कीचकवध – महाभारत सर्किट
वि.सं.२०८२ मंसिर ४ बिहीवार
shares
झापाको बिर्तामोडदेखि करिब ३० किलोमिटर पूर्व दक्षिण, र भद्रपुरभन्दा करिब १० किलोमिटर दक्षिणमा पूर्वपट्टि मेची नदी र उत्तरपट्टि देवनिया नदीको दोभानमा तत्कालीन पृथ्वीनगर गाविसको एउटा सानो डाँडा छ – जसलाई कीचकवध भनिन्छ।
परापूर्वदेखि यस स्थानमा स्वस्थानी पूर्णिमाको दिन भव्य मेला लाग्ने गर्दछ। खासगरी राजवंशी, सतार र बङ्गालीहरूको ठूलो समूहले यसलाई वर्षकै सबैभन्दा ठूलो पर्वको रुपमा मनाउने गर्दछन्।
दुईतिर नदी र डाँडाको रमणीय स्थल भएकोले यसमा उहिलेदेखि नै वनभोज खान आउनेहरूको जमघट हुने गर्दथ्यो। विक्रम सम्वत् २०३५ सालमा मेची क्याम्पसबाट वनभोजमा आएका विद्यार्थीहरूको समूहले त्यस डाँडामा इँटाका पुराना तर अनौठा टुक्राटुक्री देखे। उनीहरूले त्यो विषयमा आफ्ना इतिहासका प्राध्यापक घनश्याम खनाललाई बताए । घनश्याम खनालले आफ्नो साधनस्रोतले भ्याएसम्म सानो उत्खनन गर्ने प्रयास गरे । त्यहाँ कुनै दरबारको भग्नावशेष छ भन्ने कुरा उनले बाहिर ल्याए । त्यसपछि लामो समयसम्म त्यहाँ खासै उत्खननका प्रयासहरु भएको सुन्नमा आएन ।
वि. सं. २०५८ सालमा पुरातत्व विभागले सरकारी तहबाट उत्खनन सुरु गर्यो। त्यस यता दशौँ पटक उत्खनन भइसकेको छ । बेलायतसम्म पुर्याई प्रयोगशाला परीक्षण गर्दा कीचकवधमा पाइएका भग्नावशेषहरु दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ ।
केही अनुसन्धानकर्ताहरूका अनुसार अहिले उत्खननबाट पत्ता लागेका संरचनाहरूभन्दा मुनि पनि अझै अर्को संरचना हुनसक्ने देखिएको छ। यदि त्यसो हो भने एउटा सभ्यता सिद्धिएर फेरि अर्को सभ्यताको सुरुवात भएको झल्को त्यहाँबाट पाउन सकिन्छ। दुईवटा सभ्यता कटाउने उक्त स्थान पाँच हजार वर्षभन्दा पुरानो हुनसक्छ । तर पुरिएको दोस्रो सभ्यताको भने उत्खनन र कार्बन डेटिङ परीक्षण हुन नसकेकोले वैज्ञानिक रूपमा पुष्टि हुन सकेको छैन। यस प्रकार यो लुम्बिनी भन्दा पुरानो पुरातत्विक संरचना हुन आउँछ ।
यो संरचना र स्थानको कथा महाभारतसँग जोडिएको किम्बदन्ती छ।
महाभारत
महाभारतका अनुसार पाण्डवहरूको वनवासको अन्तिम १ वर्ष गुप्तवास (अज्ञातवास) बस्नु पर्ने थियो। गुप्त वासमा कसैले चिन्यो भने १२ वर्षदेखि कै बानवासको चक्र दोहोरिने नियम थियो । ५ भाइ पाण्डव र उनीहरूकी साझा पत्नी द्रौपदी छुट्टिएर बस्न पनि सक्दैन थिए र सँगै बस्दा पनि कुनै न कुनै रूपमा पहिचान खुल्ने डर थियो ।
वानवासको कठोर १२ वर्ष सकुशल बिताउन सक्ने पाण्डवले १ वर्षको गुप्तवास सजिलै कटाउँछन् भन्ने कौरबलाई लागेको थियो । कथंकदाचित गुप्तवास पनि कटाएमा फेरि युद्ध गर्न आउँछन् र हस्तिनापुर लगायत सबै राज्य खोस्छन् भन्ने पिरलोले कौरवहरू आक्रान्त थिए । पाण्डवको गुप्तवास असफल बनाउन कौरवहरूले सबै किसिमका उपाय लगाउँछन् भन्ने पाण्डवलाई थाहा थियो । त्यसैले पाण्डवकोलागी गुप्तवास ज्यादै संवेदनशील र जोखिमपूर्ण थियो ।
पाण्डवले आफूलाई लुकाउन यस्तो ठाउँ खोज्न थाले, जहाँ जंगलभन्दा पनि मानिसहरूको ठूलो भीड होस् , जसले गर्दा भेष बदलेर सजिलै आफूलाई छिपाउन सकियोस्। यस्तो शक्तिशाली राजाको शरण पाइयोस् जहाँ आक्रमण गर्न कौरवले आँट नगरुन्, जहाँ हजारौँ नोकर हुन्, जुन राजाले थप नोकर राख्ने क्षमाता राखोस् र ऊ प्रजा प्रति इमान्दार होस्।
त्यस समयमा यो सबै विशेषता राजा विराटसँग मात्र मिलन जान्थ्यो । उनीहरूले आफ्नो भेष बदलेर राजा विराट समक्ष काम माग्न गए ।
“कांका” को नामबाट युधिष्ठिरले राजाको जुवा खेलका सल्लाहकार बन्ने नोकरी पाए । बल्लभ (भीम) राजाको भान्से, बृहन्नला (अर्जुन) तृतीयलिङ्गीको भेषमा राजकुमारी उत्तराको संगीत/नृत्य शिक्षक र ग्रन्थिका (नकुल) घोडाहरूको हेरचाह र तालिम दिने प्रशिक्षक बने । सैरन्ध्री (द्रौपदी) लाई भने रानी सुदेशनाको सुसारेको नोकरी मिल्यो । तन्तिपाल नामबाट कान्छा सहदेवले गाईगोठ संरक्षणको नोकरी पाएका थिए ।
राजा विराटको सेनापति तथा आफ्नै सालो किचक महाबली एवं कामाशक्त व्यक्ति थियो। उसलाई कुनै सुन्दर युवती देख्नै हुँदैन थियो। आफ्नै दिदीको सुसारेको रुपमा रहेकी द्रौपदी (सैरन्ध्री) दरबारका सबै रानी र महिलाहरू भन्दा सुन्दर थिइन्। द्रौपदीलाई देखेपछि किच्चकलाई राजपाट र युद्धको भन्दा बढी द्रौपदीसँग भोग विलास गर्ने अभिलाषा बढेर गयो । ऊ बारम्बार द्रौपदीलाई जिस्क्याउन र चलाउन थाल्यो। तर रानीको डरले जबरजस्ती गर्न भने सक्दैनथ्यो।
आफ्ना पाँच पाँच पतिहरूसँगै छन्। उनीहरूसँग आफ्नो वेदना सुनाउन पनि द्रौपदी सक्दिनथिन् किनभने उनीहरु गुप्तवासमा थिए। किचकको आतंकले द्रौपदी अत्यन्त विचलित हुँदै गइन्। अति भएपछि एक दिन भान्से बल्लभको रुपमा रहेका भीमलाई लुकेर आफ्ना सबै कुरा उनले सुनाइन्। भीम ज्यादै दुखित र क्रोधित भए । उनीहरूले किच्चकलाई झुक्याएर मार्ने षड्यन्त्र रचे । षड्यन्त्र बमोजिम द्रौपदीले किच्चकलाई एकदिन भनिन्,”तिमीलाई मसँग भोग विलास गर्नु छ भने यहाँ दरबारमा रानीले थाहा पाउनुहुन्छ, मिल्दैन । मैले सुनेको छु यहाँबाट धेरै टाढा पूर्वमा देउनिया र मेची नदी मिसिने ठाउँमा तिम्रो नाचघर छ रे। मलाई एकदिन त्यस ठाउँमा लिएर जाउ अनि त्यही भोग विलास गरौँला।” कीचक त्यही दिनको प्रतिक्षामा थियो। उसले विराटनगर भन्दा करिब ६० किलोमिटर पूर्व रहेको आफ्नो नाचघर भव्य रुपले सिंगार्न लगायो। द्रौपदीलाई त्यहाँसम्म पुग्ने व्यवस्था मिलायो। साँझ पख भेट हुने सल्लाह भयो। साँझमा किच्चक पुग्नुभन्दा पहिला द्रौपदीको लुगा लगाएर भीम उक्त नाचघरमा बसिसकेका थिए। जब किच्चकले द्रौपदी ठानेर अङ्गालोमा बेरेर चुम्बन गर्न खोज्यो, भीमले झम्टेर उसको धुलाई गर्न थाले। किच्चक पनि बलियो थियो, धेरै अबेरसम्म उनीहरूको महायुद्ध चल्यो । अन्तत: भीमको अगाडि किच्चकको केही लागेन । लडेर हलचहल गर्न नसक्ने भएपछि दुवै हात जोडेर किच्चकले भन्यो, “तिमी सामान्य मानिस होइनौ । मलाई सामान्य मानिसले पराजीत गर्नै सक्दैन । अब म धेरैबेर बाँच्दिन। कृपया मलाई भनिदेउ तिमी को हौ?”
भीमले आफ्नो परिचय दिए ।
किच्चक घिस्रिदै आएर भीमको पाउमा पर्यो, “प्रभु मैले यस्तो के अनर्थ गरे! मैले हजुरहरुलाई चिन्न सकिन । म जति पापी भएपनि अन्तिममा तपाईंको हातबाट मर्न पाएँ। मेरो लागि संसारको सबैभन्दा ठूलो जित नै यही हो। अब हजुरको पाउ पखालेको एक अञ्जुली पानी खान पाए भने मैले मुक्ति पाउँछु । कृपया त्यति कृपा गरिदिनुस् ।”
भीम किच्चकलाई घिसार्दै बाहिर निस्किए । धरतीमा कुर्कुच्चा बजारेर प्वाल पारे । त्यो प्वालबाट गङ्गाजलको धारा निस्कियो। किच्चकले त्यही पानी पियो र अन्तिम सास छोड्यो ।
किचकको मृत्युले सारा संसार खुसी भयो। त्यो दिनको सम्झनामा आज पनि स्वस्थानी पूर्णिमाको दिन लाखौं मानिसहरू भेला भएर कीचकवध उत्सव मनाउने प्रचलन रहिआएको छ।
अहिले उत्खननबाट भेटिएका दरबारहरूलाई कीचकको नाचघर भनेर विश्वास गरिन्छ । छेउमा देवनिया नदी कै डिलमा असाध्यै पुरानो सानो पोखरी छ । नदीभन्दा ५ फिट उचाइमा भएर पनि कहिल्यै पानी नसुक्ने उक्त पोखरी भीमले उत्पन्न गराएको मानिन्छ । छेउमै भीमले किच्चकलाई मार्दै गरेको भीमकाय मूर्ति स्थापना गरिएको छ। शिवालय र देवीका मन्दिरहरू छन्।
करिब १० बिघा क्षेत्रफलमा फैलिएको कीचकवध हाल पुरातत्व विभागको संरक्षणमा रहेको छ । पर्यटकहरूको सुविधाको लागि स्थानीय किच्चक पद संरक्षण समितिले पिकनिक स्पट र बाल मनोरञ्जन उद्यान निर्माण गरेको छ। वृक्षारोपण, बगैंचा, छेउमा होमस्टेहरू भएको यो सुन्दर पुरातात्विक, पर्यटकीय र धार्मिक स्थल नेपालकै अति महत्त्वपूर्ण ठाउँ हो। नेपालप्रति चासो राख्ने जो कोही पनि झापा पुग्दा कीचकवध अनिवार्य रुपमा भ्रमण गर्ने गर्दछन्। त्यसैले उक्त क्षेत्र घुम्नु भएन भने तपाईँको झापा भ्रमण अधुरो हुनेछ ।
महाभारत सर्किट
मैले अघिल्ला लेखहरूमा पाण्डवहरूको गुप्तवासका दौरानका केही कथाहरू उल्लेख गरेको छु। गुप्तवास कालमा पाण्डवहरू कहाँ लुके भनेर कौरव हरेक जासुस लगाएर खोजी गरिरहेका हुन्छन् । यत्तिकैमा राजा विराटका गाईहरू सप्रिएको, टाढा टाढासम्म पनि चरणमा लैजाने गरेको, ती गाईहरू कसैले चोर्ने र जङ्गली जनावरले खाने आँट नगरेको जस्ता किम्बदन्ती कौरवहरूको कानमा पुग्छ । यस्तो काम गर्न त पाण्डवहरूले मात्रै सक्छन् भन्ने उनीहरूलाई लाग्छ। विराट राजासँग सिधै युद्ध लड्ने हिम्मत कौरवहरूमा थिएन । र पाण्डव त्यहाँ लुकेको हो कि होइन भन्ने पक्कापक्की पनि थिएन। त्यसैले उनीहरूले एउटा जुक्ति रच्छन् ।
यदि राजा विराटका गाईहरू हामीले चोर्यौ भने पाण्डवहरू गाई बचाउन आउँछन् र हामी सजिलै पहिचान गर्छौं भन्ने उनीहरुलाई लाग्यो । त्यसैले सहदेवको नेतृत्वका गाईहरू इलामको एक उच्च भागमा चरणमा लगेको समयमा कौरवहरूको सेनाले हरेर लगिदिन्छ । गौ हरण भएको हुनाले त्यस ठाउँलाई अहिले पनि “गौहरूवा” अर्थात् “गरुवा” भनिन्छ । अर्जुन र राजकुमार उत्तरले लडाई लडेर कौरव सेनालाई हराएर गाई फिर्ता ल्याउँछन्। गाई फेरि चोरेर लैजालान् भन्ने डरले पहाड र तराईको बीचको जंगलमा लुकाउँछन्। त्यस ठाउँलाई “लुकानी” भनियो । त्यो लुकानी कालान्तरमा अपभ्रंश भएर सुखानी हुन गयो ।
सुखानीबाट फेरि विराटनगर प्रस्थान गर्ने क्रममा बिर्तामोड भन्दा करिब चार किलोमिटर उत्तर तिर्खाएका गाईहरूलाई पानी खुवाउन अर्जुनले बाँण हानेर गङ्गाजल प्रकट गराए । अर्जुनले धारा निकालेको हुनाले त्यस ठाउँलाई अर्जुनधारा भनियो। सहदेवले विराट राजाका गाईवस्तुहरू सधैँ चराउने ठाउँमा खनिएका सातवटा पोखरीलाई विराट पोखरी भनियो। र भीमले कीचकलाई मारेको ठाउँलाई कीचकवध भनियो । किचक बधबाट ६० किलोमिटर पश्चिममा विराटनगर पर्छ।
यसरी महाभारतकालीन तीर्थयात्राको एउटा राम्रो सर्किट हामी गरुवा – सुखानी – अर्जुनधारा- विराट पोखरी र विराटनगर जोडेर बनाउन सक्छौ । यो धार्मिक, पर्यटकीय र पुरातात्विक दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण सर्किट हुनेछ भन्ने मेरो विश्वास रहेको छ । यसका लागि स्थानीय सरकारहरू र कोशी प्रदेश सरकार क्रियाशील हुन जरुरी छ।































