कविता:”साहित्यकार महोदय”
वि.सं.२०८२ फागुन १८ सोमवार
shares
अब मसी सुक्ने डर छैन, न त मथिंगल खियाउनु पर्छ,
कष्ट गरेर अनुभूतिका लाभाहरू पिलाउनु पर्छ।
बस, एउटा ‘कमान्ड’ दिए पुग्छ— ‘लेख त एउटा वियोगको गीत’,
अनि च्याट-जीपीटीले ओकलिदिन्छ— ‘छटपटी’ र ‘जीत’।
लेखक बन्न अब न अध्ययन चाहिन्छ, न त साधना,
न चाहिन्छ कुनै समाजको भोगाइ र जीवन्त आराधना।
औंलाले ‘इन्टर’ थिचेपछि जन्मन्छन् ‘महान्’ पाण्डुलिपि,
जहाँ विचार त छ, तर सबै उधारो र अलिअलि ‘कपी’।
ओहो! ती फेसबुकका भित्तामा झुन्डिएका ‘नयाँ’ साहित्यकार,
जसको सिर्जनाको बाउ ‘एल्गोरिदम’ हो, र आमा ‘इन्टरनेट’ को तार।
आफैंले नबुझेका शब्दका चाङहरूमा उनीहरू ‘वाह-वाह’ खोज्छन्,
र मेसिनले उनेका विम्बहरूमा आफ्नै ‘मौलिकता’ रोज्छन्।
‘जेमिनी’ ले पस्किएको पसिना बिनाको ‘क्रान्ति’,
अनि ‘जीपीटी’ ले बुनेको नक्कली ‘आध्यात्मिक शान्ति’।
यो त त्यस्तै भयो—
जसरी प्लास्टिकको फूलमा सुगन्ध खोज्नु,
वा एउटा रोबोटको धातुको छातीमा ‘मुटु’ छ भनी रोज्नु।
स्याबास छ यो ‘डिजिटल-विद्वता’ लाई!
जहाँ लेखक त केवल एउटा ‘डाटा-एन्ट्री अपरेटर’ भएको छ,
र साहित्य— एउटा यस्तो फास्टफूड, जो स्वादिलो त छ,
तर यसले न त आत्मालाई अघाउँछ, न त इतिहास नै रचाउँछ।
याद राख ‘प्रोम्प्ट-कवि’ ज्यू—
मेसिनले तिमीलाई ‘शब्द’ त सापटी देला, तर ‘साधना’ दिँदैन,
यसले तिम्रो ‘स्टाटस’ त चम्काउला, तर तिम्रो ‘अस्तित्व’ लेख्दैन।
सिल्भर स्क्रिनको चमकले आँखा त तिर्मिराउलान्,
तर भित्र रित्तो छौ भने, तिमीलाई ‘सर्जक’ को नाम कसले देला र?
योगी नारायण नाथ
इटहरी सुनसरी

































