लघुकथा : चुनाव
वि.सं.२०८२ पुस १५ मंगलवार
shares
लौ चुनाव लागेछ ।
पार्टीको चहलपहल सुरु भयो । कोही कता त कोही कता उम्मेदवारी जनाउँनमा व्यस्त देखिन्छन् । सूचना सम्प्रेषणमा अखबार,समाचार, रेडियो लागायत सामाजिक सञ्जाल तातिएको छ । मान्छेहरू भेला हुँने, टेबलगफ गरेका छन् । समसामयिक माहोलको रन्काईले चिसो बिर्सिएका छन् ।
कोही मौकाको फाइदा उठाउँन तल्लिन देखिन्छन् । उहीँ पुरानै गतिविधि दोहोर्याएको पनि देखियो । चाप्लुसीवाज, टाउका गनेर हाम्रोको नारा लगाएर नेताका विश्वासपात्र बन्न व्यस्त देखिन्छन् त कोही हचुवाको भरमा भविष्यवाणी गरेका छन् । गफ्फिएका बेला पहिलोले अखबारमा नजर डुलाउँदै भन्यो, ” माछोमाछो भ्यागुतो भनेझै पो भएछ, पुरानै अनुहार दोहोरियो त ?” ऊ उदेक स्वरमा बोल्यो
अर्कोले सही थाप्यो, “केकनै होला भन्ठानेको त हिस्स बुढी खिस्स दाँत, भनेझै रहेछ राजनीति त ।” उसले जिब्रो लोप्राउँदै बोल्यो
पहिलोले, “राजनीति गर्नेले त जनताको मन जित्नुपर्छ, बल्ल पो विश्वासको पात्र भइन्छ, पैसाको भरमा कहाँ हुन्छ र ?” ऊ उपेक्षा एवम् उदेक मिश्रित स्वरमा बोल्यो
दोस्रोले सङ्केत गर्दै व्यङ्ग्य कस्यो, ” जटिल परिस्थितिसँग डराउँने होइन, डटेर जसले सामना गर्छ उहीँ युगको चाहना बन्छ । समस्या आफैँमा ठुलो हुदैन बस् त्यसलाई समाधान गर्न नसक्दा ठुलो हुने हो ।” उसले छेड हान्यो
दुबैका कुरा सुनिरहेको तेस्रो कड्किएर बोल्यो, ” लहरो तान्दा पहरो गर्जन्छ भन्थे हेर केटा हो, यस्तै हो भने नसोचेको खोलाले बगाउँछ है ।”
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर

































