लघुकथा : हिंसा
वि.सं.२०८२ माघ ८ बिहीवार
shares
आमा गृहकार्य गर्न साथीकोमा जान्छु है, भन्दै कापी कलम च्यापेर निर्मला हिँडी । आमा कराउँनु भयो, “आज शनिबार, नुहाइधुवाइ गर्नुपर्छ । सरसफाइमा ध्यान दिनु पर्दैन ।” उनले आवाज ठुलो गरिन् ।
निर्मला आमाको कुरै नसुनी साइकल चलाएर गई, दिनभरि दुबै सङ्गै रहे, नोट सकेर खाजा खाने, टिभी हेर्ने अनि खेल्ने गरे । नजिक रहेको अम्बाको बोटमा चढी अम्बा टिपेर खाए पनि । दिन रमाइलै गरी बिताए । साथीसङ्ग बिदा मागी निर्मला घरतर्फ लागी ।
यता आमा भने दिनभरिको कामको चाँपले फुर्सद थिएन । छोरी कहाँ गई, के गरी, कोसङ्ग छे ? जाँचबुझ गरिनन् । बेलुका घर फर्किइन् र छोरी खोज्दै बोलाउँन थालिन, ” निर्मला ए निर्मला कराउँदै, अहिलेसम्म दिदी आएकी छैन, कहाँ गई त्यो ?” भाइलाई सोधिन । उसले टाउको हल्लाएर साङ्केतिक भाषामा जवाफ फर्कायो, ” अह,छैन ।”
फेरि, आफ्नै धन्दामा अल्झिइन् । बेलुका अबेर बाबा घरमा आएर छोरी खोज्दै भने, ” अझै आएकी छैन, किन हो ? ख्याल राख्नु पर्दैन ।” उनले झर्कदै फोन लगाए
साथीबाट निर्मला दिउँसै घर फर्किएको जानकारी भयो तर ऊ घरमा आएकी थिइन । उनमा बेचैनी बढ्यो । आफ्न्तमा खबर गरे, हल्लाखल्ला मच्चियो ।
त्यत्तिकैमा एउटाले भयभित हुँदै खबर ल्यायो र भन्यो, “उखुबारी भित्र एक किशोरीको बीभत्स अवस्थामा शव रहेको छ ।” उनी झस्किए ।
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर

































