लघुकथा : कर्म
वि.सं.२०८२ पुस १६ बुधवार
shares
आमाको दु: ख नजिकैबाट नियालेकी थिई सीताले । आमाले मेलापात, घाँसदाउरा,वस्तुभाउ चारैतिर भ्याएकी थिइन् । बुबाको मृत्युपछि आमाको दाहिने हात भएकी थिई । चार-चारजना भाइबहिनीलाई हेरेकी थिई रत आमाले बाहिरफेर भ्याएकी थिइन् ।
भाइबहिनीसङ्गै स्कुल जाने आउँने, घरधन्दा, पानी पधेँरो,भान्सा हेर्दै जिम्मेवारी बोकेर पढाइ गर्नु चानचुने कुरा थिएन । घरको आर्थिक स्थिति कमजोर हुँदा उसले उफ सम्म गरेकी थिइन् ।
उसका साथीहरूले हेच्याएर बोल्थे, उसको खानपान, लवाइखवाइमा व्यङ्ग्य कस्थे । गरिब भएकै कारण अनेक लाल्छना सहनु पर्थ्यो । कहिले चोरको आरोप त कहिले निम्छरो भनेर खिसीटिउरी गर्थे तर ऊ मौन थिई ।
सबै नजिकैबाट पर्गेली रहेकी उषा बोली, ” हैन कति सहन सकेकी केही त बोल । अन्याय गर्ने भन्दा सहने बढी पापी हुन्छ, बुझिस् ।” सम्झाउँदै उसले केही प्रतिकार गरोस् भन्ने उसलाई लागेको थियो ।
उषाले काकीलाई सबै वृतान्त बताई । उसकी आमाले सोधिन, ” किन छोरी, गलतलाई गलत भन्न सकिएन भने हेप्नेले टाउकैमा टेक्छन् ।” उनले सुझाव दिइन्
सबै सुनिरहेकी सीताले आत्मविश्वासका साथ मुख खोली र बोली, “सही समयको प्रतिक्षामा छु आमा तर शब्दले होइन कर्मले जवाफ पक्कै दिनेछु ।”
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर

































