सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

327
shares

 

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि आफ्नो नीति तथा कार्यक्रमका प्राथमिकताहरू सार्वजनिक गर्दै पुँजी बजारमा व्यापक सुधारको योजना अघि सारेको छ ।

बोर्डले सार्वजनिक गरेको प्रेस नोटअनुसार आगामी वर्ष लगानीकर्ताको सुरक्षा, बजारको आधुनिकीकरण र कारोबार लागतमा कमी ल्याउने विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

विशेषगरी सामाजिक सञ्जालमार्फत प्रवाह हुने अनधिकृत लगानी परामर्श, ‘फिनइन्फ्लुएन्सर्स’का गतिविधि र भ्रामक प्रचारप्रसारबाट हुन सक्ने वित्तीय ठगी नियन्त्रण गर्न बोर्डले प्रभावकारी नियामक निगरानी बढाउने भएको छ । धितोपत्र सम्बन्धी कसुरको प्रारम्भिक जाँचबुझमा अन्तर–निकाय समन्वयलाई थप सुदृढ बनाउँदै लगानीकर्ताको हित संरक्षण गर्ने बोर्डको लक्ष्य छ ।

बजारलाई थप व्यवस्थित बनाउन बोर्डले सार्वजनिक निष्कासन (आईपीओ) पूर्व कम्पनीहरूको वित्तीय र व्यवस्थापकीय पक्षको गहन अध्ययन गर्ने र ‘मार्जिन कारोबार’ लाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन नेपाल राष्ट्र बैंक र नेपाल स्टक एक्सचेन्जसँग आवश्यक समन्वय गर्ने जनाएको छ ।

लगानीकर्ताहरूको प्रमुख चासोको विषय रहेको कारोबार लागत घटाउन प्राथमिक तथा दोस्रो बजारको शुल्कमा पुनरावलोकन गरिने प्रतिबद्धता समेत बोर्डले जनाएको छ । यसका साथै, नेप्से सूचकाङ्कलाई थप वैज्ञानिक बनाउन कारोबारयोग्य सेयरका आधारमा नयाँ ‘बेन्चमार्क सूचकाङ्क’ विकास गर्ने योजना अघि सारिएको छ ।

धितोपत्र बोर्डले सामूहिक लगानी कोषको ‘लक–इन’ अवधि र बाँडफाँट सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरी बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गर्ने नीति लिएको छ । साथै, सामाजिक सञ्जाल प्रयोग गरी संगठित संस्थाहरूले गर्ने पुँजी संकलनलाई नियमनको दायरामा ल्याइनेछ ।

पुँजी बजारलाई विश्वसनीय, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाउन बोर्डले आगामी दशकका लागि ’पुँजी बजार विकास मार्गचित्र’ समेत तयार पारेको छ । यी सुधारात्मक कदमहरूले राष्ट्रिय बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्दै देशको आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुरÞ्याउने विश्वास प्रवक्ता निरञ्जय घिमिरेद्वारा जारी विज्ञप्तिमा व्यक्त गरिएको छ ।

civil hospital
Hams Hospitals