लघुकथा : छाप
वि.सं.२०८२ फागुन १० आइतवार
shares
हस्याङ्फस्याङ् गर्दै दौड्दै आएर नातिले भन्यो, “आमा आमा सबैले बाटोमा घन्टी बजाएका छन्, किन हो ?” ऊ चकित हुँदै आत्तिएको स्वरमा भन्यो
फेरि लरबराउँदो स्वरले थप्यो, ” हाम्रो पूजाकोठाकै जस्तो घन्टी छ, तर बाइकपछाडि बसेका सबैले चुपचाप घन्टी छाप भन्दै त्यहीँ बजाएका छन् ।” उसले उत्सुकताले भरिएको नजर जुधाउँदै बोल्यो ।
अबोध नातिको जिज्ञासाले भरिएका प्रश्नले उनको मन चसक्क छोयो, “अहिले चुनावको माहोल छ के बाबु, त्यसैले आफ्नो पार्टीको प्रचार गरेका हुन् ।” उनले सुम्सुम्याउँदै भनिन्
“अनि घन्टी त मन्दिरमा पूजा गर्दा बजाउँने होइन र बाटामा बजाउँछन् त काहीं ?” उसले आश्चर्य मान्दै कुतुहलता मेटायो ।
उनले, “यो त चुनावको पार्टीको एक निशान मात्र हो, यसैमा भोट हाल्नुस् है, भनेका हुन् ।” उनले अर्थ्याइन् ।
ऊ रमाइलो मान्दै उहीँ हुलमा मिसियो र तोते स्वरमा सहमति जनाउँदै नारा लगाउँन थाल्यो, “जिन्दावाद जिन्दावाद !”
एकले व्यङ्ग्य कस्दै सोधे, “बाबु ठुलो भएसी केमा भोट हाल्छौ नि ?” उसले सहजै बोल्यो, ” घन्टीमा घन्टीमा ।” ऊ खुसी हुँदे उफ्रियो
उसको बालमनोविज्ञानमा गहिरो छाप परेछ । घरमा आएका पाहुनाले ढोकानजिकको बेल बजाए । ऊ भित्रबाटै भन्दै थियो, “चुपचाप घन्टी छाप घन्टी छाप, मेरो भोट घन्टीमा घन्टीमा ।” ऊ एकोहोरो बर्बरायो

































