फिफा विश्वकप २०२६ मा नयाँ नियम लागू
वि.सं.२०८३ जेठ २० बुधवार
shares
काठमाडौं ।आगामी २०२६ फिफा विश्वकपलाई थप निष्पक्ष, तीव्र र अनुशासित बनाउन अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (आईएफएबी)ले खेलका नियमहरूमा व्यापक परिवर्तन गरेको छ। अमेरिका, क्यानडा र मेक्सिकोमा जुन ११ देखि जुलाई १९ सम्म हुने विश्वकपअघि लागू गरिएका नयाँ नियमले खेलाडी, प्रशिक्षक र टोली व्यवस्थापनमाथि कडा नियन्त्रण गर्ने स्पष्ट सन्देश दिएको छ।
नयाँ व्यवस्थाअनुसार अब समय खेर फाल्ने, खेल रोक्दै रणनीतिक छलफल गर्ने, रेफ्रीको निर्णयविरुद्ध अराजक व्यवहार देखाउने तथा सेट–पिसमा हुने अनावश्यक धकेलाधकेलजस्ता गतिविधिमाथि कडा निगरानी र कारबाही हुनेछ।
भिएआरलाई थप अधिकार, फाउल लुकाउन अब कठिन
कर्नर किक वा फ्रिकिकअघि खेलाडीहरूबीच हुने तानातान, धकेलाधकेल तथा आक्रमणकारी पक्षबाट हुने उल्लङ्घन अब भिएआरको निगरानीमा पर्नेछ। गोल वा पेनाल्टी निर्णयलाई प्रत्यक्ष असर पार्ने घटना देखिएमा भिएआरले रेफ्रीलाई मोनिटरमा पुनरावलोकन गर्न पठाउनेछ।
यसपछि रेफ्रीले आवश्यक ठाने कार्ड देखाउनेदेखि सेट–पिस पुनः गराउनेसम्मका निर्णय लिन सक्नेछन्। यद्यपि अन्तिम निर्णयको अधिकार भने मैदानका रेफ्रीमै रहनेछ।
१० सेकेन्डभित्र खेलाडी परिवर्तन नगरे सजाय
खेलको गति बढाउन अब खेलाडी परिवर्तनका लागि १० सेकेन्डको समयसीमा तोकिएको छ। निर्धारित समय नाघेमा मैदानमा प्रवेश गर्न लागेका खेलाडीले थप एक मिनेट मैदानबाहिर नै कुर्नुपर्नेछ।
त्यस्तै थ्रो–इन र गोल–किकमा अनावश्यक ढिलाइ गर्ने टोलीलाई पनि सजाय हुनेछ। रेफ्रीले पाँच सेकेन्डको काउन्टडाउन सुरु गर्न सक्नेछन् र समयसीमा उल्लङ्घन भएमा बल विपक्षी टोलीलाई सुम्पन सकिनेछ।
घाइते भएको बहानामा रणनीति बदल्ने खेल समाप्त
हालका वर्षहरूमा चोटको बहाना बनाएर खेल रोक्ने र त्यस अवधिमा प्रशिक्षकले टोलीलाई नयाँ रणनीति दिने प्रवृत्ति बढेको भन्दै फिफाले त्यसमा पनि कडाइ गरेको छ।
अब गोलरक्षक उपचार गराइरहेका बेला वा खेल रोकिएको अवस्थामा अन्य खेलाडीहरू प्रशिक्षकसँग रणनीतिक बैठक गर्न टचलाइनमा जान पाउने छैनन्। फिफाका रेफ्री प्रमुख पियरलुइजी कोलिनाले यस्तो गतिविधिमाथि खेल अधिकारीहरू विशेष रूपमा सतर्क रहने बताएका छन्।
विवादमा मुख छोपे रातो कार्ड
नयाँ आचरणसम्बन्धी नियमअनुसार विवादका क्रममा खेलाडीले आफ्नो मुख हात, पाखुरा वा जर्सीले छोपेमा सिधै रातो कार्ड देखाइनेछ।
रेफ्रीको निर्णयको विरोधमा मैदान छोड्ने खेलाडी वा त्यसका लागि खेलाडीलाई उक्साउने प्रशिक्षक तथा टोलीका पदाधिकारीलाई पनि रातो कार्डको सजाय हुनेछ।
यदि कुनै टोलीको व्यवहारका कारण खेल रद्द हुन पुग्यो भने उक्त टोली स्वतः पराजित घोषित हुनेछ।
विश्वकपमा अनिवार्य हाइड्रेसन ब्रेक
विश्वकपका सबै खेलका दुवै हाफमा कम्तीमा तीन मिनेटको हाइड्रेसन ब्रेक अनिवार्य गरिएको छ। अत्यधिक गर्मी र खेलाडीको स्वास्थ्यलाई ध्यानमा राख्दै यो व्यवस्था लागू गरिएको हो।
रेफ्रीले खेलको अवस्था, घाइते खेलाडीको स्थिति तथा खेलको प्रवाहलाई हेरेर उक्त विश्रामको समय निर्धारण गर्न सक्नेछन्।
सन्देश स्पष्ट : अब बहाना होइन, खेल मात्र चल्नेछ
फिफाको नयाँ नियमावलीले फुटबललाई अझ छिटो, निष्पक्ष र अनुशासित बनाउने लक्ष्य लिएको छ। समय खेर फाल्ने, नियमको छिद्र खोज्ने र विवाद सिर्जना गर्ने प्रवृत्तिमाथि कडा प्रहार गर्दै २०२६ विश्वकपलाई आधुनिक फुटबलको नयाँ मापदण्डका रूपमा स्थापित गर्ने तयारी गरिएको छ।



























