यमराजका दूत कागको पूजा आराधनासहित काग तिहार मनाइँदै
वि.सं.२०८२ कात्तिक २ आइतवार
shares
काठमाडौँ । आज कार्तिक कृष्ण त्रयोदशीका दिन देशभर काग तिहार पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । यो दिनलाई यमपञ्चकको पहिलो दिनका रूपमा पनि मनाइन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार, शास्त्रसम्मत रूपमा सूर्योदयको समयमा त्रयोदशी परेकोले आज आइतबार नै काग तिहार मनाउनुपर्ने निर्णय गरिएको हो।
हिन्दू शास्त्रअनुसार, कागलाई यमराजको दूत मानिन्छ । यमराजले लोकका समाचार कागमार्फत पाउने विश्वास रहिआएको छ। त्यसैले आजका दिन कागलाई पूजा गरी मीठो–मीठो परिकार—विशेष गरी दही भात—खुवाइन्छ, ताकि कागले यमराजलाई राम्रो खबर पुर्याओस् भन्ने मान्यता रहन्छ।
लोकमान्यतामा पनि काग घर वरपर आई कराएमा “शुभ बोल, शुभ बोल” भन्दै शुभ समाचार आउने संकेतका रूपमा लिने चलन छ।
यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ । त्यस्तै हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि आज विशेष पूजा गरिँदैछ, जहाँ कागको ठूलो मूर्ति स्थापना गरिएको छ।
तिहार पर्व सत्कर्म र दुष्कर्मसँग पनि सम्बन्धित छ—सत्कर्म गर्नेको रक्षा धर्मराजका रूपमा र दुष्कर्म गर्नेको दण्ड यमराजका रूपमा हुने विश्वास रहिआएको छ।
यसै सन्दर्भमा, यमयातनाबाट मुक्तिका लागि शनिबार साँझदेखि नै परिवारका सदस्यहरूको नाममा यम दीपदान सुरु गरिएको छ। वैदिक परम्परा अनुसार दीप दक्षिणतर्फ फर्काएर दान गर्नुपर्ने मान्यता छ।
यस वर्ष तिथिको घटबढका कारण शनिबार बेलुकीदेखि नै यमपञ्चक सुरु भएको छ। त्यसैगरी धनतेरस पर्व पनि शनिबार नै मनाइएको थियो, जस दिन गरगहना वा तामाका भाँडाकुँडा किन्दा लक्ष्मी स्थिर रूपमा घरमै बस्ने विश्वास गरिन्छ।
































