लोकतान्त्रिक शासनमा नीति–निर्माण र स्वार्थको द्वन्द्व
वि.सं.२०८२ भदौ १५ आइतवार
shares
बिषय प्रवेश
लोकतान्त्रिक शासन प्रणालीको मूल आधार भनेको जनताका आकांक्षा, आवश्यकता र सरोकारलाई नीतिगत रूपान्तरणमार्फत सम्बोधन गर्नु हो। तर व्यवहारमा नीति–निर्माण प्रक्रिया सधैं शुद्ध र जनहितमुखी रहँदैन। यस प्रक्रियामा विभिन्न समूह, दल, स्वार्थ–सरोकार र दबाबसमूहहरूले आफ्ना हित सुरक्षित गर्ने प्रयत्न गर्छन्। यिनै परस्पर प्रतिस्पर्धी स्वार्थहरूको द्वन्द्वले नीति–निर्माणलाई जटिल, कहिलेकाहीँ असन्तुलित, र कहिलेकाहीँ अपारदर्शी बनाइदिन्छ।
लोकतन्त्रले स्वाभाविक रूपमा विविधता र बहसलाई स्थान दिन्छ, तर स्वार्थको अत्यधिक प्रभावले नीति–निर्माणलाई “जनहित” भन्दा “विशेष हित” मा केन्द्रित गराउने खतरा हुन्छ। उदाहरणका लागि, नीति तर्जुमा गर्दा व्यापारी वर्ग, राजनीतिक दबाब समूह, वा शक्तिशाली अन्तर्राष्ट्रिय हितका कारण श्रमिक, किसान वा सीमान्तकृत समुदायको आवाज पन्छिन सक्छ। यसले समानता र न्यायका सिद्धान्त कमजोर पार्छ।
यस्तो द्वन्द्वको रुपान्तरणका लागि कानुनी संयन्त्र र संस्थागत उत्तरदायित्व महत्त्वपूर्ण हुन्छन्। नीति–निर्माण प्रक्रियामा पारदर्शिता, सरोकारवालाको सहभागिता, र विवेचनात्मक बहसलाई सुनिश्चित गर्नु जरुरी हुन्छ। साथै, “हितको टकराव व्यवस्थापन” सम्बन्धी कानुनी प्रावधानहरू स्पष्ट र कार्यान्वयनक्षम हुनुपर्छ।
यसरी हेर्दा, लोकतान्त्रिक शासनमा नीति–निर्माण केवल कानुनी प्रक्रिया मात्र नभई नैतिक मूल्यसँग पनि गाँसिएको विषय हो। यदि स्वार्थको द्वन्द्वलाई प्रभावकारी रूपमा व्यवस्थापन गरियो भने नीति वास्तवमै नागरिकमैत्री र न्यायोन्मुख बन्न सक्छ। तर, यदि त्यस्तो व्यवस्थापन भएन भने लोकतन्त्र नै “जनताका लागि नभई शक्तिशाली वर्गका लागि” सीमित हुने खतरा रहन्छ।
सार्वजनिक सेवा र लोकतन्त्रको संरचनाभित्र पसिसकेको एक मौन, तर घातक संकट हो—स्वार्थको द्वन्द्व। यो प्रशासनिक बेथिति वा नीतिगत विचलनको मामुली रूप मात्रै होइन; यो नैतिक स्खलन, संस्थागत भ्रष्टता र सामाजिक न्यायको मौलिक मर्ममाथिको खुला अपमान हो। स्वार्थको यो अदृश्य शासनले लोकतन्त्रका आधारशिला—निष्पक्षता, पारदर्शिता, उत्तरदायित्व र जनउत्तरदायीपन—लाई भित्रैबाट क्षय गरिरहेको छ।
नागरिक विश्वासको जग काँचो बनाउने यो संकट यस कारण पनि गहिरो छ कि यसले नीति निर्माणको तहमा ‘निष्पक्ष मन्थन’ होइन, ‘व्यक्तिगत स्वार्थको अनुकूल व्याख्या’ लाई प्राथमिकता दिन थाल्छ। कार्यान्वयन प्रक्रियामा सेवा होइन, सुविधा बाँड्ने प्रवृत्ति हाबी हुन्छ। नियमनमा तटस्थता होइन, पक्षपात र कृपावादको संस्कार गढिन्छ। अनि यही चक्रले लोकतन्त्रलाई ‘जनसत्ता’ होइन, ‘स्वार्थसत्ता’को उपकरणमा रूपान्तरण गर्छ।यस्तो अवस्थामा संविधानको शब्दहरू मात्र बाँचिरहेका हुन्छन्, तर आत्मा मरेको हुन्छ। जनताले पाउने सेवा कृपाको रूपमा व्याख्यायित हुन्छ, न्याय पहुँचको होइन, पहिचानको विषय बन्छ र उत्तरदायित्व सत्तासीन व्यक्तिको विवेकमा सीमित हुन्छ।
संस्थागत सुधारमा स्वार्थको द्वन्द्वको रुपान्तरण अपरिहार्य छ ।कुनै पनि संस्था जब स्वार्थका बाह्य प्रभावमा पर्छ, तब यसको मूल उद्देश्य र सामाजिक दायित्व कमजोर हुन्छ। स्वार्थले संस्थागत निर्णय प्रक्रिया विकृत गर्छ र न्याय, पारदर्शिता तथा उत्तरदायित्वजस्ता सुशासनका आधारभूत स्तम्भहरूलाई चुनौती दिन्छ। नेपालजस्ता विकासोन्मुख राष्ट्रमा जहाँ सार्वजनिक संस्थाहरू लोकतान्त्रिक शासनको प्राथमिक आधार हुन्, त्यहाँ स्वार्थको द्वन्द्वको अनियन्त्रित अवस्थाले नीतिगत निर्णयहरूलाई पक्षपातपूर्ण, अलोकतान्त्रिक र असमान बनाउँछ। यसले जनविश्वासमा कटौती गर्छ र संस्थागत क्षमतामा न्यूनता ल्याउँछ, जसले समाजको समग्र प्रगतिको गतिलाई थाम्छ। यसर्थ, संस्थागत सुधार मात्र प्रशासनिक संरचना र कार्यप्रणालीमा सीमित नराखी, स्वार्थको द्वन्द्वको प्रभावलाई न्युनिकरण गर्ने कानुनी, नैतिक र संस्कृतिक सुधारसँग जोडिनु आवश्यक छ।
स्वार्थको द्वन्द्वको रुपान्तरणको प्रक्रिया प्रभावकारी हुने हो भने यसले मात्र नीतिनिर्माण, कार्यान्वयन र अनुगमनका हरेक तहमा निष्पक्षता र पारदर्शिताको अनुभूति दिन सक्छ। यसको लागि सार्वजनिक पदधारकहरूको व्यक्तिगत हित घोषणालाई कानुनी रूपमा अनिवार्य बनाउनु, निर्णय प्रक्रियामा पूर्ण पारदर्शिता सुनिश्चित गर्नु र स्वार्थजन्य आचरणलाई कडा रुपमा दण्डनीय बनाउनु आवश्यक छ। सामाजिक चेतना र नैतिकताको अभिवृद्धि गरेर जनतामा आफ्नो अधिकार र कर्तव्यप्रति जागरूकता ल्याउनुपर्छ ताकि उनीहरूले स्वार्थको द्वन्द्वलाई रोक्ने दबाब सिर्जना गर्न सकून्। यसरी मात्र संस्थागत सुधारलाई सतत र दिगो बनाउँदै, लोकतन्त्रलाई सशक्त र जनमुखी बनाउने सम्भावना व्याप्त हुन्छ। स्वार्थको द्वन्द्वको रुपान्तरण नै सुशासन र समावेशी विकासतर्फको एक अविचलित मार्ग हो, जसले राज्य र समाजबीचको विश्वासको पुललाई मज़बूत पार्दछ।
स्वार्थको द्वन्द्वको जटिलता र यसको रूपान्तरणको आवश्यकता
स्वार्थको द्वन्द्व कुनै सामान्य नैतिक प्रश्न होइन; यो राज्य संयन्त्रभित्र गहिरिएर बसेको बहुआयामिक विकृति हो, जसले राजनीतिलाई भ्रष्ट बनाउँछ, प्रशासनलाई निष्क्रिय र पक्षपाती बनाउँछ, र संस्थागत संरचनालाई जड़ताको बन्दी बनाउँछ। यो आचरणको मुद्दा होइन, शासनशैलीकै आत्मामा लागेका दरारहरूको संकेत हो।
अझ विडम्बनापूर्ण कुरा त के छ भने, सार्वजनिक पदमा पुगेपछि व्यक्तिले आफ्नो अघिल्लो पेशागत संलग्नता, पारिवारिक सम्बन्ध, आर्थिक साझेदारी, वा सामाजिक र राजनीतिक नातालाई छुट्ट्याएर दायित्व निर्वाह गर्नुपर्छ भन्ने धारणा न त राजनीतिक संस्कारमा छ, न त प्रशासनिक आचरणमा। यस्ता पूर्वाग्रही सरोकारहरूको छायाँमा सार्वजनिक निर्णयहरू बनिरहेका छन्—जहाँ नीति भन्दा पनि नाताले प्रभाव पार्छ, र तथ्यभन्दा पनि सुविधा–सन्तुलनले दिशा दिन्छ।यसरी स्वार्थको द्वन्द्व एक अदृश्य, तर गम्भीर ‘नीतिगत विषाणु’ बनेर लोकतन्त्रको संवेदनशील अंगहरूमा असर गरिरहेको छ। यसले विधायिका, कार्यपालिका र न्यायपालिकाको निष्पक्षता मात्र होइन, सम्पूर्ण राज्यप्रणालीप्रतिको जनविश्वासलाई धमिलो पारिरहेको छ। जबसम्म स्वार्थको द्वन्द्वलाई दण्डनीय कानुनी अवधारणाको रूपमा स्थापित गरेर यसको स्पष्ट, कठोर र व्यावहारिक नियन्त्रण व्यवस्था गरिँदैन, तबसम्म सुशासन सत्ताका भाषणको प्राविधिक जामा मात्र बन्नेछ।
स्वार्थको द्वन्द्व र नेपाली राज्यसंरचना
न्यायपालिका, कार्यपालिका र विधायिकाको हरेक तहमा व्याप्त स्वार्थको द्वन्द्व आजको लोकतान्त्रिक व्यवस्थाको प्राणघातक संकट बनेर उदाङ्गिएको छ। न्यायाधीशले आफ्नै आफन्तका मुद्दा हेर्ने, कार्यपालिका सदस्यहरूले परिवारजनलाई शक्तिशाली पदमा नियुक्त गर्ने, वा सांसदहरूले आफ्नै व्यावसायिक लाभ सुनिश्चित गर्न कानुनको धारा घुमाउने—यी सबै घटनाहरू केवल व्यक्तिगत अनैतिकता होइनन्, बरु सार्वजनिक संस्थाहरूको स्वच्छता, निष्पक्षता र निष्ठामाथिको योजनाबद्ध प्रहार हुन्।
२०७३ को बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन निर्माण प्रक्रिया त्यसको एक सजीव प्रमाण हो। नीतिगत निर्णय गर्ने संसदको अर्थ समितिमा स्वयं बैंकका सञ्चालक, लगानीकर्ता वा सेयरधनी सांसदहरू बसे—जो नीति निर्माणमा सक्रिय सहभागी मात्र बनेनन्, आफू लाभान्वित हुने खालका धारा प्रविष्ट गर्न कुटिलता र क्षमतासाथ लागे। विधेयकमाथिको दफाबार छलफलको मंच एक प्रकारको कानुनी ठगीको औपचारिक स्थलजस्तो बन्न पुगेको थियो—जहाँ ‘जनहित’ को नाममा ‘व्यक्तिगत हित’ लाई विधिसम्मत अनुज्ञा दिइयो।
यो प्रवृत्तिले नीति निर्माणको समूहीक प्रक्रियामा नै गम्भीर विष घोलेको छ। कानुन अब संविधानको मर्मअनुरूप बन्ने दस्तावेज होइन, स्वार्थ–ककेशियाहरूको सहमतिमा तयार हुने व्यापारिक सम्झौता बनिरहेको छ। जब नीतिनिर्माता स्वयं नीतिका उपभोक्ता बन्छन्, तब संसद सत्ताको चौतारो होइन, सौदाबाजीकै मञ्चमा रूपान्तरण हुन्छ।
समाजमा स्वार्थको द्वन्द्वको सामाजिकीकरण
नेपालमा सार्वजनिक पद प्राप्त गर्ने बित्तिकै सुरु हुने ‘बधाइको संस्कृति’ केवल शुभकामनाको अभिव्यक्ति होइन—यो स्वार्थले प्रेरित एक नियोजित सामाजिक मनोविज्ञान हो, जसले राज्यका प्रमुख अंगमा घातक असर पार्दछ। खादा, माला, सम्मानपत्र, सामूहिक भोज, अभिनन्दन समारोह, विदेश भ्रमण, उपहार आदिका नाममा हुने यस्ता प्रहसनहरू सतहमा सौजन्य लागे पनि वास्तवमा ती ‘संस्थागत लाभको पूर्वसूचना’ हुन्—जहाँ सम्मानमार्फत् सत्तासँग समीपता र सौहार्दता स्थापना गर्ने प्रयत्न हुन्छ।
यी कृत्रिम कर्मकाण्डहरूले सार्वजनिक पदाधिकारीमाथि एक अदृश्य सामाजिक दायित्व सिर्जना गर्छन्, जसको असर उनको निर्णय क्षमतामा प्रत्यक्षरूपमा देखिन्छ। यस्तो बधाइ–संस्कृतिको मूल उद्देश्य ‘निष्पक्षता’ होइन, ‘नातावाद’ र ‘सम्बन्धगत लाभ’ सुरक्षित गर्नु हो। फलस्वरूप, सार्वजनिक निर्णयहरूमा नीति भन्दा पनि सम्बन्ध प्रभावशाली बन्छ, अनि पदाधिकारीको चेतना व्यक्तिगतभन्दा पनि ऋणी मानसिकतामा रूपान्तरित हुन्छ।
अझ दुःखद त यथार्थ के छ भने—यस्ता क्रियाकलापलाई नेपाली समाजले सम्मानको प्रतिमान ठान्न थालेको छ। समाज नै जब भ्रष्ट संस्कारलाई ‘नैतिक सामान्यता’ का रूपमा स्वीकृति दिन थाल्छ, तब त्यहाँ ‘दायित्व’को स्थान ‘दवाब’ ले लिन्छ, र ‘सेवा’ को स्थान ‘स्वार्थ’ ले ओगट्छ। यही मानसिकता संस्थागत हुँदै गएर स्वार्थको द्वन्द्वलाई गहिरो बनाउँछ, र लोकतन्त्रको आधारशिला नै बिउँझन नसक्ने गरी थलिन्छ।
त्यसैले, ‘बधाइको संस्कार’ भन्दा अघि ‘कर्तव्यको मूल्य’ को चेतना नजागेसम्म, हामी सार्वजनिक पदलाई जिम्मेवारी होइन, सुविधाको टिकट ठानिरहनेछौं। र, यस्तो धारणा लोकतन्त्रको मर्मसँग होइन, एक स्वार्थाधारित सामन्तवादसँग सामञ्जस्य राख्दछ।
कानुनी अस्पष्टता र संस्थागत कमजोरी
नेपालको विद्यमान कानुनी संरचना स्वार्थको द्वन्द्व सम्बन्धी संवेदनशील प्रश्नप्रति अझै पनि गम्भीर रूपमा अस्पष्ट, अपूरो र अपुस्तक छ। स्वार्थ बाझिएको अवस्थामा पदाधिकारीले निर्णय गर्न नपाउने कानुनी प्रावधानहरू कागजमा त अस्तित्वमा छन्—जसको उदाहरण सुशासन ऐन, २०६४ को दफा १८ हो—तर व्याख्या, कार्यान्वयन र नियमनको पक्ष अत्यन्तै कमजोर, ढिला सुस्त र प्रायः निष्क्रिय छ। यो कानुनले प्रत्यक्ष स्वार्थको अवस्थालाई मात्र समेटेको देखिन्छ, तर नीति निर्माणको गहिराइमा गाडिएको अप्रत्यक्ष, दीर्घकालीन वा सम्भावित स्वार्थको जटिल संरचनाप्रति पूर्ण मौन छ।
सार्वजनिक खरीद ऐन केही हदसम्म निहित स्वार्थका विरुद्ध रोकथामको प्रयास गर्न खोज्छ—जस्तै कि बोलपत्रदाताका पारिवारिक सम्बन्ध, स्वीकृतिपछिको प्रतिबन्ध वा पूर्व जानकारी दिने व्यवस्था—तर यसको दायरा प्रमुखतः कार्यपालिकाका कार्यहरूमा सीमित छ। विधायिकाको क्षेत्र भने अझै कानुनी र नैतिक अपारदर्शिताको घेराभित्र छ। सांसदहरूको पेशागत पृष्ठभूमि, आर्थिक लगानी, वा सम्पत्ति संरचनाबारे सार्वजनिक घोषणा गर्नुपर्ने कुनै ऐन छैन, जसले नीति निर्माण प्रक्रियालाई प्रत्यक्ष स्वार्थको चपेटामा पार्दछ।
सम्पत्तिको गोप्यता, नीतिगत पूर्वाग्रह र प्रत्यक्ष लाभान्वित हुने व्यक्तिहरूको सहभागिता न रोकिनु भनेको राज्यशक्तिको विश्वासिलोपनमाथि नै प्रश्न उठाउनु हो। नीतिको निर्माण तब मात्र नैतिक र जनहितकारी हुन्छ, जब त्यसको आधार वैयक्तिक हितबाट होइन, सार्वजनिक उत्तरदायित्वबाट निर्देशित हुन्छ। तर नेपालमा यथार्थ उल्टो छ—जहाँ निजी स्वार्थ सार्वजनिक कानूनमा घुसपैठ गरी, ‘कानूनी भ्रष्टाचार’ को स्वीकार्य स्वरूप बनिरहेको छ।
त्यसैले, कानुनी स्पष्टता बिना स्वार्थको द्वन्द्वको नियन्त्रण केवल भाषण र रिपोर्टका पानामा सीमित रहन्छ। यदि लोकतन्त्रलाई साँच्चिकै पारदर्शी र जनउत्तरदायी बनाउनु छ भने, अबको आवश्यकता छ—स्वार्थ बाझिने अवस्थाको स्पष्ट कानुनी परिभाषा, सम्पत्ति घोषणा अनिवार्यता, नीति निर्माणमा सरोकार घोषणा प्रणाली, र एक स्वायत्त नियमन निकायको स्थापना। यो केवल कानुनी सुधार होइन, गणराज्यलाई नैतिक मेरुदण्ड दिने अभियान हो।
स्वार्थको द्वन्द्वको प्रभावकारी रुपान्तरण
स्वार्थको द्वन्द्वको प्रभावकारी रुपान्तरण कुनै एकपक्षीय औपचारिकता होइन, यो राज्य सञ्चालनको नैतिक एवं संस्थागत पवित्रता सुनिश्चित गर्ने गहिरो सुधार प्रक्रिया हो। यसको सफल कार्यान्वयनका लागि कानुनी, संस्थागत र सांस्कृतिक तीनवटै तहमा क्रान्तिकारी रूपान्तरण आवश्यक छ। सर्वप्रथम, सार्वजनिक पदधारण गर्ने प्रत्येक व्यक्तिले पदभार ग्रहण गर्नु अगाडि व्यक्तिगत, पारिवारिक र व्यावसायिक स्वार्थको घोषणा गर्नु कानुनीरूपमा अनिवार्य गरिनुपर्छ। यसले नीतिगत निर्णयका बेलामा संभावित पक्षपात, अनौपचारिक दबाब र शक्ति दुरुपयोगको पहिचान गर्न सजिलो बनाउँछ। व्यक्तिगत स्वार्थको समयमै उद्घाटनले पारदर्शिता मात्र होइन, सार्वजनिक विश्वासको पुनर्निर्माणमा पनि महत्वपूर्ण भूमिका खेल्दछ। यो व्यवस्था नहुनु भनेको नागरिकप्रति राज्यले आफ्नो जवाफदेहिताको न्यूनतम मापदण्डसमेत पालना नगर्नु हो।
त्यसैगरी, विधायिका, कार्यपालिका र न्यायपालिका—तीनै अंगका पदाधिकारीहरू चयन गर्ने प्रक्रिया निष्पक्ष, पारदर्शी र स्वतन्त्र हुनुपर्दछ। दलगत सिफारिस, नातावाद, कृपावाद वा प्रभावशाली समूहको दबाबबाट मुक्त प्रणाली विकसित नगरेसम्म सार्वजनिक संस्थाहरूको स्वच्छता, निष्ठा र निष्पक्षता केवल नारामा सीमित हुन्छ। त्यस्तै, नीति निर्माणमा सहभागी हुने हरेक व्यक्तिले सम्बन्धित निर्णयको सन्दर्भमा कुनै पेशागत वा पारिवारिक सरोकार छ कि छैन भन्ने कुरा औपचारिक रूपमा सार्वजनिक गर्नुपर्ने बाध्यता हुनु जरुरी छ। यस्तो घोषणाविना लिइने नीतिगत निर्णयहरू ‘संवैधानिक अनुशासन’ को उल्लङ्घनमात्र होइन, ‘लोकतान्त्रिक नैतिकता’ माथिको अक्षम्य अपराधसमेत बन्न सक्छ। लोकतन्त्रको आत्मा भनेकै निष्पक्षता, पारदर्शिता र जनउत्तरदायित्व हो—र यिनको सुरक्षाका लागि स्वार्थको द्वन्द्वको शुद्धिकरण अपरिहार्य, अविलम्ब र अवश्यम्भावी छ।
स्वार्थको द्वन्द्वको अन्तर्राष्ट्रिय आयाम
संयुक्त राष्ट्रसंघीय महासन्धी (UNCAC, 2003) ले स्वार्थको द्वन्द्वलाई केवल आचरणगत त्रुटि नभई, प्रत्यक्ष रूपमा भ्रष्टाचारको औपचारिक स्वरूपका रूपमा परिभाषित गरेको छ। यसले सदस्य राष्ट्रहरूलाई स्पष्ट कानुनी परिभाषा, बाध्यकारी नीतिगत संरचना र पारदर्शी नियमन संयन्त्र निर्माण गर्न आह्वान गरेको छ। तर नेपालको अवस्थालाई हेर्दा, हामी महासन्धीका हस्ताक्षरकर्ता मात्र बनेका छौँ—यसको मर्मलाई कार्यान्वयन गर्ने न त कुनै कानुनी पहल गरिएको छ, न त मस्यौदाको स्तरमै प्रवेश गरिएको छ। यस्तो दीर्घकालीन उदासीनता केवल भित्री अकर्मण्यताको प्रमाण मात्र होइन, अन्तर्राष्ट्रिय दायित्वको खुला उल्लङ्घन पनि हो।
यस प्रकारको कमजोरीले नेपालको नीति प्रणालीलाई स्वार्थदुषित, अविश्वसनीय र अनियमित बनाएको छ। परिणामतः, वैदेशिक लगानीकर्तामा शंका, जोखिम र अनिच्छा बढेको छ। विश्व बैंकका अध्ययनहरूले देखाउँछन्—जहाँ नीति निर्माण, निर्णय प्रक्रिया वा उच्चपदस्थ पदाधिकारीहरूको सम्पत्ति विवरणमा पारदर्शिता हुँदैन, त्यहाँ वैदेशिक लगानी प्रवाह न्यून र अस्थिर हुन्छ। किनभने लगानी वातावरण केवल आर्थिक सूचकांक (जस्तै–जीडीपी, बजार विस्तार, श्रमशक्ति) ले मात्र होइन, कानुनी निश्चितता, नीतिगत निष्पक्षता र संस्थागत विश्वसनीयताले निर्धारण गर्छ।
नेपालको केसमा समस्या के हो भने— जब नीति निर्माणमै स्वार्थको द्वन्द्व व्याप्त हुन्छ, लगानीकर्ताले बजारभन्दा पहिले ‘शक्ति–सञ्जाल’ को नक्सा बुझ्नुपर्ने बाध्यता महसुस गर्छन्। यसले प्रतिस्पर्धी लगानी होइन, पहुँच आधारित लगानीलाई बढावा दिन्छ। यस्तो अवस्थामा उत्पादक क्षेत्रभन्दा बढी स्वार्थ–सुरक्षित क्षेत्रहरूमा लगानी आकर्षित हुन्छ, जसले दीर्घकालीन आर्थिक स्थायित्व कमजोर पार्छ।
यही कारणले आर्थिक प्रगति र लगानीमैत्री वातावरणका लागि तीन स्पष्ट पूर्वशर्तहरू आवश्यक छन् :
- स्वार्थको द्वन्द्वको स्पष्ट कानुनी परिभाषा – कुनै अस्पष्टता वा दुरुपयोगको सम्भावना नराख्ने गरी।
- सम्पत्ति र हित घोषणाको अनिवार्यता – उच्चपदस्थ पदाधिकारीदेखि नीति निर्माण तहसम्म नियमित सार्वजनिक विवरण उपलब्ध गराउने व्यवस्था।
- सशक्त नियमन संयन्त्रको स्थापना – जसले कानुनको पालना मात्र होइन, वास्तविक कार्यान्वयन र निगरानी सुनिश्चित गर्छ।
यी तीन आधारबिना, नेपालले वैदेशिक लगानीकर्ताको विश्वास जित्न सक्दैन। परिणामतः, नीति–निर्माण स्वार्थ–प्रेरित, लगानी अविश्वसनीय, र लोकतन्त्र ‘जनसरोकार’ होइन, ‘सत्ता–सरोकार’ मा सीमित हुन्छ। त्यसैले, स्वार्थको द्वन्द्वलाई कानुनी रूपमा निषेध गर्नु विकल्प होइन, राष्ट्रिय आर्थिक स्थायित्व र लोकतान्त्रिक विश्वसनीयताको अपरिहार्य शर्त हो।
निष्कर्ष
स्वार्थको द्वन्द्वको रुपान्तरण दातृ निकायको प्रतिवेदनमा सीमित रहने कुरा होइन, यो राष्ट्रको आत्मा शुद्ध पार्ने नैतिक अनुष्ठान हो। केवल कानुनी पंक्तिमा कैद हुने होइन, बौद्धिक, नैतिक र संस्थागत पुनर्जागरणको आवश्यकता हो। शासन सबल र सभ्य तब हुन्छ, जब नीति निर्माता, कार्यान्वयनकर्ता र नागरिक त्रिकोणीय संयोजनमा निष्ठा, पारदर्शिता र उत्तरदायित्व अंगिकार गर्छन्। तर जब स्वार्थ संस्थागत संरचनामा जरा गाड्छ, तब कानुन खोक्रो बन्छ र नीति व्यक्तिगत लाभको जालमा अड्किन्छ।
यसबाट मुक्त हुन स्पष्ट कानुन, कठोर कार्यान्वयन, नैतिक शिक्षा र नागरिक साहस चारै दिशाबाट हस्तक्षेप गर्नुपर्छ। समस्या समाधान दातृ टिप्पणीबाट होइन, स्वदेशी नेतृत्व, बौद्धिक ईमानदारी र जनचेतनाको ब्यूँझाइबाट मात्र सम्भव हुन्छ। जबसम्म पदलाई सेवा होइन, सुविधा ठान्ने प्रवृत्ति प्रहार हुँदैन, तबसम्म स्वार्थको असारमा लोकतन्त्र बगिरहनेछ।
लोकतन्त्र केवल निर्वाचनको चक्र होइन, जनसर्वोच्चताको संस्थागत प्रतिरूप हो। यसमा नीति निर्माण, सेवा प्रवाह र सार्वजनिक सम्पत्ति स्वार्थमुक्त हुनुपर्छ। तर आज हाम्रो व्यवस्थाको अन्तःशिरामा स्वार्थले जरा गाडिसकेको छ, जसले पारदर्शिता, निष्पक्षता र जवाफदेहितामा क्षरण ल्याएको छ। यदि स्वार्थको द्वन्द्व हटेन भने हरेक नीतिमा पूर्वनिर्धारित लाभार्थी तय हुन्छ, जसले जनताको हित होइन, सत्ताको सौदा गर्छ।
यसरी जनप्रतिनिधि होइन, स्वार्थप्रतिनिधि शासनमा पुग्छन्, अनि गणतन्त्र केवल चोला मात्र रहन्छ। यसको निर्मूलनले मात्र निष्पक्ष प्रशासन, स्वतन्त्र न्याय र विश्वासिलो लगानी सम्भव हुन्छ। लोकतन्त्रको आत्मा नागरिकको स्वतन्त्र इच्छा हो, सत्ताको सुविधा होइन। त्यसैले स्वार्थको अन्त्य नै लोकतन्त्रको मुक्ति र हाम्रो भविष्यको सुरक्षा हो।

































