राजस्व अनुसन्धान विभागका अधिकारीले ६ महानिर्देशक फेरे, जागिरको दश वर्षमै करोडौँको बङ्गला
वि.सं.२०८२ भदौ ८ आइतवार
shares
काठमाडौँ ।भन्सार तथा राजस्वको क्षेत्रमा लामो समयदेखि उही कर्मचारीहरू जरा गाडेर बसेको आरोप जहिले पनि लाग्छ । केही कर्मचारी भने कहिल्यै सरुवा नभई निरन्तर प्रभावशाली भूमिकामा रहेकाले उनीहरूको क्रियाकलापमाथि गम्भीर शङ्का उठेको छ ।
उठौती मिलाउने, व्यवसायीसँग ठूलो रकम असुल्ने र व्यापारीलाई दबाब दिने कार्यमा संलग्न मानिएका ती कर्मचारीहरू जुनसुकै महानिर्देशकका ‘प्यारा’ बनेर सुरक्षित बसिरहेका छन् ।
राजस्व अनुसन्धान विभागमा ६ वटा महानिर्देशक परिवर्तन हुँदा पनि कतिपय कर्मचारीहरू त्यही छन् । उनीलाई हरेक महानिर्देशकले व्यवसायीसँग उठौती गर्ने विश्वासिलो पात्रको रुपमा परिचालन गरिएको छ । यसरी लामो समय बस्ने एक कर्मचारी हुन्, हालका निर्देशक नवराज अधिकारी । अहिलेका महानिर्देशक तीर्थराज चिलुवालले पनि उनै अधिकारीलाई घुमुवाको रुपमा खटाउन थालेको चर्चा छ ।
साविक गण्डकी अञ्चलमा जन्मिएका अधिकारीको कर्मचारी सङ्केत नम्बर २०५०९३ हो । सुरुमा जिल्ला अदालतका डिठ्ठा रहेका अधिकारीले अर्थमन्त्रालय अन्तर्गत गएपछि कहिल्यै कमजोर अड्डामा बस्नु परेको छैन । २०७० चैत्र ५ गतेदेखि सरकारी सेवामा प्रवेश गरेका अधिकारीले २०७९ साउन १७ गतेदेखि हालसम्म राजस्व अनुसन्धान विभागमा राज गरिरहेका छन् । निर्देशक पदमा रहेका अधिकारीको कार्यकालमा ६ जना महानिर्देशक परिवर्तन भइसकेका छन् । तर, उनलाई कसैले सरुवा गरेको छैन । अझ केही सयम अघि काठमाडौँको कोटेश्वरमा करोडौँको बङ्गला खरिद गरेपछि उनका आफन्तहरू पनि जिभ्रो टोक्न थालेका छन् ।
चीनबाट सामान ल्याउने व्यवसायीको हरेक कमजोरीका बारेमा जानकार अधिकारीले केही पत्रकारलाई पैसा दिएर पालेको बताउने गरेका छन् । हरेक व्यवसायीको घर र अफिससमेत थाहा भएका अधिकारी मासिकरुपमा व्यवसायीबाट असुल्नेमा पर्दछन् । त्यो रकम कार्यालय प्रमुखसम्ममा भाग लैजानु पर्ने उनको काम हो । केही व्यवसायीलाई उनी प्रधानमन्त्री कार्यालयसम्म पैसा लैजानु पर्ने बताउने गरेका छन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा २०७१ सालमा उनले काम गरेका थिए । ०७४ असोजमा राजस्व अनुसन्धानको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा बसेर पनि अकुत आर्जन गर्नेमा उनको नाम छ । त्यसोत ०७६ कात्तिकमा न्युरोडको आन्तरिक राजस्व कार्यालयमा बसेर चीनबाट सामान ल्याउने हरेक व्यवसायीको कुण्डली उनले उतारेका थिए । अझ आन्तरिक राजस्व विभागको लाजिम्पाट कार्यालयमा पनि उनले व्यवसायीसँग राम्रै साँठगाँठ गरेको चर्चा छ । २०७९ असार ८ गते संघीय मामिला मन्त्रालयमा पुगेका अधिकारी एक महिनापछि नै प्रधानमन्त्री कार्यालय गएर राजस्व अनुसन्धान विभाग पुगेका कर्मचारी हुन् । २०७९ साउन १७ गते आन्तरिक राजस्व कार्यालय गएका अधिकारीले तीन वर्ष बितिसक्दा पनि अन्य ठाउँ जानु परेको छैन । उनलाई त्यहीँ चाँदी कटाई भएको छ ।
पैसा भए जस्तो काम पनि फत्ते गर्ने भन्दै उनले व्यवसायीको कालो काममा साथ दिएको थिए । भर्खरै भेप काण्डमा मुद्धा दायर भएका शिल्क कम्पनीका मालिक रमेश शेर्पासँग बिशेष साँठगाँठ भएका अधिकारीलाई भित्रको सूचना शेर्पालाई दिएको आरोप पनि छ । अकुत आम्दानीको स्रोत आफूले लोकसेवा पढाएको देखाउने अधिकारीले भ्रष्टाचारमा डुवेका सहसचिव चुडामणि शर्माकै शैलीमा आर्जन गरेको उनलाई जान्नेहरु बताउँछन्।
यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:
सधैं मालदार कार्यालय बसेका चिलुवाललाई राजस्व अनुसन्धान कार्यालय जिम्मा




























