असोज १७ देखि २० गतेसम्म सतर्कता अपनाउन प्राधिकरणको आग्रह
वि.सं.२०८२ असोज १६ बिहीवार
shares
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १७ गतेदेखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको छ ।
विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका मध्यपहाडी तथा तराईका क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार विज्ञप्ति जारी गर्दै यस अवधिमा नदी–खोला किनार, पहिरो सम्भावित क्षेत्र र डुबान हुने ठाउँमा नजान आग्रह गरेको छ ।
प्राधिकरणले दिएको सुझाव:
अनावश्यक यात्रा नगर्नु र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्नुपर्छ।
विपद् व्यवस्थापन समितिहरूलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन निर्देशन।
जोखिमयुक्त स्थानका घर–परिवारलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन आग्रह।
सडक अवरुद्ध भएमा तत्काल सफाइका लागि बुल्डोजर, एक्साभेटर, लोडर जस्ता मेसिन तयारी अवस्थामा राख्ने।
प्रहरी, सेना, सशस्त्र प्रहरी लगायत सबै सुरक्षा निकायलाई आपतकालीन उद्धारका लागि तयार रहन निर्देशन।
विगतका घटनालाई ध्यानमा राख्दै प्राधिकरणले स्थानीय तह, सुरक्षाकर्मी र सर्वसाधारणलाई “अत्यधिक सतर्क” रहन आग्रह गरेको छ।



























