जेनजी आन्दोलनमा कुन कर्मचारीका घर जले ? मुख्य सचिव र दलीय कर्मचारी ट्रेडयुनियनहरुको शंकास्पद मौनता
वि.सं.२०८२ असोज १ बुधवार
shares
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक गतिविधिले केही निजामती कर्मचारीहरू पनि प्रभावित बनेका छन् । घरमा आगजनी, कुटपिट र सम्पत्ति नष्ट हुँदा समेत राज्यका जिम्मेवार निकाय र कर्मचारी सङ्गठनहरू मौन बसिरहेका छन् ।
सबैभन्दा ठुलो क्षति गृह सचिव गोकर्णमणि दवाडीलाई पुगेको बताइन्छ । आन्दोलनकै क्रममा उनको निजी घरमा आगजनी हुँदा सम्पूर्ण घर र सम्पत्ति नष्ट भएको छ । तर, पीडित उच्च अधिकारीलाई संरक्षण वा राहत दिन त परै जाओस्, राज्यका जिम्मेवार निकायले घटनाबारे आधिकारिक जानकारीसमेत सार्वजनिक गरेका छैनन् ।
एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने, ‘हामी आन्दोलनले आहत भयौँ । धेरै साथीहरूको निजी सम्पत्ति जलेर खरानी भयो, कतिपयलाई कुटपिट पनि भयो । तर मुख्य सचिवदेखि सङ्गठन नेतासम्म कसैले पीडितबारे चासो देखाएनन् । यो मौनता पीडितमाथिको अर्को अन्याय हो ।’
कर्मचारीको हितका लागि स्थापना गरिएका सङ्गठनहरूले पनि यस घटनाबारे मुख खोल्न हिचकिचाएको देखिन्छ । उनीहरू आन्दोलनमा मागबारे आक्रामक देखिए पनि आफ्ना सदस्य वा सहकर्मीमाथि परेको प्रत्यक्ष क्षति प्रकरणबारे मौन बस्नु सङ्गठनहरूको असली चरित्र प्रकट गर्ने उदाहरण भएको विश्लेषण गरिन्छ ।
आन्दोलन हिंसात्मक मोड लिँदा पनि राज्यले सुरक्षाको ग्यारेन्टी दिन सकेन । अब भने प्रभावित कर्मचारीका लागि क्षतिपूर्ति, वैकल्पिक आवास, र सामाजिक सुरक्षाको सवाल सरकारको जिम्मेवारी बनेको छ । तर, हालसम्म कुनै कदम नचाल्नु कर्मचारी–राज्य सम्बन्धकै सङ्कटलाई देखाउने उदाहरण मानिन्छ ।
आन्दोलन गर्नेलाई अधिकार हुन्छ भने, पीडित हुनेलाई पनि सुरक्षा र न्याय चाहिन्छ । राज्यले आफ्नो मौनता तोड्नुपर्ने केहीले धारणा राखेका छन् ।
































