एनपिएलमा काठमाडौँ गोर्खाजको दोस्रो जित, लुम्बिनी लायन्स २२ रनले पराजित
वि.सं.२०८२ मंसिर ९ मंगलवार
shares
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमाडौँ गोर्खाजले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो दोस्रो जित दर्ता गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा काठमाडौँले लुम्बिनी लायन्सलाई २२ रनले हराउँदै प्लेअफ प्रतिस्पर्धामा बलियो दाबी कायम राखेको छ।
टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रन बनायो। कप्तान करण केसीले अविजित ३४ रन, आकाश त्रिपाठीले ३२ तथा सन्तोष यादवले २६ रन जोड्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोर दिलाए। लुम्बिनीका कप्तान रोहित पौडेलसहित शेर मल्ल, गुल्बादिन नायब र रूबेन ट्रम्पलम्यानले २/२ विकेट लिए।
जवाफमा १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा १३५ रनमै समेटियो। शेर मल्लले २८ र दिलीप नाथले २५ रन बनाए पनि बाँकी ब्याट्सम्यानले योगदान दिन नसक्दा टोली पराजित भयो। काठमाडौँका मिलिन्द कुमार र जेरार्ड एरास्मसले २/२ विकेट लिए।
यो जितसँगै काठमाडौँले ४ खेलमा २ जित र २ हारसहित ४ अंक जोड्दै प्लेअफको सम्भावना जीवित राखेको छ। तीन खेल खेलेको लुम्बिनीले भने १ जित मात्र दर्ता गरेको छ र उसको प्लेअफ यात्रा चुनौतीपूर्ण बन्दै गएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको एनपिएलमा ८ टोली प्रतिस्पर्धामा छन्।































