ईर्ष्याबाट आत्मबोधसम्म : चेतनाको यात्रा र जीवन दर्शन
वि.सं.२०८२ भदौ १७ मंगलवार
shares
मानव जीवन चेतनाको सतत यात्रा हो। यो यात्रा कहिलेकाहीँ प्रकाशतर्फ उन्मुख हुन्छ भने कहिलेकाहीँ अन्धकारतर्फ। ईर्ष्या, तुलना र असन्तोष त्यही अन्धकारका छायाहरू हुन्, जसले चेतनाको मार्ग ढाक्छन्। ईर्ष्या तब जन्मिन्छ, जब मानिसले आफ्नो मूल्य अरूको सफलतासँग तुलना गर्छ। अरूको प्रगति आफ्नै अपूर्णता देखिने आयनाजस्तै हुन्छ। यसरी, ईर्ष्या आत्मालाई कमजोर बनाउने मानसिक रोग हो।
बौद्ध दर्शनमा ईर्ष्यालाई ‘ईर्ष्या–क्लेश’ भनिन्छ, जसले दुःख चक्रलाई बलियो बनाउँछ। बुद्धले भनेका छन्—“आफ्नै दीप बनेर चल।” यसको अर्थ, अरूको उज्यालोमा होइन, आफ्नै प्रकाशमा बाँच्न सक्नु नै आत्मबोध हो।ओशो भन्छन्—तुलना नगरे जीवन स्वतः आनन्दमय हुन्छ। फूलले फूलसँग तुलना गर्दैन, आकाशले आकाशसँग प्रतिस्पर्धा गर्दैन। तुलना मानव निर्मित भ्रम हो। जब यो भ्रम चिर्न सकिन्छ, त्यतिबेला चेतनाले स्वतन्त्रता अनुभव गर्छ।
ईर्ष्याबाट आत्मबोधसम्मको यात्रा वास्तवमा ‘म’ बाट ‘हामी’ हुँदै ‘अनन्त’ तर्फको यात्रा हो। ईर्ष्यामा ‘म’ को अहंकार छ; आत्मबोधमा ‘हामी’ को एकत्व छ। असन्तोषमा अधुरोपन छ; आत्मबोधमा पूर्णताको अनुभूति छ।
जीवन दर्शन भन्छ—साँचो शान्ति बाह्य उपलब्धिमा होइन, आन्तरिक अनुभूतिमा निहित छ। ईर्ष्या, तुलना र असन्तोषलाई जित्ने उपाय विनम्रता, कृतज्ञता र आत्मसमर्पण हुन्। कृतज्ञ व्यक्ति अरूको सफलता देख्दा ईर्ष्या होइन, प्रेरणा अनुभव गर्छ। विनम्र व्यक्ति तुलना होइन, आत्मसुधारमा केन्द्रित हुन्छ। आत्मसमर्पण गर्ने व्यक्ति असन्तोष होइन, आनन्दमा बाँच्छ।
तुलना नै ईर्ष्याको मूल हो। अरू कसरी अघि बढ्यो, कसले बढी सम्पत्ति, सौन्दर्य वा ज्ञान प्राप्त गर्यो भन्ने निरन्तर तुलना गर्दा मानिसको मन असन्तोषतर्फ धकेलिन्छ। असन्तोष जीवनमा अपूर्णताको अनुभूति हो, जसले मनलाई सधैं अधुरो र पीडित बनाइराख्छ। दर्शनशास्त्र भन्छ—जसले आफूलाई अरूसँग तुलना गर्छ, ऊ कहिल्यै शान्ति पाउँदैन।
तर असन्तोष आफैंमा पूर्णतया नकारात्मक छैन। यदि सही दिशामा मोडियो भने यही असन्तोष आत्मसुधारको प्रेरणा बन्न सक्छ। समस्या असन्तोषको अस्तित्व होइन, त्यसको गलत प्रयोग हो। जब असन्तोष ईर्ष्यामा परिणत हुन्छ, चेतना अन्धकारमा डुब्छ। तर जब असन्तोष आत्मचिन्तन र आत्मबोधमा परिणत हुन्छ, चेतना प्रकाशमय हुन्छ।
आत्मबोध भनेको आफ्नो वास्तविक स्वरूप चिन्नु हो। देह, इन्द्रिय र मनलाई पार गर्दै जब व्यक्ति चेतनाको गहिराइमा पुग्छ, तब उसले देख्छ—मात्र म मात्र होइन, म सम्पूर्ण अस्तित्वको अंश हुँ। गीता भन्छ—“ज्ञानी व्यक्ति सबै प्राणीलाई आत्मामा र आत्मालाई सबै प्राणीमा देख्छ।” यही दृष्टि आत्मबोधको आधार हो।
ईर्ष्याबाट आत्मबोधसम्मको यात्रा सजिलो छैन। यसका लागि आत्मनिरीक्षण आवश्यक हुन्छ। आत्मनिरीक्षण भनेको आफ्ना विचार, भावना र कर्मलाई निस्पक्ष दृष्टिले नियाल्नु हो। जब मानिसले भित्रैबाट बुझ्छ कि ईर्ष्याले अरूलाई होइन, आफैंलाई जलाउँछ; तुलना गर्दा जीवनको मौलिक सौन्दर्य हराउँछ; र असन्तोषले शान्ति भङ्ग गर्छ—त्यसैबेला आत्मबोधको ढोका खुल्छ।
ईर्ष्या अज्ञानतर्फको यात्रा हो भने आत्मबोध ज्ञानतर्फको यात्रा हो। ईर्ष्या, तुलना र असन्तोष हटेपछि चेतना निर्मल हुन्छ र जीवन दर्शन प्रकट हुन्छ। आत्मबोधमा पुग्दा मानिसले बुझ्छ—सत्य महानता अरूलाई हराएर होइन, आफूलाई चिनेपछि प्राप्त हुन्छ। यही चेतनाको उज्यालो जीवनलाई शान्त, सन्तुलित र अर्थपूर्ण बनाउँछ।
मानव जीवन एउटा निरन्तर यात्राजस्तो हो, जहाँ प्रत्येक मोडमा उसको आत्मा परीक्षण हुन्छ। यस यात्रामा सबैभन्दा ठूलो बाधा बाहिरी शत्रु होइन, आन्तरिक शत्रुहरू हुन्—तुलना, असन्तोष, र आत्मबोधको अभाव। यी तीन तत्वहरूले जीवनलाई या त अन्धकारतर्फ धकेल्छन्, या त प्रकाशतर्फ डोर्याउँछन्।
तुलना मानव स्वभावकै गहिरो तहमा रोपिएको वृक्षजस्तै हो। महाभारतको द्रौपदीलाई सम्झनुहोस्—जब द्रौपदीले आफ्नो जीवनलाई अन्य रानिहरूसँग तुलना गरिन्, तब उनको आत्मा असन्तोषले भरियो, र यही असन्तोषको चिङ्गारीले महाभारत युद्धको एउटा कारण सिर्जना गर्यो। तुलना गर्दा व्यक्ति आफैंलाई हराएको महसुस गर्छ, अरूलाई देख्दा आफ्नो मूल्य कम लाग्छ। तर उपनिषद् भन्छ—“आत्मानं विद्धि”—आफ्नो आत्मा चिन्नुहोस्। आत्माको प्रकाशमा तुलना धुलोझैं हराउँछ।
असन्तोष भनेको चन्द्रमालाई समाउन खोज्ने बालकको कथा जस्तै हो। बालकले चम्किलो चन्द्रलाई आफ्नो बनाउन खोज्छ, तर हात सधैं खाली रहन्छ। परिणामस्वरूप, उसको मन निराशा र असन्तोषले भरिन्छ। यही कथा आधुनिक मानव जीवनको दर्पण हो—मानिसले सम्पत्ति, शक्ति, प्रतिष्ठा वा यश जति पाए पनि भित्र एक रिक्तता रहन्छ। किनभने, बाह्य वस्तुहरूले आत्माको प्यास मेटाउन सक्दैनन्। भगवान बुद्धले यसलाई तृष्णा (असीमित इच्छा) को नाम दिए—“जहाँ तृष्णा छ, त्यहाँ असन्तोष छ।”
तर समाधान के हो?
उत्तर छ—आत्मबोध। आत्मबोध भनेको आफूलाई केवल शरीर, मन वा इन्द्रियको सीमामा नबुझी, अनन्त चेतनाको अंशका रूपमा अनुभव गर्नु हो। यही कुरा अर्जुनले कुरुक्षेत्रमा अनुभव गर्यो। शुरूमै उसले तुलना र असन्तोषका चश्माबाट आफूलाई कमजोर ठानेर हतोत्साहित भयो। तर जब कृष्णले आत्मबोध गराए—“तिमी आत्मा हौ, यो शरीर त अस्थायी हो”—त्यसपछि अर्जुनले आत्मबल पायो। यसको दार्शनिक तर्क स्पष्ट छ: जब पहिचान अस्थायीमा हुन्छ, असन्तोष जन्मन्छ; जब पहिचान शाश्वतमा हुन्छ, शान्ति जन्मन्छ।
ईर्ष्याको तर्कसंगत विश्लेषण
ईर्ष्या अरूको सफलता वा सुखप्रति हुने नकारात्मक भावना हो। यसको मूल कारण तुलना हो। तुलना गर्दा मानिसलाई आफ्नो जीवन सधैं अपूर्ण देखिन्छ, जसले द्वेष, रिस र असन्तोष जन्माउँछ। भागवत पुराणमा ईर्ष्या (मात्सर्य) लाई “षड्रिपु” अर्थात् छवटा आन्तरिक शत्रुमध्ये एक भनिएको छ। यसको तर्क गहिरो छ—ईर्ष्या जन्मजात होइन, सामाजिक दबाब र असुरक्षाबाट पैदा हुन्छ। यसैले यो विकार हो, अपरिहार्य सत्य होइन।
ईर्ष्याको प्रभाव दुरगामी छ। यसले सम्बन्धलाई कमजोर बनाउँछ, मित्रतालाई विषाक्त बनाउँछ र आत्मविश्वासलाई क्षीण गर्छ। यद्यपि, तर्कले देखाउँछ—ईर्ष्या पूर्णतया नकारात्मक पनि होइन। जब ईर्ष्या आत्मसुधारको चेतना जगाउँछ, तब यसले प्रेरणाको रूप धारण गर्न सक्छ। उदाहरणका लागि, कसैको उपलब्धि देख्दा यदि व्यक्तिले द्वेष होइन, आत्मबोधसहित प्रयास गर्ने संकल्प गर्यो भने, त्यो ईर्ष्या विकासको साधन बन्छ।
असन्तोष तृष्णाबाट जन्मन्छ, तृष्णा तुलना र ईर्ष्याबाट। तर यसको अन्त्य आत्मबोधमा हुन्छ। आत्मबोधले व्यक्ति बुझाउँछ—“म अरूसँग तुलना गर्नका लागि होइन, आफ्नै मार्गमा अगाडि बढ्नका लागि जन्मिएको हुँ।” यही आत्मज्ञानले चेतनाको स्थिरता ल्याउँछ। मानसिक शान्ति भनेको इच्छारहित जीवन होइन, इच्छाको सही दिशा हो। जब ईर्ष्या प्रतिस्पर्धा होइन, आत्मसुधारको प्रेरणा बन्छ; जब असन्तोष बाह्य होइन, आन्तरिक उन्नतिको चेतना बन्छ; तब जीवनमा आनन्द, विश्वास र करुणा टिक्छ।
मन पवित्र भएपछि पाँच दुर्गुण र पाँच दुःखको अन्त्य हुन्छ । कसैको भलाइ, प्रगति, प्रशंसा आदिको बारेमा थाहा पाएर पनि हामीमा खुशीजस्ता सकारात्मक भावना उत्पन्न हुँदैन र हामीले तुलनात्मक दृष्टिकोण अपनाउछौ भने तब हामी पक्कै ईष्याको शिकार बनेका छौ ।तुलना पनि एक हदसम्म मात्र सही छ। सबैको सोच, क्षमता, रुची, आवश्यकता र परिस्थिति फरक फरक हुन्छ । ईष्याको प्रभावमा, व्यक्तिले राम्रोलाई चिन्न बिर्सन्छ।
ईर्ष्या जन्मजात गुण होइन, तर मानिसको अनुभूति र सामाजिक वातावरणबाट उत्पन्न हुने भावना हो। यो स्वाभाविक रूपमा केही हदसम्म सबैमा देखिन्छ, तर यसलाई नियन्त्रण गर्न र सुधार्न सकिन्छ। यदि ईर्ष्या निरन्तर रहिरह्यो भने यो मानसिक तनाव र सम्बन्धमा समस्या ल्याउन सक्छ। जीवनमा सकारात्मक सोच, आत्म-स्वीकारोक्ति र मनोवैज्ञानिक अभ्यासले ईर्ष्यालाई कम गर्न मद्दत गर्छ। यसैले, ईर्ष्या जन्मजात होइन, तर सुधार गर्न मिल्ने व्यवहार हो, जसलाई छाडेर मानिस मानसिक शान्ति र समृद्धि तर्फ बढ्न सक्छ। यसलाई न कसैले भनेको भरमा छाड्न सकिन्छ न छाड्छु भनेको भरमा नै छुट्ने गर्छ । कसैले मैले छाडेको छु भन्छ भने ठाने हुन्छ उसले कि सरासर झुट बोलिरहेको छ कि अभिनय गरिरहेको छ । मनभित्र चाहिँ ईष्याको भारी लुकाएर राख्ने मुखले भने छाडेको छु भन्नु भनेको पाखण्ड हो, ढोँग हो । गीतामा कृष्णले यस्तै आशय व्यक्त गरेका छन् तर रूपान्तरण भने गर्न सकिन्छ । रूपान्तरण गर्न सके वा जाने सद्गुण बनेर सुख दिन्छ नजाने वा नसके दुर्गुण बनेर दुःख दिन्छ वश फरक यति हो ।
कुरो सुन्दा आश्चर्य लाग्न सक्छ तर आश्चर्य मान्नैपर्ने कुरा भने होइन । त्यसो भए के गर्ने त ? प्रश्न गम्भीर छ तर उत्तर गम्भीर छैन । छैनमात्र होइन निकै सजिलो छ । थप केही पनि नगर्ने । हाल जे गर्दै आइएको छ त्यसैलाई नै अलिकति तलमाथि गर्ने वा परिवर्तन गर्ने । पुनः प्रश्न उठ्न सक्छ त्यो भनेको के ? उत्तर हो कसैको ईष्या गर्नु सोझो प्रयोग हो । उसले गरेको कामको ईष्या गर्नु रूपान्तरण हो । त्यसैले ईष्या गर्नुस्, गर्नुपर्छ भन्ने हो तर कुनै व्यक्तिको नभई विषयको गर्नुपर्छ । अहिलेसम्म हामीले यसतर्फ ध्यान दिएका थिएनौँ, जसले गर्दा दुःख पाएका थियौँ । जब त्यस्तो बानी बसाउने छौँ स्वतः सुखी हुने छौँ ।
समाधान भनेकै आत्मस्वीकृति र साधना हो। योग, ध्यान, सकारात्मक सोच, र आत्म–अवलोकनले ईर्ष्यालाई नियन्त्रणमा राख्छन्। जब मानिसले अरूलाई प्रतिस्पर्धी नभई प्रेरणा ठान्छ, तब मानसिक शान्ति कायम हुन्छ।
अन्ततः, ईर्ष्या आत्मविनाशतर्फ धकेल्ने शक्ति पनि हो, र आत्मविकाशतर्फ डोर्याउने प्रेरणा पनि। यसलाई बुझेर रूपान्तरण गर्न सक्ने व्यक्ति मात्र जीवनमा साँचो शान्ति र समृद्धि प्राप्त गर्न सक्छ।

































