नेपालको संघीय शासन प्रणालीमा शक्ति बाँडफाँड र विवादका परिप्रेक्ष्यहरू
वि.सं.२०८२ भदौ ११ बुधवार
shares
नेपालको संविधान २०७२ ले मुलुकलाई संघीय शासन प्रणालीमा रूपान्तरण गर्दै संघ, प्रदेश र स्थानीय गरी ३ तहको सरकारको व्यवस्था गरेको छ। संविधानको धारा ५६ र ५७ ले राज्यको स्वरूप र शक्तिको बाँडफाँड स्पष्ट पारेको छ भने अनुसूची ५, ६, ७, ८ र ९ मार्फत संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको क्षेत्र तोकिएको छ। एकल अधिकारका विषयमा सम्बन्धित तहले स्वायत्त शासन गर्ने व्यवस्था छ भने साझा अधिकारका विषयमा सहकार्य, समन्वय र सहअस्तित्वको आधारमा शासन सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।
संघीय संरचना लोकतान्त्रिक अभ्यासलाई गहिरो बनाउन, नागरिकको पहुँचलाई सरकारसम्म पुर्याउन र स्थानीय आवश्यकतालाई सम्बोधन गर्न महत्त्वपूर्ण मानिन्छ। तर यसको कार्यान्वयन प्रक्रियामा शक्ति बाँडफाँड र अन्तरसरकारी सम्बन्धका विषयमा विभिन्न विवादहरू देखा पर्नु स्वाभाविक छ।
संविधानले प्रत्येक तहका अधिकार स्पष्ट रूपमा तोके पनि व्यावहारिक कार्यान्वयनमा अस्पष्टता र दोहोरोपन कायम छ। उदाहरणका लागि, शिक्षा, स्वास्थ्य, कर संकलन, प्राकृतिक स्रोतको उपयोग र स्थानीय विकास जस्ता क्षेत्रमा संघीय, प्रादेशिक र स्थानीय तहबीच अधिकारको सीमारेखा प्रस्ट नहुँदा विवाद उत्पन्न भएको छ। संघीय सरकारले आफ्नो प्राथमिकता र अधिकारलाई व्यापक रूपमा प्रयोग गर्ने प्रवृत्तिले प्रदेश र स्थानीय तहको स्वायत्ततामा प्रश्न उठाउँछ।
प्रदेश सरकारहरू आफ्ना कानुनी संरचना र संस्थागत क्षमता अभावमा कमजोर देखिएका छन्। यसले संघीय र स्थानीय तहबीच सीधा सम्बन्ध बलियो हुँदा मध्यम तहका रूपमा प्रदेशहरू उपेक्षित हुने अवस्था निम्त्याएको छ। यसले शक्ति सन्तुलन र संघीय संरचनाको सार्थकता कमजोर बनाउँछ। साथै, कर प्रणालीमा दोहोरो कर लगाउने प्रवृत्ति, स्थानीय स्रोतसाधनको दुरुपयोग र संघीय सरकारले अनुदान वितरणमा गरेको राजनीतिक हस्तक्षेपले विवादलाई अझ गहिरो बनाएको छ।
यसका अतिरिक्त, कर्मचारी व्यवस्थापन र प्रशासनिक समन्वय पनि विवादका मुख्य क्षेत्र हुन्। संघीय सरकारको नियन्त्रणमा रहेका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाइए पनि तिनको जवाफदेहिताको संरचना अस्पष्ट छ। यसले सेवा प्रवाहमा अव्यवस्था, ढिलासुस्ती र असन्तुष्टि बढाएको छ।
तर, यी विवादहरूलाई समाधान गर्न संवाद र संवैधानिक स्पष्टता अपरिहार्य देखिन्छ। संघीयता सत्ता विकेन्द्रीकरणको संरचना होइन; यो सहकार्य, आपसी विश्वास र साझा उद्देश्यको आधारमा टेकेको प्रणाली हो। त्यसैले, अन्तरसरकारी सम्बन्धलाई संस्थागत गर्न, अधिकार र जिम्मेवारीको स्पष्ट सीमांकन गर्न, तथा प्रत्येक तहबीच समन्वयकारी संयन्त्रलाई मजबुत बनाउन आवश्यक छ।
नेपालको संघीय शासन प्रणाली अझै अभ्यास र परिपक्वताको चरणमै छ। यसले देखाएका विवादहरूलाई अवसरका रूपमा उपयोग गर्दै शक्ति बाँडफाँडलाई सन्तुलित, स्पष्ट र सहकार्यपूर्ण बनाउन सके मात्र संघीयताको उद्देश्य सफल हुनेछ। यसरी मात्र संघीय शासन प्रणालीले लोकतन्त्रलाई गहिरो पार्दै, जनताको अपेक्षा र विश्वासलाई पूरा गर्न सक्नेछ।
राजनीतिक अभ्यासमा संघीय संसद्, प्रदेश सभा र स्थानीय तहका प्रतिनिधिहरू आवधिक निर्वाचनमार्फत निर्वाचित हुन्छन्। आर्थिक क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहले आफ्ना अधिकारअनुसार कर संकलन, बजेट निर्माण, तथा राजस्व व्यवस्थापन गर्न सक्छन्। मूल्य अभिवृद्धि कर, अन्तः शुल्क तथा प्राकृतिक स्रोतको रोयल्टीलाई संघीय विभाज्य कोषमार्फत न्यायोचित बाँडफाँड गर्ने प्रावधान छ। साथै, समानिकीकरण, ससर्त र विशेष अनुदानमार्फत वित्तीय हस्तान्तरण गरिन्छ।
प्रशासनिक अभ्यासका लागि संघ, प्रदेश र स्थानीय तहमा छुट्टाछुट्टै सेवा संरचना गठन गर्ने संवैधानिक व्यवस्था छ। अन्य मुलुकहरूको सफल अभ्यास (भारत, अमेरिका, स्विट्जरल्यान्ड) हेर्दा नेपालमा पनि संघीयता सन्तुलित विकास, समान सहभागिता र लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन आवश्यक मानिएको छ। संघीयताको प्रभावकारी अभ्यास भने सहकार्य, स्पष्ट अधिकार सीमांकन र सुशासनमा निर्भर रहनेछ।
नेपालले २०७२ सालको संविधानमार्फत संघीय शासन प्रणालीलाई अंगीकार गर्दै संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासन संरचना सुरु गरेको हो। यसको मुख्य उद्देश्य नागरिकहरूको सहभागिता र स्वामित्व कायम गर्दै लोकतन्त्रका लाभहरू समावेशी, समानुपातिक र न्यायोचित रूपमा वितरण गर्नु हो। तर संघीयता प्रारम्भ भएको एक दशक नपुग्दै यसको अभ्यासमा देखिएका चुनौतीहरूले यसप्रति नागरिकमा असन्तोष र सन्देह उत्पन्न गरेको छ।
संविधानले प्रत्येक तहलाई आ–आफ्नो अधिकारक्षेत्र स्पष्ट गरेको भए पनि व्यवहारमा पूँजीगत खर्च गर्ने क्षमता र कार्यशैली सुधारमा अपेक्षित प्रगति हासिल भएको छैन। संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको सम्बन्ध कमजोर देखिनुले शासन प्रणालीमा अविश्वास बढाएको छ। स्थानीय तहमा देखिएको भ्रष्टाचार, तजबिजी योजनाहरूको दुरुपयोग, स्रोतको चरम दोहन, अनियमित खरिद प्रक्रिया र उपभोक्ता समितिमार्फत हुने अनियमितता संघीयताको अभ्यासमा ठूलो चुनौती बनेको छ।
प्रदेश तहमा पनि अनावश्यक संस्थागत संरचना, विलासी खर्च र वितरणमुखी कार्यक्रमहरूलाई प्राथमिकता दिइनुले विकास खर्च संकुचित भएको छ। महालेखा परीक्षक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिवेदनहरूले पनि तीनै तहमा आर्थिक अनुशासन कमजोर भएको देखाएका छन्। यसले नागरिकमा “भ्रष्टाचारको विकेन्द्रीकरण” भएको अनुभूति पैदा गराएको छ।
संघीयता अभ्यासमा अर्को चुनौती भनेको दक्ष र अनुभवी कर्मचारीको अभाव हो। धेरै कर्मचारी संघमै आकर्षित हुने भएकाले प्रदेश र स्थानीय तहमा अनुभवी जनशक्ति कमी छ। नयाँ र करार कर्मचारीमा अनुभव र क्षमता अभाव हुँदा वित्तीय व्यवस्थापन, सार्वजनिक खरिद र सुशासनमा समस्या देखिएको छ। यससँगै जनप्रतिनिधि र कर्मचारीबीचको अविश्वासले प्रशासनिक कामकारबाहीलाई प्रभावहीन बनाएको छ।
चुनावी प्रणाली महँगो हुनु, राजनीतिक संस्कृति लाभमुखी बन्नु, भ्रष्टाचारमैत्री सामाजिक वातावरण, र शक्तिशाली बन्ने लालसाले पनि संघीयताप्रति नकारात्मक छायाँ पारेका छन्। संघीयताको मर्म भनेकै लोकतन्त्रका लाभलाई समान रूपमा वितरण गर्नु हो, तर आज नागरिकले अझै गुणस्तरीय सेवा र पारदर्शी शासन अनुभव गर्न सकेका छैनन्।
यद्यपि संघीयता असफल भएको छैन, यसले अझै पनि नेपालको सामाजिक, जातीय र भौगोलिक विविधतालाई सन्तुलनमा राख्ने ठूलो सम्भावना बोकेको छ। यसको सफलताको लागि आवश्यक छ—संविधानअनुसार जिम्मेवारीको निर्वाह, भ्रष्टाचार नियन्त्रण, दक्ष प्रशासनिक संरचना, पारदर्शी वित्तीय अनुशासन, र नागरिक अनुगमन। जब संघ, प्रदेश र स्थानीय सरकारहरूले सहकार्य र समन्वयका साथ जनतालाई छरितो, गुणस्तरीय र सर्वसुलभ सेवा प्रवाह गर्छन्, तब मात्रै संघीयताको सुगन्ध लोकतन्त्रसँगै फैलिनेछ।
नेपालले संघीय शासन प्रणाली अंगीकार गरेसँगै तीनै तह—संघ, प्रदेश र स्थानीय सरकारबीच शक्तिको बाँडफाँड र जिम्मेवारीको वितरणमा विभिन्न विवाद र असमझदारीहरू सतहमा आएका छन्। संविधानले संघीयता, समानुपातिक समावेशीकरण, लोकतान्त्रिक मूल्य–मान्यता र लोककल्याणकारी राज्यको परिकल्पना गरे पनि व्यवहारमा यसको कार्यान्वयन चुनौतीपूर्ण देखिएको छ।
प्रथम, कर्मचारी व्यवस्थापन संघीय अभ्यासमा ठूलो विवाद बनेको छ। संघ र प्रदेशबीच प्रहरी भर्ना, प्रमुख जिल्ला अधिकारीको कार्यक्षेत्र, शिक्षकको समायोजन, र संघीय सरकारको कर्मचारी खटाउने तर स्थानीय तहले फिर्ता पठाउने जस्ता घटनाले प्रशासनिक असन्तुलन देखाएका छन्। प्रशासन पुनर्संरचना आयोगले २१ हजार कर्मचारी मात्र संघमा राख्ने सुझाव दिए पनि अध्ययनविना ६० हजार पुर्याइँदा प्रदेश र स्थानीय तह कर्मचारीविहीन बनेका छन्। यसले दुर्गम पालिकामा सेवा प्रवाह ठप्प बनाएको छ।
दोस्रो, राजस्व र वित्तीय बाँडफाँड पनि विवादको प्रमुख क्षेत्र हो। काठमाडौं महानगरपालिका र आन्तरिक राजस्व विभागबीच सम्पत्ति कर सम्बन्धी विवाद, स्थानीय तह र बन कार्यालयबीच सामुदायिक बन पैदावरको रोयल्टी विवाद, संघ–प्रदेशले स्थानीय तहसँग समन्वय नगरी टुक्रे विकास बजेट छर्ने प्रवृत्ति यी उदाहरण हुन्। वित्तीय हस्तान्तरण, आम्दानी–खर्चको असन्तुलन र करको दोहोरो दाबीले अन्तरसरकारी सम्बन्ध तनावपूर्ण बनाएको छ।
तेस्रो, प्राकृतिक स्रोत र पूर्वाधार विकास सम्बन्धी विवाद बारम्बार देखा परेका छन्। जलस्रोत, बन सम्पदा र ठूला आयोजनाबाट हुने लाभको बाँडफाँड, प्रदूषण नियन्त्रण र संरचना निर्माणको विषयमा तहबीच असहमति भइरहेका छन्।
चौथो, नीति तथा कानूनी क्षेत्र पनि विवादको मूल केन्द्र हो। कानून निर्माण र कार्यान्वयनको अधिकारक्षेत्र स्पष्ट भए पनि व्यवहारमा संघीय सर्वोच्चता र प्रदेश–स्थानीय तहको स्वायत्तताबीच द्वन्द्व देखिएको छ। सहमति उल्लंघन, भाषिक–धार्मिक सम्पदाको प्रयोग, सांस्कृतिक अधिकार, र सामाजिक विविधताको व्यवस्थापनमा असमझदारी बढेको छ।
यस्ता अन्तरसरकारी विवाद समाधानका लागि संविधानले समन्वय र सहकार्यका संस्था स्थापना गरेको भए पनि तिनको प्रभावकारिता न्यून छ। जबसम्म अधिकार र जिम्मेवारीको सन्तुलन, पारदर्शी वित्तीय प्रणाली, स्रोतको न्यायोचित बाँडफाँड र आपसी विश्वास स्थापित हुँदैन, संघीय अभ्यासले अपेक्षित नतिजा दिन सक्दैन। संघीयता सफल बनाउन तीनै तहबीच प्रतिस्पर्धाभन्दा बढी सहकार्यको भावना अनिवार्य देखिन्छ।
नेपालको संघीय अभ्यासमा अन्तरसरकारी सम्बन्ध अझै संस्थागत र सुदृढ हुन सकेको छैन। प्रमुख चुनौती अनावश्यक संघीय सुप्रिमेसी र हेजमोनी हो, जसले प्रदेश र स्थानीय तहको स्वायत्ततालाई कमजोर बनाउँछ। संघीय मापदण्ड, संरचना र कानून समयमै तयार नहुनु, संघले स्थानीय तहको क्षमतामाथि प्रश्न उठाउनु, प्रमुख प्रशासकीय अधिकृत तथा प्रदेश सचिव संघबाटै खटाइनु, र अझै पनि केन्द्रीकृत सोच, संस्कार र व्यवहार हावी रहनु संघीयताको आत्मामा चोट पुर्याउने समस्या हुन्। त्यस्तै, केन्द्रीकृत संरचनामा रहेको कर्मचारीतन्त्रको मूल्य र संस्कार नबदलीकै आधारमा समायोजन गर्दा कार्यगत असन्तुलन देखा परेको छ। यसैबीच, राष्ट्रिय इमानदारी र नैतिकताको खडेरी हुनु पनि अन्तरसरकारी सम्बन्धमा अवरोधक बनेको छ।
यी समस्याको समाधानका लागि संघीय एकाइहरूबीच राजनीतिक विवादलाई लामो अदालती प्रक्रियाभन्दा वार्ता, मेलमिलाप, समन्वय र मध्यस्थता जस्ता वैकल्पिक विधिबाट समाधान खोज्नु आवश्यक छ। संवैधानिक संरचनाहरूलाई संस्थागत र क्रियाशील बनाउनुपर्छ। संघले छिट्टै नमूना तथा संघीय कानून तयार गर्नु, गुणस्तरीय मापदण्ड र सूचकहरू विकास गर्नु जरुरी छ।
निष्कर्षतः, संघीयता शक्ति र अधिकारको विकेन्द्रीकरण मात्र होइन; यो नागरिक हित प्रवर्द्धन गर्ने, स्रोत–साधनको परिचालन गर्ने, र राज्यशक्तिको साझेदारीद्वारा सुशासन स्थापना गर्ने अभ्यास हो। त्यसैले, तीनै तहबीचको सम्बन्ध विश्वास, सहकार्य र समन्वयमा आधारित हुन सके मात्र संघीय शासन प्रणाली सफल र जनमुखी बन्न सक्छ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन्।)

































