्तियार , गृहअन्तर्गतको सवैभन्दा आकर्षक जिल्ला मकवानपुरमा प्रमुख जिल्ला अधिकारी पनि बने । उनले आन्तरिक राजस्व विभागमा पनि मालपानी काढेको चर्चा छ ।
बिभिन्न मालदार अड्डामा बसेर अकुत आर्जन गरेको कर्मचारीको पहिचान उनको छ । कर्मचारी वृत्तमा अकुत कमाएपछि अख्तियारमा काम गर्न जान्छन् भन्ने चर्चा हुन्छ । सो कार्यालयमा पनि उनी पुगेका छन् । भन्सार र राजश्वका सदाबहार हाकिमहरू मध्ये चिलुवालको नाम अग्रपङ्क्तिमा आउँछ ।
अर्थ मन्त्रालयमा कार्यरत रहँदा उपसचिव चिलुवालले राजस्व अनुसन्धान विभागमा मस्ती मारेका थिए । एक करोड भन्दा माथिका डिलिङमा आफै सामेल हुने गरेको उनका समकक्षीहरू बताउँछन् । निर्मलहरि अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा उनको आडमा धन कमाउनेमा उपसचिवको अग्रपङ्तिमा चिलुवालको नाम आउँछ ।
त्यति वेला निर्मलहरि अधिकारीका बिरुद्ध अख्तियारमा छानबिन भइरहेको थियो । सो बेला तत्कालिन प्रधानमन्त्री केपी ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईमार्फत् अख्तियार प्रमुख नवीन घिमिरेलाई दबाब दिएर अनुसन्धान प्रभावित पारेको चर्चा पनि हुने गरेको थियो । उनै चिलुवाल अहिले प्रधानमन्त्री कार्यालय मातहत आएका छन् । राजस्व अनुसन्धान विभागको महानिर्देशक हुने योजनामा उनी त्यहाँ पुगेको उनको एक आफन्तले बताए ।
भिजिट भिसा दुरुपयोगका विषयमा सरकारले गठन गरेको शंकरदाश बैरागी नेतृत्वको समितिमा पनि चिलुवालको नाम छ । तर, समितिको काम देखिएको छैन ।




























