मेसीको ऐतिहासिक डबल प्रहार, अष्ट्रियालाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा
विश्वकपमा १८ गोलसहित मिरोस्लाभ क्लोजको कीर्तिमान तोड्दै मेसी बने सर्वाधिक गोलकर्ता
वि.सं.२०८३ असार ९ मंगलवार
shares
काठमाडौं । कप्तान लियोनल मेसीको ऐतिहासिक प्रदर्शनमा अर्जेन्टिना फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘जे’ अन्तर्गत सोमबार राति सम्पन्न खेलमा अर्जेन्टिनाले अष्ट्रियामाथि २–० को प्रभावशाली जित निकाल्दै राउन्ड अफ ३२ मा स्थान सुरक्षित गरेको हो।
अर्जेन्टिनाको जितका दुवै गोल कप्तान मेसीले गरे। उनले खेलको ३८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उक्त गोलसँगै ३८ वर्षीय मेसीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान कायम गरे।
मेसीले जर्मनीका पूर्व फरवार्ड मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान तोड्दै आफ्नो विश्वकप गोल संख्या १७ पुर्याएका थिए। यसअघि उनले अल्जेरियाविरुद्धको खेलमा ह्याट्रिक गर्दै क्लोजको कीर्तिमान बराबरी गरेका थिए।
तर, मेसीको ऐतिहासिक यात्रा त्यतिमै सीमित भएन। खेल सकिनै लाग्दा इन्जुरी समयमा उनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक दोस्रो गोल गर्दै अर्जेन्टिनालाई २–० को जित दिलाए। यससँगै विश्वकपमा उनको कुल गोल संख्या १८ पुगेको छ।
लगातार दोस्रो जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोड्दै समूह ‘जे’ को शीर्ष स्थानमा आफूलाई बलियो बनाएको छ। अष्ट्रियाको ३ अंक रहेको छ भने जोर्डन र अल्जेरिया अझै अंकविहीन छन्।
मेसीको कीर्तिमानी प्रदर्शनसँगै उपाधि दाबेदार अर्जेन्टिनाले विश्वकपको नकआउट यात्रालाई थप मजबुत बनाएको छ।


























