लघुकथा : ताजा खबर
वि.सं.२०८२ चैत ९ सोमवार
shares
“ताजा खबर ! ताजा खबर !!” साइकलको घन्टी बजाउँदै पत्रिका बेच्ने युवकले बिहानै बिहानै आवाज गर्यो ।
उसले टेबलमा पत्रिका छोड्यो अनि कराउँदै बाटो लाग्यो । फेरि भन्दै थियो, ” पढ्नुहोस्, ताजा खबर ! ताजा खबर !! आजको ताजा खबर !!!”
बुढाले कौसीमा बसेर अखबारमा नजर डुलाउँदै थिए । उनी भन्दै थिए ” कहाँ कहाँ, केके भएछ ? केछ आजको ताजा खबर ?”
बुढीले चिया लिएर गइन् र उनको नजिकै बसेर भन्दै थिइन्, “आजको ताजा खबर सुनाउँनुहोस् त ! केके रहेछ ?” उनी गहन भएर सुनिन् ।
उनले पहिला सरसर्ती हेंडिङ पढे । कहीँ थियो, ” बलात्कारका घटना, बेवारिसे शवको घटना त कहीँ नेताका कुरा, पर्यापर्यटन लगाएत राष्ट्रिय, अन्तर्राष्ट्रिय घटना, खेलकुदका खबरले भरिएको हेडलाईन पढेर सुनाए ।”
उनी चाखलाग्दा शीर्षकभित्र छिरे । खल्तीबाट चस्मा झिके, पुछेर लगाए अनि पढ्न थाले । एउटा घटनाले ध्यान खिँच्यो, लगातार केही दिनदेखि मुख्य शीर्षकमा आएको थियो । “अब के होला देशमा अनि भावी प्रधानमन्त्री को बन्ला ?” उनी पढ्दै थिए
त्यतिकैमा बुढीले दुर्बोध भावले बोलिन्, “बासी खबर तर आज ताजा भन्दै फेरि छापिएछ, देशको काँचुली फेर्न सक्ने नेतृत्व आए खबर साँच्चै ताजा हुने थियो ।” उनी दृढताले बोलिन्

































