धाम चर्चा
वि.सं.२०८२ चैत २१ शनिवार
shares
गण्डकी प्रदेश, नवलपुर जिल्ला वार्ड नं. ४ बाट मिति २०८२ चैत्र १३ गते देखि तीन दिने तीर्थयात्राका लागि सपरिवार घरबाट निस्क्यौँ ।जसमा मेरा श्रीमान विश्वनाथ तिमिल्सिना, छोरा प्रतीक तिमिल्सिना, छोरी प्रशंसा तिमिल्सिना, ईभी गाडी, लुम्बिनी प्रदेश-०१ ००१, च ४२४८ नम्बरको गाडी चालक हरिप्रसाद थारू सहित म लेखक स्वयम् भूमिका गैरे तिमिल्सिना पनि उपस्थिति थिएँ ।
हामी बिहान ५:०० बजे गाडीमा चढी धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्त्व बोकेको स्थल बागलुङ कालिका दर्शनका लागि गयौं। शक्ति स्वरूपा कालिका भगवतीको दर्शन गर्न हामी ११:०० बजे मन्दिरमा पुग्यौं। बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारदेखि दक्षिणतर्फ कालीगण्डकी काठेखोलाको दोभान माथिको टापु वनभित्र बागलुङ कालिकाको मन्दिर अवस्थित रहेको छ।
उक्त मन्दिर बाइसे चौविसे राज्य कालमा बागलुङ कालिकाको इतिहास मल्लकाल र सेनवंश कालसँग जोडिएको पाइन्छ ।
पाल्पाका राजा मणिमुकुन्दसेनकी छोरी विश्रवादेवीको विवाह पर्वतका राजा प्रतापी नारायण मल्लका साथ भएको थियो | विश्रवादेवीले आफ्नो पीतासँग माझकी देवी दाइजोमा मागेकी थिइन्। राजाले खड्ग र देवीको मूर्ति उपहार स्वरूप छोरीलाई दिएका थिए । पाल्पाबाट पर्वत लाने क्रममा डोलेहरु (खङ्काहरू) ले काठेखोला र कालीगण्डकी नदीको सङ्गम स्थल बिचको पहाडी भूभागमा एकछिन डोली बिसाए। केही बेरपछि उक्त डोली उठाउँन खोज्दा उठेन । देवीको डोली र खड्ग नउठेपछि वि. सं. १५९१ सालदेखि विधिवत रुपमा मन्दिर स्थापना गरी पूजा पाठ आरम्भ भएको थियो । खड्काहरू नै हर्ताकर्ता भएकाले सम्पूर्ण जिम्मा उनीहरूलाई सुम्पिदिएका थिए । तत्कालीन समयका पुजारी चक्रमोहन खड्का प्रथम पुजारीमा नियुक्त भए पश्चात हालसम्म पनि खड्काहरुका वंशजले पूजा चलाउदै आएको इतिहास पाइन्छ । पर्वतका मल्ल राजाले बनाएको सानो मन्दिरको सट्टामा पाल्पाका राजा मणिमुकुन्दसेनले दुई तले प्यागोडा शैलीको मन्दिर बनाएका थिए ।
राजाले आफ्नी छोरीको मनोकामना पूरा गर्न मन्दिर निर्माण गरेका थिए। कालिका भगवतीको मन्दिरमा पशुबलि दिने प्रचलन छ,तर वि.सं. २०१६ सालदेखि शान्तिको प्रतीक परेवाको बलि दिने चलन बन्द गरी परेवालाई मन्दिरको जमिनबाटै उडाइन्छ।
मन्दिरको प्रङ्गणमा प्रत्येक मुख्य दिशामा चारओटा प्रवेश द्वार रहेका छन् । मन्दिर परिसरमा शिव, राधा, कृष्ण, लक्ष्मी नारायण लगायत अन्य विभिन्न साना मन्दिरहरूको फराकिलो सङ्ग्रह समावेश रहेका छन् ।
कालिकाको मन्दिरमा चैते-दशैं, बडादशैंमा विधिवत पूजा गरिन्छ। मङ्गलबार, शनिबार र अष्टमी लगायतका तिथिहरूमा ब्राह्मणद्वरा देवीको स्थापना गरी रुद्रीपाठ चण्डीपाठ, पूजापाठ गरिन्छ भने माघ र साउन महिनामा बलि नचढ्ने हुँनाले पूजा गरिदैन।
बागलुङ कालिका भगवतीको दर्शन गरे पश्चात हामी ११:०० फर्क्यौँ र खाना खायौँ। त्यसपछि बागलुङ र पर्वत जोड्ने नेपालकै सबैभन्दा अग्लो र लामो झलुङ्गे पुल कालीगण्डकी नदी माथि निर्माण गरिएको छ। जुन ५६७ मिटर लामो रहेको छ। उक्त पुलको क्षमता एकसाथ ६१२ जना अर्थात् ८५ मेट्रिक टन सम्म भार बोक्ने क्षमता रहेको छ । पर्यटकीय सम्भावना बोकेका, यी दुई जिल्ला जोड्ने झलुङ्गे पुलको विस्तारले यातायात, व्यवसाय, मनोरञ्जनका साथै धार्मिक पर्यटकहरूको पनि चाँप बढेको पाइन्छ ।
झलुङ्गे पुलको अवलोकन पश्रात हाम्रो यात्रा मुक्तिनाथतर्फ अगाडि बढ्यो । सिमसिम पानी परिरहेको थियो। बेनी बजारमा गएर एकछिन ईभी गाडी चार्जमा रह्यो । हावाहुरीले, चल्यो, जसले गर्दा यात्रा केही असहज हुन पुग्यो तथापि हामी अगाडि बढिरहयौँ । पानी ठुलै पर्यो, बाटो चिप्लो भयो । पहाडी उकालो साँगुरो बाटो हुदै अगाडि बढ्दा पानीको भेल सँगसँगै पहिरो पनि खस्यो । जसले गर्दा हामी केही बेर रोकियौँ । पानी अलिकम भएपश्चात पुन: हामी ठुला ठुला चट्टान पहाडका बिचको साँगुरो गल्ली जस्तो जोखिम भरिएको बाटो, भीमकाय ढुङ्गा थुप्रिएको, हलचल गर्न नसकिने अवरोध अनि अनेकौँ तगाराहरुलाई छिचोल्दै तल बगरै बगर भएको कालीगण्डकी नदीलाई नियाल्दै अगाडि बढ्यौँ । माथि नजर उठाउँदा कुन चुच्चे पहरो कति बेला झर्ने हो, थाहा छैन । कुन बेला ढुङ्गा खस्ला जस्तो देखिने डरलाग्दो घुम्ती साँगुरो एकतर्फी बाटोमा यात्रा जोखिमको पराकाष्टा नै थियो । बिघ्नवाधा पाइलैपिच्छे भेटिने अवरोध, कहीँ कहीँ त बाटो पिच हुने क्रममा पनि रहेछ।
समग्रमा भन्दा म्यादी, मुस्ताङ्को मात्र समस्या रहेन, यो त हामी सबैको साझा समस्या बनेको आभास भयो। तीर्थयात्राका लागि आउने आन्तरिक एवम् बाह्य पर्यटकहरुको लागि पहाडका तिखा चट्टान कतिबेला तगारो बन्ने हो, पत्तो छैन ? पाइलैपिच्छे भेटिने सास्तीले कहाँ कुन अनकन्टार ठाउँमा अलपत्र परिने हो भन्ने डर अर्को तर्फ ?
बाटोको हविगति त्यस्तै अर्कोतर्फ खोला हो कि बगर हो छुट्याउनै गाह्रो ? यस्तै अनेक प्रश्नहरू मनमा उब्जिरहेका थिए, तर उत्तर भने अनुत्तरित थियो। सात्तो जाने बाटो, उकाली ओराली र ती घुम्तीहरूले आँखा तिरमिरिए झैँ भएको थियो ।
रुप्से झरना वा रुप्से पहरा ! नेपालको म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको उक्त झरना बेनी-जोमसोम सडकखण्डमा पर्छ। यो पोखरादेखि लगभग ११० किलो मिटर र जोमसोमदेखि ४१ किलोमिटरको दुरीमा यो झरना अत्यन्त मनमोहक रहेको छ । समुन्द्री सतहबाट १८०० मिटरको उचाइमा रहेको रुप्से झरना ७५ मिटर अग्लो रहेको छ। प्राकृतिक, पर्यटकीय दृष्टिले अत्यन्त आकर्षक उक्त झरना विश्व कै सबैभन्दा गहिरो गल्छी कालीगण्डकी खोँच वा अन्ध गल्छी र कालीगण्डकी नदी रहेका छन्। बेनी जोमसोम-कोरला सडकखण्ड सुचारु भएपश्चात यस झरना अत्यन्त लोकप्रिय बनेको छ। झरनाको सौन्दर्यलाई अवलोकन गर्न, आँखाभरि नियाल्न र फोटो खिँच्न पर्यटकहरू गाडी रोकेर रमाउँने गरेको पाइयो ।
छ्योगाउँदेखि ढलान गरिएको ठाडो उकालो बाटो, लार्जुङ, कोबाङ हुँदै लेते। त्यसपछि मार्फा, जोमसोम म्यादीको सदरमुकाम बेनीबाट ७६ किलोमिटरको दुरीमा अवास्थित प्रसिद्ध जोमसोम बजार ! म्याग्दीको हिस्तान, धारा, मिरकोट दाना, तिप्ल्याङ गाउँ मुस्ताङ जिल्लाको घाँसा, लेते कोवाङ र मार्फा हुदै जोमसोम, जुन हाम्रो बास बस्ने गन्तव्य बन्यो । त्यहाँ पुग्दा करिब ९:०० बजेको थियो। त्यो २ डिग्री सेल्सियसको चिसो, हातखुट्टा लुगलुग कामिरहेका थिए। हामी त्यहीँको एक होटलमा खाना खायौँ र वास बस्यौँ।
भोलिपल्ट बिहान हामी ५:०० बजे गाडीमा चढी पुनः आफ्नो गन्तव्य तर्फ लाग्यौँ । ठाडो उकालो चढेर तेस्रो बाटो लाग्ने थाप्लो देखियो । वरिपरि हिस्स हाँसेको अन्नपूर्ण हिमालका दुश्य,तल कागबेनी, कालीगण्डकीको अनौठो भूगोल ! मननै लोभ्याउँने प्रकृतिक छटा,अलौकिक उपहार जुन अनौठा थिए । मान्छेहरू फोटा खिंच्न व्यस्त देखिन्थे। वरिपरि पहाडका चुली, अचम्मका पहाडी शृङ्खला, तल कागबेनी बजार, कालीगण्डकी अनि निलो आकाशमुनिको श्रेताम्बर हिमाल त्यसमा बिहानीको घामको लाली पर्दा प्रकृतिको काखमा चुर्लुम्म डुबेको भान भयो ।
मुस्ताङ रानीपौवा हुँदै हामी बिहान ९:०० बजे मुक्तिनाथ पुग्यौं । मुक्तिनाथ नेपालको गण्डकी प्रदेश, मुस्ताङ जिल्लाको बिच भाग ३८०० मिटरको उचाईमा अवस्थित एक पवित्र तीर्थस्थल रहेको छ । मुक्तिनाथ, कागबेनी, दामोदर कुण्ड, विष्णुकुण्ड, शालग्राम, निलगिरी र धौलागिरी हिमालले मुक्तिक्षेत्रको महत्त्व झल्किएको छ । पौराणिक रुपमा भगवान ब्रहमा, विष्णु शंङ्करको आराधना र आधुनिक युगमा बौध धर्म प्रचारक पद्मसंभव / रिम्पोचे लगायतको तपस्यास्थल रहेको इतिहास पाइन्छ । यसरी मुक्तिक्षेत्र विश्वकै हिन्दु र बौद्ध धर्मावलम्बीहरूको धार्मिक र आध्यात्मिक आस्थाको केन्द्रबिन्दुका रूपमा परिचित रहेको छ। सनातन धर्मका चार पुरुषार्थ धर्म, अर्थ, काम र मोक्ष मध्ये मुक्तिसङ्ग विशेष महत्त्वका साथ जोडिएको छ । मुक्ति प्राप्त गर्न इच्छुक श्रदालुहरूलाई मुक्तिनाथ निर्विकल्प अत्यन्त पावन तीर्थक्षेत्र रहेका सनातन धर्मका अनेक ग्रन्थ वा प्रमाणहरू पाइन्छ ।
मुक्तिनाथमा १०८ धारा, शिव मन्दिर, ज्वालामाई, कागबेनी, दामोदर कुण्ड आदिको प्रमाणिक महिमा रहेको पाइन्छ । मन्दिर वरिपरिका पिपलका बोटहरू, विष्णुचुलो, गरुड पर्वत, नागराज पर्वत, विष्णुकुण्ड, निलगिरी, धौलागिरी लगायतका क्षेत्रको अझ बढी गहन खोजी भएको पाइन्छ ।
मुक्तिनाथ तथा मुक्तिक्षेत्रको सम्बन्ध स्कन्ध पुराण, बराह पुराण, बौद्ध ग्रन्थ र केही किंम्बदन्तीहरू पनि रहेका छन् । ब्रहमा, विष्णु र महेश्वरले समस्त प्राणधारी जीवहरूको मुक्तिका लागि यज्ञ परिपूर्ण गरेको यहीं स्थानमा भगवान शिव अग्नी, विष्णु जलको रुपमा तथा ब्रहमा हवनकर्ता बनेर सदाकाल निवास रहने जनश्रुति पाइन्छ ।
भगवान विष्णुको गला (गण्डस्थल) बाट पसिनाका रूपमा उत्पन्न भएको जल मुक्तिधारा (१०८ धारा) सर्वश्रेष्ठ मानिन्छ । जसको दर्शन मात्र गर्नाले मुक्ति मिल्ने महान तीर्थ हुनेछ ।
भगवान शिवले जालान्धरलाई एक युद्धमा पराजित गर्न विष्णुले जालान्धरकी पत्नीको पतिब्रता तोडेकाले वृन्दाको श्रापले भगवान विष्णु शालग्रामका रूपमा रहनु भएको हो भन्ने भनाइ पाइन्छ। भगवान स्वयम् शालग्राम शिलारूप भई आफ्नो गर्भमा धारण गरेको हुँनाले गण्डकी नदी सबै नदीहरूमा श्रेष्ठ मानिन्छन् । विष्णु शालग्राम स्वरूपमा अंशावतार लिई सपरिवार नदीमा रहेको किंम्बदन्ती पाइन्छ।
भगवान शिव सबै देवीदेवताहरुका साथमा विष्णुले तपस्या गरेको स्थान मुक्तिनाथधाम जानुभएको र हाल मन्दिरको ठिक अगाडि शिव मन्दिरका रूपमा विराजमान हुनु भएको भनाइ छ ।
मुक्तिधाराबाट गण्डकी र दामोदर कुण्डबाट उत्पत्ति भएकी कृष्ण (काली) नदीको सङ्गमस्थल कागबेनीलाई सर्वोतम तीर्थ मानिएको छ । यो तीर्थप्रति देवताहरुको पनि ठुलो लालसा रहेको हुँदा यस तीर्थमा स्नान गर्ने मानिसले मोहरूपी भोटोलाई फुकाली ज्ञानरूपी वस्त्र पहिरिएर परमानन्द प्राप्त गर्छन भन्ने भनाइ पाइन्छ।
दामोदर कुण्ड एक पवित्र तीर्थ हो । शालग्राम क्षेत्रमा धेरै कुण्ड र नदीहरू छन्। चक्राङ्कित शालग्राम नजिकै वा गण्डकीको आसपासको क्षेत्रमा गरिने कुनै पनि शुभकार्य जस्तै स्नान, जप, ध्यान, हवन यज्ञ तर्पण श्राद्ध लगायतका कार्यले इच्छित फल प्राप्त गर्न अन्य कुनै पनि तीर्थ क्षेत्रमा गरिएको दान भन्दा बढी अक्षय फल पाइने हुँदा यस क्षेत्रको महिमा अपार हुँने भनाइ छ ।
सनातन धर्मको बैण्णव सम्प्रदायले १०८ दिव्यदेश (प्रमुख १०८) दर्शनीय स्थल मुक्तिनाथ मन्दिरलाई प्रमुख मन्दिरका रूपमा लिन्छन् । हरेक दिव्य देशमा न्यूनतम १२ वटा शालग्राम स्थापित गरी पूजा अर्चना गर्दछन् । जुन शालग्राम विश्वमा मुक्तिक्षेत्रमा मात्र पाइने हुँदा यसक्षेत्रको अपार महिमा रहेको छ ।
जुम्लाबाट कुनै समय विष्णु भगवानको मूर्ति हराएको र पछि जुम्लाबाट मानिसहरू मूर्ति खोज्दै आउँदा त्यहाँ फैला पारी बोकेर लान खोज्दा लैजान नसकेपछि हालकै स्थानमा नै मूर्ति स्थापित गरी पूजाआजा गर्न थालेको हो भन्ने किम्बदन्ती पाइन्छ ।
मुक्तिनाथ बौद् धर्मावलम्बीहरूको अतिनै पवित्र तीर्थस्थल मध्ये एक हो। बौद्ध तथा हिन्दु धर्मावलम्वीहरू दुवैले यो विशेष पुण्य भूमिलाई पावन मोक्ष-स्थलका रूपमा पुज्ने गर्दछन् । हिन्दुहरूले मुक्तिनाथ भनेर पुज्छन् भने बौद्धहरूले “छ्यमी ग्येस”। यसको अर्थ हुन्छ, “पवित्र भूमिको गर्भबाट निस्सृत सयौँ मोक्ष पानीको मुल ।”
बौद्ध धर्मका अनुयायीहरूका अनुसार परमपावन महासिद्ध गुरू रिम्पोछेले म्हरमे लहरवाङ गुम्बामा अन्तर शक्तिले आफ्नो मूर्ति निर्माण गरी स्थापित गरेका थिए। जुन गुम्बा मुक्तिनाथ मन्दिरको नजिकै उत्तरतर्फ पर्दछ। उक्त गुम्बामा अखण्ड ज्योति (ज्वाला) बलिरहने गर्दछ । मुक्तिनाथलाई छ्हमी ग्येस अर्थात पवित्र भूमिको गर्भबाट निस्सृत सयौं पवित्र पानीको मूल रहेको पावन मोक्षस्थलका रूपमा पुज्ने गर्दछन् । भारतीय महासिद्ध गुरूहरूले कैलाश मानसरोवरबाट कमन्डलुमा ल्याएको जल मुक्तिनाथमा सङ्ग्रहित गरे र त्यहीँबाट १०८ धारा बगेको हो भन्ने भनाइ रहेको छ । यहाँ जुम्लाका नागराजले चढाएको जलको संगीतमय धूनको आवाज सुन्नका साथै जल, धल र ढुङ्गामा बलिरहेको अग्नि देवताको दर्शन गर्न सकिन्छ ।
हालको मुक्तिनाथ ११ औं शताब्दीका राजा कृतिकुमारका पालादेखि धार्मिक महत्त्व तथा तीर्थाटन बढेको विश्वास गरिन्छ । मल्लकालमा विशेष गरी जयस्थिती मल्ल र अन्य शासकहरूले यस क्षेत्रको संरक्षण एवम् प्रबर्धन गरेका थिए। रानी सुवर्णप्रभाले वि.सं. १८६३ सालमा रानीपौवा र वि. सं. १८७१ सालमा प्यागोडा शैलीको मन्दिर निर्माण गरेकी थिइन्।
गण्डकी नदीमा चक्रले अङ्कित भएका शालग्राम भगवानको पूजा गर्नका लागि कुनै गुरू चाहिदैन। मन्त्रको पनि आवश्यकता पर्दैन । जप, भावना स्तुति, पाठ, पूजासामग्री आदिको आवश्यकता नहुने हुँदा परमात्मा भनिएको पाइन्छ ।
मुक्तिनाथ क्षेत्र अत्यन्त आकर्षक रहेको छ। चारैतिर सुन्दर हिमालले घेरेको अलौकिक प्रकृति र विशिष्ट संस्कृतिको आनन्दले भलिभूत भई मनमा शान्ति जीवनमा कान्तिको अनुभव हुने धार्मिक, सांस्कृतिक एवम् पर्यापर्यटकीय क्षेत्रका रूपमा स्थापित भएको छ ।
मुक्तिनाथ मन्दिर समुन्द्री सतहदेखि ३७१० मिटरको उचाइमा अवस्थित छ। मुस्ताङ जिल्लामा रहेको अति प्रसिद्ध मन्दिर उच्च स्थानमा भएका कारणले बादलमाथिको मन्दिरका नामले पनि चिनिन्छ । भगवान बैण्णवहरूको पवित्र मन्दिर हो । भगवान विष्णुले जालान्धरको रूप धारण गरी वृन्दाको सतीत्व नष्ट गर्न सफल हुँनु भएको थियो । वृन्दाले यो कुरा थाहा पाउँदासम्म भगवान शिवले जालान्धरको वध गरिसक्नु भएको थियो । त्यसैले वृन्दाले भगवान विष्णुलाई शिला, रूख, झारपात र घाँस भएर जीवन व्यतित गर्न परोस् भनि श्राप दिएकी थिइन् । कालान्तरमा विष्णु भगवान शालग्राम शिला, पिपल, तुलसी र कुश भएर जन्म लिनु भएको थियो।
वि.सं. २०६२ साल मङ्सिरको महिनामा मुक्तिनाथका पिठाधीश्वर कमलनयन आचार्य लगायत लाखौँ भक्तजनहरू मिलेर नेपालमा व्यक्त रहेको तत्कालीन द्वन्दबाट मुक्ति मिलोस् भनि मुक्तिनाथका १०८ शालग्रामलाई हरिद्वारमा लगेर गंगास्नान, गंगा तटमा सवालाख गाईको दुधले शालग्राम नुहाएको, सवा करोड बत्ती बालिएको थियो। तत्पश्चात लामो समयसम्म चलेको नेपालको गृहयुद्धले निकास पाएको थियो भन्ने कुरा मन्दिरका पुजारी कृण्णप्रसाद सुवेदीबाट जानकारी भयो ।
रानीपौवाबाट करिब ३० मिनेट हिडेर मन्दिर पुग्न सकिन्छ । लगभग तीनसय भन्दा बढी सिंढी चढेपछि मुक्तिनाथ मन्दिर पुग्न सकिन्छ । कोही घोडामा त कोही हिडेर त कोही हिड्न नसक्नेहरु स्ट्रेचरमा मन्दिर पुगेको देखियो । नेपालीहरूभन्दा बढी भारतीय र अन्य देशका नागरिकहरु दर्शन गर्न आएको देखियो। मुक्तिनाथ मन्दिरमा विष्णु भगवान सहित लक्ष्मीमाता र भूदेवी माता पनि सङ्गै विराजमान रहनु भएको छ ।
सृष्टिको आरम्भ र अन्त्य मोक्षसङ्ग सम्बन्धित हरिहर मन्दिर जोडिएको छ। मुक्तिनाथको दर्शन पश्चात हामी ११:०० बजे तल झर्यौ । रानीपौवामा खाना खायौं र हाम्रो गन्तव्य रहेको थियो,बागलुङ पञ्चकोट ! त्यहाँ आउँदा दिउँसोको ४:०० बजेको थियो
बागलुङ बजारदेखि ८ किलोमिटरको दुरीमा रहेको पञ्चकोट पुग्नका लागि पिच सडक रहेको छ । पहाडको घुम्ती बाटो हुँदै नागबेली बाटो पछ्याउँदै करिब ३० मिनेटमा पुग्न सकिन्छ । करिब २०० सय रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको पञ्चकोट धार्मिक, पर्यटकीय गन्तव्य बनेको छ । बागलुङको पञ्चकोट बागलुङ कालिकाको दर्शन पश्चातको दोस्रो गन्तव्य बन्न पुगेको छ ।
बागलुङ नगरपालिका वडा नं. ६ मा अवस्थित शान्त पहाडका बिचमा धार्मिक, सांस्कृतिक महत्त्वका कारण चर्चामा रहेको छ । समुन्द्री सतहबाट १७५० मिटरको उचाइमा अवस्थित रहेको पञ्चकोट मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलानयनाचार्य ज्यूको परिकल्पनामा बनेको पञ्चकोट बागलुङ बजारदेखि उत्तरमा पर्छ। स्वामी कमलानयनाचार्य मुक्तिनाथ बाबाको पहलमा निर्माण भएको पञ्चकोट धार्मिक सांस्कृतिक, ऐतिहासिक,एवम् प्रचुर पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो ।
पञ्चकोटबाट अन्नपूर्ण हिमाल, धौलागिरि, निलगिरिलगायतका दर्जनौँ हिमश्रृङ्खलाहरू देख्न सकिन्छ । पञ्चकोटमा विश्वकै अग्लो १०८ फिटको विश्वशान्ति कलश, ५५५५ किलो मुक्तिनाथ, महाघण्ट, पञ्च महालक्ष्मीका मन्दिर कृष्णगण्डकी माताको मन्दिर जहाँ भगवान नारायण माताको काखमा बिराजमान हुनुहुन्छ। हनुमानको भव्य मूर्ति, सिसमहल, हनुमान बाटिका, गण्डकी गोपाल गौँशाला लगायत अन्य विभिन्न संरचनाले पनि यस क्षेत्रलाई अरूभन्दा पृथक बनाएको छ ।
पहिला राजाहरूको पालादेखि नै शक्तिको आराधना देवको आराधना रहेको उक्त ताराजलकोट यसै ठाउँमा स्वामी जी महाराजको बाल्यकाल. बितेको ठाउँ यसै ठाउँमा ध्यान, तप साधना र सिद्धी प्राप्त भएको र २०७१ सालमा महायज्ञ लगाएको हुँनाले स्वामी जी महाराजलाई गण्डकीमाताको आशीर्वाद प्राप्त भएको हो भन्ने भनाइ पाइन्छ ।
फञ्चकोटमा पाँचओटा कोटहरू रहेका छन् । जसमा ताराजलकोट, करिकोट, मझकोट रैनरायणकोट र संसारकोट रहेका छन् । बागलुङ पञ्चकोट यिनै पाँच भिन्न कोटहरूलाई मिलाएर बनाइएको हो ।
ताराजल कोटमा रहेको पञ्चकोट हो । ठुलो संस्था रहेको र यसमा पाँचओटा शालाहरू रहेका छन्। मुक्तिनाथदेखि गजेन्द्रमोक्ष दिव्य धाम त्रिवेणीधामसम्म पाठशाला, यज्ञशाला, धर्मशाला,पाकशाला र गौँशालाहरुको अनवरत रूपमा सेवा भई रहेको छ।
विश्वकै सबैभन्दा अग्लो १३८ फिट अग्लो कलशको निर्माण कार्य भई रहेको छ। विश्वमा जलसम्पदाको रक्षा, विश्व शान्तिको कामना गर्दै निर्माण हुँन लागेको र उक्त कलश निर्माण भएपश्चात गण्डकी प्रदेशको गौरव धौलागिरि क्षेत्रको महिमा बढ्ने विश्वास गरिन्छ।
पञ्चकोटमा गरुणारुण नारायणको विशाल आकृति छ र त्यस ठाउँको मुख्य आकर्षकको केन्दबिन्दु पनि हो । त्यहाँ परापूर्व कालदेखि नै गरुणको आकार भएको ठूलो शिला थियो। सिद्ध गुफा, पञ्च नारायण भगवानको मन्दिर रहेको कुरा पञ्चकोटका संरक्षक (व्यवस्थापक) श्री शुदर्शन अधिकारी (शास्त्री) बाट जानकारी भयो ।
प्रकृतिको काखमा रहेको पञ्चकोट ठूलो क्षेत्रफलमा रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण, पहाडको बिचमा रहेको पञ्चकोटले त्यहाँ जाने जो कोहीको पनि ध्यान सहजै खिँच्न सकेको छ। धार्मिक आस्था र विश्वासको धरोहर पर्यटकीय सम्भावना बोकेको पञ्चकोटको सुन्दरता अलौकिक रहेको छ।
पञ्चकोटको अवलोकन / दर्शन पश्चात हामी ५:०० बजे त्यहाँबाट झर्यौ । हाम्रो गन्तव्य पोखराको ताल बराही रह्यो । हामी बेलुका ८:०० बजे पोखरा आयौँ र खाना खायौँ ।
भोलिपल्ट बिहान ७:०० बजे हामी फेवातालको बिचमा अवस्थित तालबाराही माताको दर्शनका लागि निस्क्यौं। हामी डुङ्गामा चढी तालबाराही ८:०० बजे पुग्यौँ।
फेवातालको बिचमा विराजमान आस्था, श्रद्धा र शक्तिकी प्रतिमूर्ति तालबाराही भगवती चार भूजा धारी, महिष वाहिनी गलामा मालाले सुशोभित तथा शिरमा मुकुटले शोभायमान छन् । दुर्गा भवानीका १०८ नाम मध्ये बाराही पनि एक हुन् । बाराही देवीलाई बराह भगवानको शक्तिका रूपमा पनि लिइन्छ । तालको बिचमा विराजमान भएकी तालबाराही भगवतीलाई अद्भूत शक्ति भएकी साक्षात् देवीका रुपमा चिनिन्छ ।
तालबाराही देवीको उत्पति कहिले र कसरी भयो । यो देवस्थलको स्थापना कसले गर्यो भन्ने सबैमा चाँसोको विषय बन्न सक्छ । विभिन्न सोधखोज र अनुसन्धानका अनुसार देवीको उत्पति बारे केही किम्बदन्तीहरु रहेको पाइन्छ।
प्रचलित कथनअनुसार परापूर्वकालमा अहिले फेवाताल भएको ठाउँमा बस्ती रहेको थियो । एकदिन बेलुका एकजना वृद्ध जोगी घुम्दै जाँदा उक्त बस्तीमा पुगेछन्। त्यहाँ पुग्दा साँझ परेछ र वास माग्दै जाँदा गाउँमा अरू कसैले वास नदिएपछि उनी एकवृद्ध महिलाकोमा वास माग्न पुगेछन् । ती बुढी महिलाले भनिछन्, “वास त दिन्छु तर खानलाई केही छैन, ढुटोको रोटी मात्र छ ।” त्यो सुनेर जोगी खुसी भई ढुटोको रोटी खाएर बाहिर पिँढीमा सुतेछन् । भोलिपल्ट बिहान उनी हिड्ने क्रममा भनेछन्, ” यो गाउँ अब जलमग्न भई डुबाउने छ, तिमी अग्लो ठाउँमा गएर बस्नु ।” भनेर हिडेछन् जोगी हिडेको केही बेरमा स्वाँ को आवाज गर्दै पानी भरिएर ताल बन्न पुगेछ। ती बुढी महिला थुम्कोमा गई बाँचिछन् र उनको मृत्युपछि पन्ध्रौँ शताब्दीतिर (वि . सं. १४६७) मा स्थानीय बासीले खरको झुप्रोमा मूर्ति स्थापना (माझ थुम्कीमा ) गई पूजा गर्ने क्रममा एकदिन भीषण वर्षा भएछ । थुम्कोको केही भाग समेत बगाएर ल्याई हाल मन्दिर भएको ठाउँमा ल्याई अडिएछ । त्यहीँ दिनको राती कास्कीका राजा कुलमण्डन शाहलाई मूर्ति स्थापना गरी सेवा गर्नु भन्ने स्वप्न भएछ। उनले खरको झुप्रो बनाई मूर्ति स्थापना गरेछन् । वि.सं. १८६८ सालमा नित्य पूजा सञ्चालन गर्न लालमोहर जारी गरियो भन्ने कुरा मन्दिरका पुजारी महेश्वर पहारीबाट जानकारी भयो । हालको अवस्थामा तालको बिचमा रूखका ठुटा देखिन्छन् भने पिँधमा ढिकी, जाँतो र घरका पर्खालका भित्ताहरू भेटिन्छन् ।
तत्कालीन कास्कीका राजा कुलमण्डन शाहलाई स्वप्नमा देवी प्रकट भई मलाई पानी भएको ठाउँमा स्थापना गरी सेवा गर्नु भनेपछि खरको सानो झुप्रो बनाई पूजा गर्ने व्यवस्था गरेका थिए। पछि वि.सं. २०१७ सालमा राजा महेन्द्रको आदेशमा हालको मन्दिर निर्माण गरी पूजा गरेका थिए । वि. सं. १६०५ सालमा हालका मन्दिरका पूर्वज हरिहर पाध्या पहारी पंडित पुजारीका रुपमा जुम्लाबाट बसाई सरी पोखरा आई बसोबास गरेको कुरा पहारीको वंशावलीबाट पुष्टि हुन्छ । यिनै हरिहर पहारीका वंशजहरूमा शिव पहाडी, रत्नाखर पहारी र इश्वरी पहारीका वंशजहरूको पुस्ता हस्तान्तरण हुँदै हाल तालबाराही मन्दिरका पुजारीको रूपमा कार्यरत छन् । शिव पहारीका वंशज ढुण्डीराज पहारीका छोरा नभएकाले पुजारीको छोरीको विवाह अधिकारी थर भएकासङ्ग हुँन पुग्यो । तत्पश्चात छोरी देवका अधिकारीमा पुजारीको जिम्मेवारी सर्न गएको हुँदा पहारी र अधिकारी थरका पुजारीहरूबाट ओ-आफ्नो पालो अनुसार तालबाराही मन्दिरमा दैनिक पूजा. आजा, धूप धुंवार गर्दै आएको कुरा मन्दिरका हालका दशौँ पुस्ताका पुजारी श्री महेश्वर पहारीबाट जानकारी भयो । तालबाराही मन्दिर पुरानो शैलीमा नै निर्माणाधीन अवस्थामा रहेको पायौँ ।
माछापुच्छ्रे, अन्नपूर्ण हिमश्रृंखलाको काखमा अवस्थित प्रकृतिको अनुपम सौन्दर्यताले भरिपूर्ण पोखरा स्वदेशमा मात्र नभइ विदेशमा समेत परिचित छ। यहाँ लाखौंको सङ्ख्यामा विदेशी पर्यटकहरु आउने गर्दछन् । पोखरा आन्तरिक एवम् वाह्य पर्यटकहरूको गन्तन्यको केन्द्र र नेपालको पर्यटकीय राजधानी रूपमा समेत चिनिन्छ।
तालबाराहीको दर्शन पश्चात् एकघण्टा डुङ्गामा जलविहार गरी हामी ११:०० ताल बाहिर आयौँ र खाना खायौँ । त्यसपछि हाम्रो गन्तव्य आँबुखैरेनीको ऐना पहरा रह्यो ।
ऐना पहरा झरना पवित्रता किम्बदन्ती, सुन्दरता, ऐतिहासिक महत्त्व बोकेको ठाउँ हो। तनहुँ जिल्लाको सबैभन्दा अग्लो चुचुरो छिम्केश्वरी माई मन्दिर, ९२१६५ मिटर उचाइको काखबाट बग्दै आएको ऐना पहरा झरना धार्मिक, ऐतिहासिक, प्रकृतिक, सांस्कृतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण रहेको पाइन्छ । किम्बदन्तीका अनुसार बुढिमाई, छिम्केश्वरी, मनकामना, गोरखा कालिका, इच्छाकामना अकलादेवी र अन्नपूर्ण गरी यी सात देवीहरू दिदीबहिनी थिए । ती देवीहरू यस झरनामा स्नान गर्न आउँने गर्दा रहेछन् । झरनाको पानी ऐना जस्तै टल्कने भएकाले त्यहाँ शृङ्गार गर्ने विश्वास रहेको पाइन्छ। देवीहरूले प्रयोग गर्ने जल आत्माको शुद्धता हुने, झरनाको पानी सधैँ स्वच्छ, सफा रहने,चम्किलो स्वच्छ देखिने पहरालाई ऐना पहरा भन्ने गरिएको हो। धार्मिक आस्था, प्रकृतिप्रेमी तीर्थयात्री तथा आन्तरिक एवम् वाह्य पर्यटकहरूको आकर्षणको केन्द्रबिन्दु रहेको पाइन्छ। आत्मिक शान्ति, शीतलताको अनुभूती, आध्यात्मिक शक्ति प्रदान गर्ने पर्यटकीय गन्तव्य बनेको पाइन्छ। ऐना पहरा झरनाको अवलोकन पश्चात हामी त्यहाँबाट निस्क्यौं र मुग्लिन सडकखण्ड हुँदै ४:०० बजे सकुशल घरमा आइपुग्यौँ ।
नेपाल देश सुन्दर, शान्त, विशाल हुँनुका साथै प्राकृतिक सुन्दरता, सांस्कृतिक महत्त्वका साथै ऐतिहासिक दस्ताबेज बोकेका अधिकांश ठाउँहरु छन्। भौगोलिक हिसाबले नेपालको भूबनोट हिमाल, पहाड़, तराई गरी तीन क्षेत्रमा बाँडिएको छ। जसले गर्दा हिमाल र पहाडमा बाटोको समस्या रहेको पाइन्छ । ठुला ठुला चट्टानलाई फोडेर बाटो निकाल्न पनि चुनौती नै रहेको छ।
यद्यपि बाटो कहीं सहज त कहीँ असहज रहेको थियो। जीवनको आरम्भ र मोक्षसँग सम्बन्धित मुक्तिनाथ धार्मिक महत्त्व, पौराणिक महत्त्व र इतिहास बोकेका यस्ता ठाउँहरूको संरक्षण एवम् प्रवर्धन गर्नु आवश्यक रहन्छ । बागलुङ पञ्चकोट, बागलुङ कालिका, ताल बाराही माता लगायत मुक्तिनाथ धामले आन्तरिक एवम् बाह्य पर्यटकहरू भित्राएको पाइन्छ । नेपाललाई विश्वसामु परिचित गराउन सफल यस्ता धामहरूको संरक्षण गर्नु पर्दछ । आध्यामिक शान्ति, आस्था र विश्वासका धरोहर शक्तिपीठहरुले हामी सबैको कल्याण गरून् ।

































