नेपाली काङ्ग्रेसमा विश्वेश्वरप्रसाद  कोइरालाको योगदान

4.1K
shares

 

नेपाली काङ्ग्रेसका संस्थापक, जननेता अर्थात् नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला हुन् । उनको जन्म वि.सं. १९७१ साल भाद्र २४ गते तद्‌नुसार १४ अगस्ट १९१४  मा भारतको वनारसमा पिता कृष्णप्रसाद  कोइराला र माता दिव्यादेवी कोइरालाका माहिला छोराका रूपमा जन्म भएको थियो ।

 

विश्वेश्वरप्रसाद कोइरालाका पूर्खा पश्चिम नेपालको लमजुङ, दुराडाँडाको दक्षिणतर्फ कोइरालाका रूखहरू प्रशस्त भएको फाँटबाट बसाइँ सरेर पूर्व २ नं. को सिन्धुलीको दुम्जामा गएका थिए । कोइरालाको परिवार पहाडी  ब्राह्मण  जातिको सिन्धुली जिल्लाको दु‌म्जा गाउँका मूल बासिन्दा थिए। उनका पिता कृष्णप्रसाद कोइराला सिन्धुली जिल्लाको दुम्जा  भन्ने ठाउँबाट मोरङ‌ जिल्लाको विराटनगरमा बसाइँ  सरेका थिए ।

 

चन्द्र शमशेरको शासनकालमा उनका पिता कृष्णप्रसाद कोइरालाले तराईको चन्द्रगञ्ज र इलामको भन्सार ठेक्कामा लिएका थिए । हाल सिन्धुली जिल्लाको दुम्जामा सबैभन्दा अग्लो घर बनाएको भन्दै उनका पितालाई सिन्धुली जिल्लाबाट निष्कासित गरिएको थियो । त्यसपछि मोरङ जिल्लामा बसाइँ  सारेका थिए। उनका पिताले तराईमा विराटनगर शहर स्थापना गर्न मद्दत  गरेका थिए । जहाँ उनले भन्सार चौकीका शृखला चलाएर जिविकोपार्जन गरेका थिए । उनका पिताले विद्यालय, अस्पताल खोले र महिला उत्थानको प्रचार पनि गरेका थिए।

 

कृष्णप्रसादले  केटीहरुले साइकल र घोडा चढ्‌नुका साथै खन्जर र बन्दुकको प्रयोग गर्न सिक्नुपर्छ भन्नेमा विश्वास राख्थे। उनले भनेका थिए, “महिला र पुरुष एक रथका दुई पाङ्‌ग्रा हुन् र रथ चलाउन दुबै पाङ्‌ग्रा चाहिन्छ।” यस्ता विचार पिता कृष्णप्रसादमा भएकाले नेपालका राणाहरु रिसाएका थिए । जसका कारण ब्रिटिस भारतमा निर्वासित जीवन बिताउनु परेको थियो ।

राणाहरुले उनका पिताको भारतीय स्वतन्त्र सङ्‌ग्रामको नेताहरूसँग सम्बन्ध रहेको भन्दै उनको सरकारी जागिर सुब्बा पद खोसेर देश निकाला गरेकाले भारतको वनारसमा गएर बसेका थिए। कोइरालाको वंशका ४५ सदस्य भारतको वनारसमा निर्वासित जीवन बिताउन बाध्य भएका थिए। भारतमा कसैसँग जागिर न‌भएकाले आर्थिक स्थिति  निकै कमजोर भएको थियो ।

 

वनारसमा नै रहदा  विश्वेश्वरप्रसाद कोइरालाको जन्म भएको थियो । उनको न्वारनको नाम  चुडामणि थियो तर वनारसमा विश्वनाथ भगवानको प्रसाद ठानी उनका पिताले उनको नाम विश्वेश्वरप्रसाद राखी दिएका थिए।

 

विश्वेश्वर‌प्र‌सादको वाल्यावस्था निकै सङ्‌घर्षपूर्ण  रह्यो । वनारस शहर महङ्‌गो भएका कारण उनीहरू बसाई सरी विहारको ‘सहरसा’ जिल्लामा गएका थिए । उनले थोत्रा कपडा र फाटेका चप्पल लगाएर विद्यालयमा पुस्तकहरू किन्नका लागि पत्रिका बेच्ने काम गरेका थिए ।

 

विश्वेश्वरप्रसाद कोइराला सानैदेखि  तीक्ष्ण बुद्धिका थिए । उनका पिता कृष्णप्रसादको राजनैतिक व्यक्तित्वहरूसँगको सम्बन्धले गर्दा पनि उनमा सानै उमेरदेखि राजनीतिको गहिरो छाप परेको थियो । दोस्रो विश्वयुद्ध जर्मनमा हिटलरको उदय र पतन पनि सोही कालखण्डमा भएको इतिहास पाइन्छ ।

 

कोइरालाले घरमै बसेर आफ्ना पिता कृष्णप्रसादबाट अनौपचारिक शिक्षा प्राप्त गरेका थिए । यिनले वि. सं. १९८७ मा वनारसबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए । उनी नेपाली, हिन्दी,अङ्ग्रेजी, संस्कृत, ऊर्दू, नेवारी, मैथली आदि भाषाका ज्ञाता थिए ।

चौध वर्षसम्म उनी पिताले स्थापना गरेको विद्यालयमा अध्ययन गरेका थिए। त्यसपछि उनी  हरिशचन्द्र विद्यालयमा भर्ना भए । उनले ९ कक्षा देखि लेख्न थालेका थिए । उनका लेखहरू भारतीय पत्रपत्रिकामा प्रकाशित भए। युवा कोइराला विद्रोही स्वभावका भएकाले उनको नेतृत्व गर्ने क्षमता, निडरताले गर्दा माहात्मा गान्धी पनि प्रभावित भएका थिए। उनी ९ कक्षाका विद्यार्थी हुदा नै मोतिहारी षड्यन्त्र मुद्दामा पक्राउ परेका थिए । दरभङ्‌गाको मजदुर हड्‌तालमा सक्रिय भाग लिएको भन्दै उनी पुनः पकाउ परेका थिए। उनी बेतियामा ४ महिना जेल परे । यसरी उनले पटक- पटक जेल जीवन बिताएका थिए ।

 

वि.सं.१९९९ सालमा काङ्ग्रेस पार्टी विहार शाखा भारतको सचिव पदमा नियुक्त भए र त्यहीँ बेला ‘भारत छोडो, आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकाले पटनाबाट गिरफ्तारीमा परेका थिए ।

 

वि. सं. १९८९  मा उनले उच्च माध्यमिक शिक्षा वनारसमा पूरा गरेका थिए। त्यसपछि वनारस हिन्दु विश्वविद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषय‌मा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरेका थिए।

 

उनले वि.सं. १९९३ सालमा झापाकी सुशिलासँग विवाह गरी  वैवाहिक बन्धनमा बाँधिएका  थिए । उनले मातापिताको उपस्थिति बिना विवाह गरे । उनका तीन छोरा र दुई छोरी रहेका छन् ।

 

उनले  वि. सं. १९९२ सालमा शारदा पत्रिकामा ‘चन्द्रवदन’ नामक  कथा  प्रकाशित गरी नेपाली साहित्य जगतमा पाइला चालेका थिए । दार्जिलिङमा ब‌सी कानून व्यवसायमा लामो समयसम्म काम गरेका थिए । नेपाली भाषा साहित्यमा उनले मनोवैज्ञानिक प्रयोग गरेको पाइन्छ ।

प्रसिद्ध राजनीतिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवम् प्रयोक्ता विश्वेश्वरप्रसाद कोइराला नेपाली वाङ्मयमा नयाँ चिन्तन, आयाम, परम्परा र शैली भित्र्याएर सदाका लागि अमर बनेका छन् । उनले साहित्य क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका एक दर्जन कृति प्रकाशित भएका छन् ।

जसमा उनले लेखेका उपन्यासहरूमा

तीन घुम्ती

सुम्निमा

नरेन्द्र‌दाइ

मोदि आइन

हिटलर र यहूदी

बाबु, आमा र छोरा

 

कथामा

दोषी चस्मा

श्वेत‌भैरवी

 

जीवनीमा

जेल जर्नल

आत्मवृत्तान्त  रहेका छन् ।

 

भारतीय स्वतन्त्रताको प्रभावमा भारत‌मा बीपी कोइरालाको प्रयासमा नेपाली राष्ट्रिय काङ्ग्रेसको गठन भएको थियो। नेपाली काङ्ग्रेसलाई वि.सं. २०१२ सालमा बीरगन्जमा भएको महाधिवेशनबाट समाजवादी पार्टीको रुपमा स्थापित गर्न बीपी सफल भएका थिए।

उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली काङ्ग्रेसको नेतृत्व गरेका थिए । वि सं. २०१५ सालको आमनिर्वाचनबाट नेपाली काङ्ग्रेस विजयी भएको थियो । त्यसबेला नेपाली काङ्ग्रेसले कुल १०९ मध्ये ७४ सिट प्राप्त गरेको थियो । त्यसबेला कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् २२ औँ प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्रीत्वकालमा उनले भूमिसुधार कार्यक्रम लागू गरेका थिए ।

प्रधानमन्त्री भएका बीपी जम्मा १८ महिना मात्र सरकारमा रहेका थिए ।  राजा महेन्द्रको आदेशमा सेनाले वि. सं. २०१७ साल पुष १ गते हिरासतमा लिई राजा महेन्द्रबाट बहुदलीय प्रजातन्त्रीक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाएका थिए । त्यसपछि बीपी लगायतका अन्य नेताहरूलाई पनि थूने । जेल जीवन बिताउदा बीपीले साहित्यमा अझ तीव्र कलम चलाएका थिए । त्यसको ८ वर्षपछि वि. सं. २०२५ साल कार्तिक १४ गते रिहाइ भएपश्चात बीपी भारतमा निर्वासित जीवन बिताउन बाध्य भएका थिए । त्यसपछि बीपी वि.सं. २०३३ साल पौष १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए।

वि. सं.२०३४ सालमा राजद्रोह र देशद्रोह सम्बन्धी कोइरालालाई ७ वटा मुद्दा लाग्यो र उक्त मुद्दाका सम्बन्धमा सिंहदरबारमा बयानका लागि स्वयम् उपस्थित रही ७ वटै मुद्दा जितेका थिए । वि.सं.२०३६ सालको आन्दोलनका बेला उनलाई सरकारले आफ्नै निवासमा नजर बन्द गरेर राखेको थियो ।

 

प्रजातन्त्र स्थापना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरेका उनी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली, हिन्दी भाषाका प्रसिद्ध साहित्यकार थिए ।

 

वि. सं. २००३ सालमा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई नेपाल सरकारले  एक वर्ष कैद गरेको थियो ।  उनले वि.सं. २००७ सालमा नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक सङ्‌घर्ष शुरु गरे, सोही वर्ष राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भएको थियो ।

 

तत्कालीन समयमा देशमा रहेको जहानियाँ वा एकतन्त्रीय राणा शासन विरुद्ध शुरू भएको जनताको क्रान्तिमा नेपालको पहिलो राजनीतिक दल नेपाल प्रजा परिषद र नेपाली काङ्ग्रेस पार्टीले भाग लिएका थिए। जसको  नेतृत्व बीपी कोइराला स्वयमले गरी नेपालको १०४ वर्षीय जहानीयाँ राणा शासनलाई परास्त गर्न सफल भएका थिए।

गिर्दो स्वास्थ्य, क्यान्सर रोगका कारण भारतको मुम्बईमा उपचार शुरु गरेका कोइरालालाई थप उपचारका लागि अमेरिका वा युरोप पठाउनुपर्ने चिकित्सकको सल्लाह थियो, तर नेपाल सरकारले भिसा दिएन । पछि २०३६ सालमा भारत सरकारले मानवताको नाताले दिएको भिसामार्फत बीपी थप उपचारका लागि युरोप प्रस्थान गरेका थिए ।

 

उनको स्मृतिमा निम्न संस्थाहरू स्थापना भएका छन्‌ । नेपाल सरकारले उनको सम्मान स्वरूप केही संस्थाहरू स्थापना गरेको छ ।

 

वि.सं. २०४८ सालमा “बीपी कोइराला नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान” स्थापना गरेको छ

वि.सं. २०४८ सालमा “बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्‌‌ग्रालय विकास समिति”को स्थापना गरेको छ।

वि.सं. २०५१ पुष १४ मा बीपी स्मृतिमा “बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल” चितवन भरतपुरमा स्थापना गरेको छ

वि. सं. २०५७ सालमा “बीपी कोइराला स्मृति ट्रस्ट” को स्थापना गरेको छ ।

उनको निस्वार्थ योगदानको स्मरण गर्दै नेपाल लगाएत बाहिरी देशहरुमा पनि बेला-बेलामा विभिन्न कार्यक्रम गरी सम्मान व्यक्त गरिएको पाइन्छ ।

 

कोइरालाका केही प्रेरक भनाइरूमा

जीवन आफैंमा जोखिमपूर्ण यात्रा हो ।

समाजको कुनै वर्गले अन्यायको अनुभव गरेसम्म राष्ट्रको जग मजबुत हुदैन ।

जीवनको सार्थकता कुनै उद्देश्यका लागि प्रतिबद्धतामा निर्भर गर्दछ । मानिस आफ्नो सङ्कल्प र आस्थाले यथार्थमा मानिस हुन्छ ।

राष्ट्रियता र प्रजातन्त्र अभिभाज्य छन्।

प्रजातान्त्रिक समाजवादीहरूले अहिले नेपालमा प्रजातन्त्रको निम्ति जुन सङ्घर्ष छ, त्यो सबैभन्दा महत्त्वपूर्ण सङ्घर्ष हो ।

प्रजातन्त्र बिना देश रहदैन।

मेरो जीवन राजनीतिक जीवन खुलेको पाना हो।

साहित्यमा सम्राट पनि नाङ्‌गो हुन्छ।

साहित्य सभ्यताको प्रतीक हो।

संगीत र भावको सम्मिश्रणबाट जन्मेको उच्चतम दर्शन नै साहित्य हो ।

कुनै पनि कला मर्यादित हुदैन। आफ्नो मर्यादा यसले आफैं सिर्जना गर्छ ।

साहित्य जीवन जस्तै व्यापक छ । यथार्थमा समग्र जीवनको प्रतिबिम्ब नै साहित्य हो ।

 

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइराला घाटीको क्यान्सर रोगका कारण  वि. सं. २०३९ साल साउन ६ गते निधन भएको थियो। उनको अन्तेष्टिमा झण्डै ५० लाख मानिसहरू उपस्थित रहेका थियो ।

 

विश्वेश्वरप्रसाद कोइराला राजनीतिक र साहित्यिक आकाशका जाज्वल्यमान् तारा हुन् । उनका विचार, सिद्धान्तलाई आत्मसात् गर्न सकेमा नेपाली काङ्ग्रेस सदैव एक मजबुत खम्बा सरी अटल रहन्छ ।  उनको निधनले सिङ्गो देश, सिङ्गो पार्टी  र समाजलाई नै अपूर्णनीय क्षति पुगेको छ  । उनको भौतिक शरीर हामी माझ नरहे पनि उनका विचार, सिद्धान्त, चिन्तन, सदैव अमर रहिरहने छन् ।

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals