जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान !

84
shares

कलिलै उमेरमा घातक रोगको सिकार हुने र ज्यान गुमाउने क्रम बढ्दो छ । आजकल घरैपिच्छे रोगी भेटिन्छन् । युवा अवस्थामै गम्भीर रोगबाट ग्रसित थुप्रा छन् । विशेषगरी हृदयघात (हार्ट अट्याक) बाट पछिल्लो समय ज्यान गुमाउने युवाहरु निरन्तर बढिरहेका छन् ।

त्यस्तै, मिर्गौला, किड्नी, क्यान्सर, फोक्सोलगायत रोगी पनि बढ्दो क्रममा छन् । यसरी रोग लाग्नु र ज्यान गुमाउनुमा अस्वस्थ खानपानमात्र जिम्मेवार नभई अन्य कारण पनि छन् । सरकारले १८ वर्ष पुगेपछि नागरिकता दिन्छ । नागरिकता भएपछि बैंक, वित्तिय संस्थाले खाता खोलिदिन्छ । र, धितो राखेर ऋणसमेत दिन्छ ।देशमै केही गर्छु भन्ने हुटहुटीले उक्त ऋणबाट अधिकांशले व्यापार व्यवसायमा लगानी गर्छन् । तर, कलिलै उमेर र अनुभव नभएकाले लगानी डुब्छ । एकातिर बैंकको बढ्दो साँवाब्याज, अर्कोतिर लगानी नै डुबेपछि सम्बन्धित व्यक्तिले चिन्तामात्र लिन थाल्छ । दिनरात एउटै कुरा मन मस्ष्तिकमा सोचिरहन्छ । र, त्यसैले हार्ट अट्याक निम्त्याउँछ ।

अहिले त ऋणीमात्र नभई बचतकर्ताहरुले पनि हार्ट अट्याकबाट ज्यान गुमाइरहेका छन् । जीवनभर कमाएको पैसा सहकारी, लघुवित्त र फाइनान्सले खाइदिएपछि कतिपयले आत्महत्या गरेका छन् त कतिपयलाई हार्ट अट्याक आएर ज्यान गएको छ । भूमाफियाहरुले रोपनीको दश हजार रुपैयाँ नपर्ने जग्गा टुक्राटुक्रा पारेर आनाकै २५ लाखदेखि १४ करोडमा बेचे ।
छिमेकी मुलुक भारत र चीनबाट ५० हजारदेखि दश लाखमा ल्याइएको सवारीसाधन अढाई लाखदेखि २४ करोडमा बेचियो । बैंक, वित्तिय संस्था, जलविद्युत, बीमालगायत कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँमा निष्काशन गरेको सेयर दलालहरुले मूल्य बढाएर कित्ताकै ३२ सयदेखि पाँच हजारमा बेचे ।

यत्रो मूल्यमा घरजग्गा, गाडी र सेयर किन्नेहरुको अहिले रुवाबासी चलेको छ । एकातिर बैंकले कर्जा तिर्न तनाव दिन्छ, अर्कोतिर धितोको मूल्य लगातार घट्दो छ । ऋण तिर्न सकेन भने बैंकले धितो त लिलाम गर्छ नै सँगै तीन पुस्तालाई कालोसूचीमा राखिदिन्छ । अर्कोतर्फ, धितो लिलाम गरेपछि ऋणी परिवार बोकेर कहाँ जाने ?यही चिन्ताले बैंक, वित्तिय संस्थाबाट ऋण लिएकाहरुले मदिरा सेवन शुरु गर्छन् । तनाव मेटाउन मदिरा पिउँछन् तर मदिराले उनीहरुको शरीरको महत्त्वपूर्ण अंग नै सिध्याइदिन्छ । परिवारमा कलह निम्त्याउँछ । झनै झैझगडा र तनाव बढाउँछ ।

अन्तिममा परिवारसमेत छोडेर जान्छ, रोगले पनि च्यापँछ अनि पैसा पनि सिद्धिन्छ । उपचार गर्ने पैसा नभएर ज्यान गुमाउनुपर्छ । भूमाफियाहरुले जग्गाको कृत्रिम मूल्यमात्र बढाएनन्, सरकारी, सार्वजनिक, गुठी, ऐलानी, हदबन्दी बढी, मठमन्दिर, तालतलैया, पोखरी, कुँवा, राजकुलो, टुकुचा, वनजंगल, राजपरिवार, खोलानदीलगायतका जग्गासमेत प्लटिङ गरेर बेचे ।
जग्गा राम्रो देखेर मानिसहरुले आफूसँग भएको रकमसहित बैंक, वित्तिय संस्थाबाट ऋण लिएर लगानी गरे । अहिले उक्त जग्गा सरकारी भएको थाहा पाएपछि कतिपयलाई हार्ट अट्याक आएको छ । उनीहरुको दुःखको कमाइ त गुम्यो नै सँगै बैंक, वित्तिय संस्थाको ऋणसमेत लागेको छ । जुन ऋण लिएर जग्गा किनिएको हो, त्यो जग्गा त छँदै छैन । यसले अधिकांश मानिसहरुले सहन नसकेर आत्महत्यासमेत गरेका छन् ।

मानिसहरुले ठगिएपछि चिन्ता लिनु स्वभाविक हो । तर, त्यही चिन्ताले उनीहरुको ज्यानै लिन्छ । अकालै ज्यान जान्छ । यद्यपि, यस्ता ठगहरुलाई सरकार कारबाही गर्दैन । घरजग्गा, गाडी र सेयरमा जसरी वैदेशिक रोजगारीको प्रलोभनमा ठगिने पनि उत्तिकै छ । मुलुकमा व्याप्त बेरोजगारी छ ।

रोजगारी भएकाले तलब नपाएको महिनौं–वर्षौ बितिसक्यो । कामबिना परिवार कसरी पाल्ने ? त्यसैले, मानिसहरु कमाउन विदेश जाने निर्णयमा पुग्छन् । तर, उनीहरु दलाल वा मिनपावरहरुको ठगीमा पर्छन् । विदेश जान ऋण लिईलिई मिनपावर वा व्यक्तिलाई रकम बुझाउँछन् ।

यसरी रकमसहित कागजात बुझाएको महिनौं–वर्षौ भइसक्दासमेत उनीहरु विदेश जान पाउँदैनन् । पछि मात्र थाहा पाउँछन् कि ठगिएछ । एकातिर रकम त जान्छ नै सँगै नागरिकता, पासपोर्टलगायत कागजात फेरि बनाउनुपर्ने हुन्छ । अर्कोतर्फ, उक्त नागरिकता, पासपोर्टको दुरुपयोग भएमा पीडित व्यक्ति नै फस्छ । यहाँ जोकोही पनि केही न केही कारणबस ठगिएका छन् ।

कोही रोजगारीको प्रलोभनमा, कोही लगानी गर्न खोज्दा । पछिल्लो समय निजी सवारी साधनमा लगानी गर्ने बढ्दो छन् । तर, निजी प्लेटको गाडीले यात्रु बोक्न पाउँदैन । अर्कोतर्फ, पेट्रोलियम पदार्थको हाहाकार भइरहेको छ । यसले करोडौं हालेर निजी गाडी किनेकाहरु पनि चुलुम्मै हुने देखिँदैछ ।बैंक, वित्तिय संस्थाले कर्जा दिनुअघि धितोको मूल्यांकन गर्छन् । घरजग्गाको मूल्यांकन गर्न इन्जिनियर खटाइन्छ । इन्जिनियरहरुले सम्बन्धित व्यक्तिसँग घुस वा कमिशन लिएर एक करोड नपर्ने घरजग्गालाई तीन–चार करोड मूल्यांकन गर्यो । सोही आधारमा बैंक, वित्तिय संस्थाले ऋण प्रवाह गर्यो । अहिले ऋणी कर्जा तिर्दैन, धितोको मूल्य झनै घटिरहेको छ ।

ऋणीले कर्जा नतिरेमा बैंक, वित्तिय संस्था डुब्छ । यी संस्था डुब्नु भनेको जनता डुब्नु हो । सर्वसाधारणको बचत डुब्नु हो । सहकारी डुब्दा करोडौं बचतकर्ता डुबे । अब बैंक टाट पल्टिने देखिँदैछ । बैंक डुबेमा कति सर्वसाधारण डुब्लान् ? अर्कोतर्फ, घुस खाएर कर्जा दिने बैंकका अध्यक्ष, सञ्चालक, कर्मचारी पनि समातिन्छन् ।

जेल जाने डरले कतिपयले आत्महत्यासमेत गर्न थालिसके । यसरी दलालीहरुको लहैलहैमा जथाभावी लगानी गर्दा मानिसहरुले आफ्नो जीवनभरको कमाई त गुमाए नै सँगै ज्यानैसमेत गइरहेको छ । मुलुकमा मन्दी झनै छाइरहेको छ । सबैतिर मन्दी छाएको छ । अब यो मन्दीले कति व्यापारी तथा व्यवसायीको ज्यान लिने हो ? केही समयमै देखिनेछ ।

तर, सरकार जनता ठग्ने र बैंक, वित्तिय संस्था डुब्ने दलालहरुलाई कारबाही गर्दैन । राज्यका निकायहरु अनुगमन गर्छन् न कारबाही । जसका कारण सोझासाझा जनताहरु ठगीको सिकार बनि ज्यान गुमाइरहेका छन् । बुढापाकाले भन्थे, ‘चोक्टा खान गएकी बुढी, झोलमै डुबेर मरी ।’ छिट्टै धनी हुने लोभमा दलालहरुको जालमा फस्दा मानिसहरुले पैसा त गुमाए नै सँगै उमेर र ज्यानैसमेत गुमाइरहेका छन् । त्यसैले, सतर्क हौं ।

civil hospital
Hams Hospitals