श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रमको चिनारी
वि.सं.२०८२ असोज ३० बिहीवार
shares
‘ हरिहर’ शब्दको अर्थ विष्णु भगवान र शिवको संयुक्त रूप मानिन्छ । विष्णुपुराणमा विष्णु भगवानलाई नै शिव मानिएको पाइन्छ भने शिवपुराणमा शिवका अनेक नाममध्ये एक नाम विष्णुको मानिन्छ। विष्णु भगवानले शिवलाई आफ्नो आराध्य देव मान्थे । त्यस कारण दुवैले एकरूप धारण गरी ‘हरिहर’ नाम रहन गएको हो । जसमा शरीरको एकभाग विष्णु र अर्को भाग शिव यानी हर भएको पाइन्छ, भने दुवै परस्परमा एकै मानिन्छन् ।
नवलपुर, गैंडाकोट नगरपालिका वार्ड नं. ७ शीतलनगर, गैरीमा अवस्थित श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम आन्तरिक, आध्यात्मिक, रमणीय धार्मिक आस्था र विश्वासको क्षेत्र बनेको पाइन्छ । यस मन्दिरमा नेपालकै अग्लो पहिलो कलात्मक परमेश्वरको मूर्ति जुन ३२ फुट अग्लो महाशिवलिङ्ग एवम् नर्मदेश्वर नदीबाट ल्याइएका १०८ शिवलिङ्ग, स्थापित छन् । मन्दिर परिसरमा गणेश मन्दिर, दुर्गा मन्दिर, नागको थान रहेका छन् ।
मिति २०८२ साल आश्विन २३ गते हरिहर मन्दिर पमानन्द सन्यास आश्रम परिसरमा स्वर्गीय रणबहादुर थापाको स्मृतिमा उहाँका छोरी ज्वाइँ लक्ष्मी थापा र सुजन कार्कीले करिब ७०० के.जी. को पत्थरद्वारा निर्मित भगवान शङ्करको मूर्तिसहितको पानीको फोहरा निर्माण गरेका छन् ।
मन्दिरले विभिन्न अवसरमा धार्मिक कार्यहरू गरी चर्चा कमाएको छ । धार्मिक, सामाजिक जागरण र विश्व शान्तिको कामना गर्दै हरेक हप्ताको सोमबार सन्ध्या आरती एवम् हरेक हप्ताको शुक्रबार दिनको ११:०० बजेबाट सत्सङ, कार्यक्रम गरेको छ। जसमा स्थानीय बासीहरुको उल्लेखनीय उपस्थिति एवम् सहयोग रहेको पाइन्छ।
धार्मिक पर्यटकीय दृष्टिकोणले विकास गर्नका लागि हरिहर मन्दिरमा विभिन्न चाडपर्व, मेला र उत्सवहरूको महत्त्व झल्किने गरी विभिन्न अवसरहरूको फरक-फरक शैलीले कार्यक्रमहरू गर्ने गरेकाले चाडपर्वको महिमा बढेको पाइन्छ ।
मन्दिरमा मिति २०८२ साल आश्विन ६ गते घटस्थापनाका दिनदेखि १५ गतेसम्म श्रीमद्देवीभागवत महापुराण नवाहज्ञानयज्ञ सञ्चालन गरिएको थियो।
विसं २०४४ सालमा सामाजिक, धार्मिक व्यक्तिहरुको टोप्रेघारी भएको स्थानमा जमिन संरक्षणका लागि जम्मा भएर मन्दिर निर्माणका लागि समिति गठन गरेर मन्दिर निर्माण गरिएको हो। उक्त मन्दिरमा विवाह, व्रतबन्ध लगायतका शुभकार्य गरिएको पाइन्छ। विभिन्न अवसरमा चाडपर्वको महत्त्व झल्कने गरी पूजा आराधना,पाठपरायण हुने गरेको छ ।
महाशिवलिङ्ग एवम् नर्मदेश्वर नदीबाट ल्याइएका १०८ शिवलिङ्ग रहेका कारण साउन महिनामा श्रद्धालु भक्तजनहरूको उल्लेख चाप हुने गर्दछ।
हरिहर मन्दिर यस क्षेत्रकै कलात्मक एवम् भव्य रहेको छ । श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रममा गुरुकुल परम्पराअनुसार पूजा अराधना भइरहेको छ। ब्रहालीन १००८ स्वामी -परमानन्दजी महाराज गुरुबाट शिलान्यास गरी पूजा अर्चना सुरु गरिएको थियो ।
गैंडाकोटको सिमाना हुदै बग्ने नारायणी नदी एवम् कालीगण्डकी नदीका कारण यहाँ जलयात्रा तथा नदी किनारमा मनोरञ्जन पर्यटकीय स्थल बनाउन सकिने सम्भावना रहेको पाइन्छ । प्रसिद्ध तीर्थस्थल देवघाटलाई नारायणी नदीमा साना जहाज र मोटरबोट जलयात्राले जोड्ने, नारायणी तटमा ‘रिभर बीच’ प्रवर्द्धन गर्न सकिने सम्भावना रहेको पाइन्छ । ढोडेनी, केलादी, हर्दीमा वनभित्रकै मार्ग प्रयोग गर्न सकिने र वनको उत्तरतर्फ रहेका सुन्दर गाउँहरूका साथै देवघाट, कालीगण्डकी, सेती र नारायणीको संगमसम्म पुग्न सकिने सम्भावना रहेको छ। गैंडाकोटमा रहेको मौलाकालिका मन्दिर, मणिमुकुन्दसेन दरवार, कैलाश सन्यास आश्रमलाई जोडेर धार्मिक पर्यटकीय आकर्षणको क्षेत्र बनाउन सकिने प्रचुर सम्भावना रहेको पाइन्छ।
धार्मिक, आध्यात्मिक एवम् पर्यटकीय क्षेत्र श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रमले गैंडाकोटको पहिचान दिलाएको छ । आन्तरिक एवम् बाह्य पर्यटकहरूलाई भित्र्याउँन उचित प्रचारप्रसारको खाँचो रहन्छ । स्थानीय बासी, स्थानीय निकाय एवम् सम्बन्धित सरोकारबालाहरूको ध्यान पुगी मन्दिरको प्रचार गरी ख्याति फैलाउँन सके यस क्षेत्रकै धार्मिक एवम् पर्यटकीय महत्त्व बढ्ने सक्ने सम्भावना देखिन्छ ।
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर




























