निजानन्द अनुभूति र आत्मशान्तिको मार्ग

234
shares

 

मानव जीवन  आत्माको गहिराइमा रहेको सत्य, शान्ति र आनन्दको खोज पनि हो। आजको तीव्र प्रतिस्पर्धा, भौतिक आकर्षण, मानसिक तनाव र असन्तोषले भरिएको समाजमा मानिस बाहिरी सफलताभित्र पनि आन्तरिक रिक्तता अनुभव गरिरहेको छ। यस्तो अवस्थामा निजानन्द अनुभूतिको दर्शनले मानिसलाई आफ्नो वास्तविक अस्तित्वतर्फ फर्किन प्रेरित गर्दछ।

निजानन्द अनुभूति भन्नाले आत्माभित्र निहित दिव्य आनन्द, आत्मचेतना र आध्यात्मिक शान्तिको अनुभूति हो। यो कुनै बाहिरी वस्तु, पद, शक्ति वा सम्पत्तिबाट प्राप्त हुने सुख होइन बरु आत्मज्ञान, सत्कर्म, प्रेम, करुणा र सत्यको अभ्यासबाट प्राप्त हुने स्थायी आनन्द हो। जब मानिस आफ्नो अन्तर्मनलाई चिन्छ, तब उसले बाहिरी द्वन्द्वभन्दा माथि उठेर जीवनको वास्तविक अर्थ बुझ्न थाल्छ।

यस सन्दर्भमा निजानन्द अनुभूति र आत्मशान्तिको मार्गसम्बन्धी चिन्तन आजको मानव सभ्यताका लागि अत्यन्त सान्दर्भिक विषय बनेको छ। यसले मानिसलाई बाहिरी अशान्तिबाट भित्री उज्यालोतर्फ डोर्‍याउँदै जीवनलाई अर्थपूर्ण, सन्तुलित र आध्यात्मिक बनाउने प्रेरणा प्रदान गर्दछ।

श्री प्राणनाथजीको श्रीमुखबाट उद्गारित “तारतम वाणी” आत्मज्ञान र ब्रह्मानुभूतिको सजीव संवाद हो। यस वाणीमा ‘क्षर पुरुष’, ‘अक्षर पुरुष’ र ‘पुरुषोत्तम’ को त्रैतीय तात्त्विक अवतरणद्वारा आत्मा–परमात्मा सम्बन्धको गूढतम व्याख्या गरिएको छ। यस दर्शनले आत्मालाई सच्चिदानन्द ब्रह्मको अंशस्वरूप देख्ने दृष्टिकोणले, मानवीय चेतनालाई सीमित संकीर्णताबाट मुक्त गराएर सार्वभौम आत्मसमरसताको अनुभूति गराउँछ। यिनै आधारहरूमा, निजानन्द दर्शनले वेद, उपनिषद्, कुरान, बाइबल र अन्य धर्मदर्शनहरूलाई भाषागत भिन्नता हुँदाहुँदै भावगत ऐक्यमा बाँधेर ‘सोई खुदा सोई ब्रह्म’ को घोषद्वारा सम्पूर्ण मानवतासँग संवाद गराउँछ।

धनी श्री देवचन्द्रजी महाराजको ३५ वर्षको आत्मसाधना, अन्तर्ज्ञान र अखण्ड तपस्याबाट प्राप्त तारतम बीज महामन्त्र,  आत्मिक परिवर्तनको वैज्ञानिक प्रक्रिया हो। जब श्री प्राणनाथजीले उक्त मन्त्रलाई शब्दरूपी ब्रह्म बनाइ संसारमा प्रकट गर्नुभयो, तब निजानन्द दर्शनले सम्पूर्ण मानवजातिको मोक्षदायी मार्ग बन्यो। यही कारण, तारतम सागरका चौपाइहरूले तात्त्विक, वैज्ञानिक र तत्वानुभूतिक भाषालाई समाहित गरेर ‘रस–बोध’ र ‘ब्रह्म–बोध’ को अनुपम समन्वय साकार बनाउँछन्।

आज आधुनिकता र भौतिकताको बाढीले मानवता गलाउँदै लगेको छ, निजानन्द दर्शनले समतामूलक सामाजिक संरचना, अहिंसात्मक जीवनशैली र प्रेममा आधारित अन्तरसम्बन्धद्वारा समाजलाई पुनः जीवन्त बनाउने मूलमन्त्र दिन्छ। यसले धर्मलाई संकीर्ण संस्कार वा जातीय सीमामा बाँध्ने प्रयास होइन, आत्म–सर्वात्म भावमा बाँच्ने मार्गदर्शन दिन्छ। अष्टप्रहर सेवा, शाकाहार, ब्रह्मचर्य, सहिष्णुता र व्यवहारिक भक्ति निजानन्द दर्शनका कार्यगत यमहरू हुन्, जसले सामाजिक अनुशासन, नैतिक चेतना र आध्यात्मिक अनुशासनको सुदृढ जग बसाल्दछन्।

निजानन्द दर्शन एक आध्यात्मिक क्रान्ति हो, जसको केन्द्रविन्दु “प्रेम नै ब्रह्म हो” भन्ने शाश्वत सत्यमा आधारित छ। जात, सम्प्रदाय वा भूगोलको सीमा नमान्ने यो दर्शन आजको विषमता, द्वन्द्व र वैमनस्यले भरिएको समाजलाई समरसता, सौहार्द र सार्वभौम एकताको उच्च आदर्शतर्फ उन्मुख गराउने सार्वकालिक शक्ति हो। जसले आत्मा र समाजलाई परमधामको शाश्वत प्रकाशमा स्नात गराउने दिव्य सामर्थ्य राख्दछ।

निजानन्द दर्शन जीवनको गहन आध्यात्मिक चेतना हो, जसले मानव अस्तित्वको अन्तर्निहित सारलाई उजागर गर्छ। यस दर्शनका अनुसार, प्रत्येक प्राणीमा समान आत्मिक मूल्य विद्यमान छ र यही समानताका आधारमा समाजलाई न्यायपूर्ण, करुणामय र समावेशी बनाउन सकिन्छ। वर्तमान विश्व जहाँ असमानता, सामाजिक द्वन्द्व, जातीय र धार्मिक विखण्डन गहिरो हुँदै गइरहेको छ, त्यहाँ निजानन्द दर्शनले चेतनाको स्तरमै परिवर्तन आवश्यक रहेको स्पष्ट देखाउँछ।

यस दर्शनमा “सब प्राणी एक समान” भन्ने मूल मन्त्रले कृत्रिम सीमाहरू जाति, धर्म, भाषा, वर्ग भत्काइदिन्छ र सबैलाई सार्वभौमिक चेतनाको दृष्टिले समान अधिकार र सम्मानको अनुभूति गराउँछ।  निजानन्द दर्शनले व्यक्तिको आत्म-साक्षात्कार र समाजको समावेशिता दुवैलाई एकीकृत गर्दै मानवताको वास्तविक महत्त्व र उच्चतम मूल्यको उद्घाटन गर्दछ।

निजानन्द दर्शनमा ब्रह्म आत्म एकत्वको अवधारणाले व्यक्ति र समाजबीचको भेद हटाएर आत्मीयताको नयाँ संरचना निर्माण गर्दछ। यसले शक्ति, पद वा सम्पत्तिको आधारमा नभएर प्रेम, सेवा र त्यागको मूल्यमा आधारित सामाजिक सम्बन्धहरू निर्माण गर्न प्रेरणा दिन्छ। परब्रह्मको स्वरूपमा सच्चिदानन्दको अनुभूति गराउँदै निजानन्द दर्शनले मानिसलाई भौतिक मोहको जालबाट मुक्त गरी दिव्यता र शान्तिको मार्गतर्फ उन्मुख गराउँछ। आजको प्रतिस्पर्धात्मक र आत्मकेन्द्रित विश्वमा यस्तो चेतनाले समग्र समाजलाई आत्मसाक्षात्कार र पारस्परिक सद्भावतर्फ उन्मुख गराउने सम्भावना बोकेको छ।

‘प्रेम ब्रह्म दौँ एक हैं’ भन्ने भावले धर्महरूको व्याख्यात्मक द्वन्द्वलाई पन्छाउँदै आत्मिक एकताको घोषण गर्दछ। आज जब सामाजिक मूल्यहरू विघटन हुँदैछन्, आत्मसमर्पण, शुद्ध आचरण र सहिष्णुतामा आधारित यस्तो दर्शनले मानवता पुनः जागृत गराउने क्षमता राख्दछ।

निजानन्द दर्शन आध्यात्मिक प्रणाली मात्रै होइन, यो मानव जीवनलाई शान्ति र प्रेमको शाश्वत सूत्रमा बाँध्ने पुनर्जागरणको मन्त्र हो। यो चेतनाको महान आन्दोलन हो जहाँ आत्मा, समाज र समष्टिको समभावपूर्ण सम्बन्ध पुनः परिभाषित हुन्छ। वर्तमान युग जहाँ आध्यात्मिक शून्यता, सामाजिक विघटन र सांस्कृतिक मूल्यहरूको ह्रास तीव्र गतिमा भइरहेको छ, त्यहाँ निजानन्द दर्शन एक दिव्य प्रतिपादन हो, जसले आत्म-प्रबोधनद्वारा समष्टिगत रूपान्तरणको सशक्त सूत्र प्रदान गर्दछ।

निजानन्द दर्शनले चेतनाको सार्वभौमिकता र आत्म-साक्षात्कारको महत्त्वलाई जोड दिन्छ। जब व्यक्तिले आफ्नो आत्मा र जीवनको मूल सत्यसँग सम्बन्ध बोध गर्छ, तब उसले बाह्य संसारसँग पनि समानुभूति र सहिष्णुतापूर्वक व्यवहार गर्न सिक्छ। यस्तो चेतनाले समाजमा असमानता र विभाजनलाई घटाउने मात्र होइन, द्वन्द्व र विवादको जरा नै हटाउने सामर्थ्य राख्छ। प्रत्येक व्यक्तिको भित्री शुद्धता र दिव्यता समाजमा सह-अस्तित्व, सहयोग, र परोपकारको आधार तयार पार्छ।

मानव चेतनाको शुद्धिकरण, आत्म-ज्ञान, र परस्पर सम्मानमा आधारित नीति र अभ्यासहरूले समाजलाई निरन्तर प्रगतिशील र समावेशी बनाउँछन्। यो मानव चेतनाको उच्चतम आयाममा आधारित आध्यात्मिक, दार्शनिक र सांस्कृतिक संरचना हो, जसले सबै व्यक्तिलाई समानता, सहिष्णुता र परोपकारको प्रकाशमा एकीकृत गर्दै मानवताका वास्तविक मूल्यहरूको अनुभूति गराउँछ।

व्यक्तिको बाह्य पहिचानभन्दा आत्मिक गुणलाई उच्च स्थान दिने यसले मानव जीवनलाई अखण्ड मुक्ति प्राप्तिको दुर्लभ अवसर मानेर, प्रेम, अहिंसा, करुणा र सत्यमा आधारित आचरणमार्फत समाज सुधारको मार्ग प्रस्ताव गर्छ। समाजमा व्याप्त छुवाछुत, जातीय अहंकार र धार्मिक कट्टरता जस्ता कुरूप प्रवृत्तिहरूको शमन गर्न निजानन्द दर्शनले प्रेमलाई परब्रह्मको प्रतिमूर्तिको रूपमा चित्रण गर्छ, जुन एक यस्तो शक्तिशाली साधन हो जसले सहिष्णुता, समरसता र समवेदना उत्पन्न गर्छ।

यस दशर्नले आत्म–विकास र समाज–निर्माणलाई एकै सूत्रमा आबद्ध गर्दै धार्मिक अभ्यासलाई व्यक्तिगत साधना र सामाजिक उत्तरदायित्वबीचको समन्वयमा रूपान्तरित गरेको छ। जाति, वर्ण, वर्ग, लिंग, भाषा वा भौगोलिक विभाजनका कृत्रिम पर्खालहरू यस दर्शनको दृष्टिमा अर्थहीन छन्, किनकि निजानन्दको दृष्टिकोण ‘निज’ अर्थात् आत्माको स्रोतबाट सुरु भएर समष्टिगत एकता अर्थात् ब्रह्मसम्म पुग्दछ जहाँ सबै अस्तित्व समान चेतनाको अभिव्यक्ति हुन्। गुरु, महाराज वा भक्त सबैलाई आत्मा–परमात्म सन्दर्भमा समान रुपमा दृष्टिगत गर्ने परम्पराले व्यवस्थागत विकेन्द्रीकरणलाई बल प्रदान गर्छ र समतामूलक सामाजिक संरचनालाई सुदृढ बनाउँछ।

यम–नियममा आधारित आचारसंहिता अहिंसा, शौच, ब्रह्मचर्य, स्वाध्याय र ईश्वर–प्रणिधान—निजानन्द दर्शनका व्यवहारिक स्तम्भहरू हुन्। व्यावहारिक जीवनमा लागू गर्न सकिने उच्चतम नैतिक मूल्यमान्यताहरू जसले व्यक्तिलाई आत्म–संयम, चेतन अनुशासन र दैनन्दिन जीवनमा सेवा भावना र सामाजिक सौहार्दका बाटोमा डोऱ्याउँछन् जसले सामाजिक संरचनालाई सुदृढ बनाउँछ।यी मूल्यहरू आत्मिक स्तरमा स्थिरता ल्याउँछ भने सामाजिक स्तरमा सदाचार, अनुशासन र सहिष्णुताको संस्कार सृजना गर्दछन्। यस्ता नियम–आधारित जीवनशैलीले व्यक्तिको चरित्रलाई मात्र निर्मल बनाउँदैन, उसलाई समाज–सेवामा प्रेरित गराउने आदर्श नागरिक बनाउँछ, जसले दीर्घकालीन सामाजिक समृद्धिको जग बसाल्दछ। निजानन्द दर्शनको अभ्यासद्वारा उत्पन्न भएको आन्तरिक प्रेम, सच्चरित्रता र सहजीवनको भावना समाजका हरेक तहमा मौलाउँछ, जसले मानव सभ्यतालाई दया, धैर्य र दिव्यतासँग सुसज्जित बनाउँछ। यसरी, निजानन्द दर्शनले आत्म–प्रबोधन, नैतिक पुनर्जागरण र आध्यात्मिक शुद्धिको समवेत यात्राद्वारा समुन्नत, समतामूलक र शान्तिपूर्ण मानव समाजको दिव्य रचना सम्भव बनाउँछTop of FormBottom

 (उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)

 

 

 

civil hospital
Hams Hospitals