लघुकथा : प्रतिभा
वि.सं.२०८२ कात्तिक २ आइतवार
shares
“ बाख्राको पुच्छर खाएजस्तो एकछिन नचली बस्न सक्दैनौँ , रोहण ! के खाएर आउँछौ हँ ? ´´ पढाइरहेको बेलामा चकचक गरेको देखेर शिक्षिकाले उसलाई हकारिन् ।
सबै गलल्ल हाँसे । एउटा विद्यार्थीले गुनासो गर्यो , “ रोहणले मेरो कापी कलम खोस्यो । ´´
“ यो केटोसँग म त हैरान भएँ । बदमासी पनि कति आएको हो ? मान्छे हेर्दा सानो छ । कसैलाई टेर्दैन । ´´ भन्दै कापी कलम फिर्ता मागिन् । त्यसैबेला पिउन दाइ नोटिस लिएर आए ।
उनले सबैलाई पढेर सुनाइन् , “ आज शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत अन्तिमको दुई पिरियड चित्रकला प्रतियोगिता हुनेछ । इच्छुक विद्यार्थीले सहभागी जनाउनू ! ´´
सातौँ घण्टीमा विद्यार्थीहरू प्रतियोगिता हलमा प्रवेश गरे ।
सबैलाई पेपर बाँडियो र निर्धारित समय तोकियो । सबैले चित्र कोर्न थाले । कोहीले वातावरणका विषयमा , कोहीले विद्यालयको भवन, कोहीले बगेको खोला बनाए । उत्साहित भएर यस्तै अनेक अनेक चित्र कोर्दै थिए । शिक्षिकाले सबैतिर नजर घुमाउदै थिइन् ।रङ पनि भरेर चिटिक्क पारे । समय सकियो ।
शिक्षिकाले भन्नु भयो , “ ल , अब सबैले पेपर बुझाऊ त ? ´´
उनी सबैसँग पेपर जम्मा पार्दै थिइन् । रोहणको पालो आयो । उनले मुख बङ्ग्याउँदै भनिन् ,“यो छुकछुके त के बनायो होला , खै ? ´´
नतिजा आफ्नै पोल्टामा पर्ला कि ? भन्ने आशामा रोहणको अनुहारमा खुसी देखिन्थ्यो । उसले पेपर बुझायो । शिक्षिकालाई चित्र अद्भूत लाग्यो । उसको चित्र देखाउँदै सोधिन् , “ तिमीले यो चित्रमा के देखाउन खोजेका हौ ? ´´
उसले छाती फुलाउँदै गर्वका साथ भन्यो , “ सांसारिक तनावबाट मुक्त हुन , शान्तिको खोजीमा मानिस हिमालको काखमुनि नदीको समीपमा गएर एकचित्त हुनु पर्छ भन्ने देखाउन खोजेको नि ! ´´
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर




























