लघुकथा : समर्थन
वि.सं.२०८२ असोज ११ शनिवार
shares
को–को, कुन– कुन पदमा मन्त्री बन्ने भए ? सबैको चासोको विषय बनेको छ ।
फेरी उही पुरानै सिष्टम दोहोरिने त होइन । मान्छेहरू सञ्जाल, अनलाइन खबर, पत्रपत्रिकामा नजर डुलाउँदै थिए । एकअर्काको मुखामुख हेर्दै आ–आफ्नो राय राख्न व्यस्त देखिन्थे ।
भिडको प्रकृतिअनुसार मान्छेको समर्थन गरेको देखियो । भिडको बीचबाट पहिलोले भन्यो, “रामले राम्रो काम गर्छ, त्यो दक्ष पनि छ । मन्त्री पद त्यसैलाई दिँदा हुन्छ ।“
दोस्रोले भन्यो, “ कार्यक्षेत्र अनुसारको मन्त्री हुन्छन् । जो जसमा योग्य होलान्, उसैले पाउँलान् ।“
पहिलो चर्किएर बोल्यो, “ अहिलेसम्म चलिआएको चलनलाई निमिट्यान्न पार्नु भएन नि ! जसको सरकार छ, त्यसका आसेपासेले चान्स पाउनु पर्छ नत्र कहिले होर पद पाउनी ? जसको शक्ति उसको भक्ति ।“ उसले सहजै भन्यो
भिडमा गाइगुइ सुनिन थाल्यो । कसैले पहिलोको समर्थन जनाउँन थाले त कोहीले दोस्रोको, पक्ष विपक्षमा मतभेद हुन थाल्यो । मौकाको फाइदा उठाउँन पहिलो चलाख देखियो ।
दोस्रोले उसको चलाखी थाहा पायो र शान्त स्वरमा भन्यो, “ हेर्दै जाऊ, समयले देखाउँला ।“
सबै नियाली रहेको तेस्रो निडर हुँदै बोल्यो, “ नातावाद र कृपावाद गयो,अब सच्चा देशभक्त, विज्ञ र इमान्दार जो कोहीको समर्थन हुनेछ ।“
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर




























