नेपालले भारतलाई २–१ ले पराजित, सावित्रा भण्डारीको दुई गोल
वि.सं.२०८२ कात्तिक ११ मंगलवार
shares
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतमाथि रोमाञ्चक जित हात पारेको छ । सोमबार भारतको शिलाङस्थित जवाहरलाल नेहरू रंगशालामा सम्पन्न खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
नेपालका लागि दुवै गोल कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले गरेकी थिइन् । उनले खेलको सुरुवाती दोस्रो मिनेटमै पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । यस्तै, दोस्रो हाफको ६३औँ मिनेटमा साम्बाले अर्को उत्कृष्ट गोल गरेपछि नेपालले २–० को बढत लिएको थियो ।
खेलको ८१औँ मिनेटमा भारतले एक गोल फर्काए पनि बाँकी समयमा बराबरी गर्न नसक्दा नेपालले जित सुरक्षित गर्न सफल भयो ।
यो जितसँगै नेपालले त्रिदेशीय फुटबल प्रतियोगिता जित्न त सकेन तर भारतविरुद्धको ऐतिहासिक जित हासिल गरेको छ । उक्त प्रतियोगितामा इरान विजेता बनेको छ । इरानले यसअघि नेपाललाई ३–० र भारतलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनपछि नेपाली समर्थकहरूले सामाजिक सञ्जालमा उनलाई ‘नेपाली फुटबलकी गोल क्विन’ भनेर प्रशंसा गरेका छन् ।































